काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जोडिएको बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा बहस जारी छ।
अहिले प्रतिवादी रवि लामिछानेका तर्फबाट बहस जारी छ । गत बुधबारबाट सुरु भएको बहसमा आइतबार लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरिरहेका छन् ।
बहसका क्रममा श्रेष्ठले जबरजस्ती पुरक अभियोगपत्र तयार पारिएको भन्दै अनुसन्धानको कार्यविधिमाथि प्रश्न उठाएका छन् ।

उनले वादी पक्षले दाबी गरेका आरोपहरु पुष्टि हुने प्रमाणहरू मुद्दाको साथमा पेश नभएको भन्दै श्रेष्ठले कतिपय सिद्धान्त उल्लेख गरेर मात्रै त्यसको पुष्टि नहुने जिकिर गरे ।उनले सरकारले रविविरुद्धका सबै आरोप खोजेर थुपार्न खोजेको आरोप लगाए । उनले कसको निर्देशनबाट अभियोगपत्र कसको निर्देशनमा दायर भएको हो भन्दै प्रश्न गरे ।
न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बहस भइरहेको हो । थुनछेक बहस सकिएपछि जाहेरवाला र प्रतिवादीतर्फका वकिलहरूले जवाफी बहस गर्नेछन् । बहस सकिएपछि इजलासले आदेश जारी गर्नेछ । आदेशले पुर्पक्षका लागि थुनामा पठाउने वा बाहिर बसेरै मुद्दा लड्ने आदेश गर्ने छ ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा लामिछानेसमेतलाई प्रतिवादी बनाउँदै अदालतमा मुद्दा दर्ता भएपछि गत बुधबार लामिछाने अदालतमा उपस्थित भएका थिए । बुधबार अदालतको उनको बयान भएको थियो ।
दुवै पक्ष बहस सकिएपछि आजै इजलासले पुर्पक्षाका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने आदेश जारी गर्नेछ।