निर्वाचन अघि संविधान संसोधन हुँदैन: नेपाल

Posted on: 23 Jul, 2017


साउन ८, रामेछाप । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रदेश र केन्द्रको चुनावपछि मात्रै संविधान संसोधनको कुरा गर्न सकिने बताएका छन् ।  

पुष्पलाल श्रेष्ठको ३९ औ स्मृतिका अवसरमा प्रेस चौतारी रामेछापले रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको पुष्पलालको जन्मगाउँ भंगेरीमा आईतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपालले अहिले निर्वाचन सम्पन्न गर्ने समय भएकाले यो समयमा संविधान संसोधनकाे कार्य अगाडि बढाउन नसकिने धारणा राखे ।

पुर्व प्रधानमन्त्री समेत रहेका बरिष्ठ नेता नेपालले संविधान संसोधन जनताको माग नभै मधेसका केहि राजनितिक दलको मात्रै माग भएको आरोप लगाए । संविधान संसोधन हुने दस्ताबेज भएपनि त्यसको पनि उपयुक्त समय आउने उनको भनाई छ । मधेसका केही दलहरु चुनावसंग डराएको उनले आरोप लगाए ।  

नेता नेपालले अबको प्रदेश र संघको निर्वाचनमा एमालेले बहुमतको शक्ति बनेर स्थायी सरकार चलाउने दाबि गरे । एमालेको सहि नीति विचार र कार्यक्रमका कारण जनताले मत दिएर ठुलो पार्टी बनाएको उनको भनाई छ ।

यसैबिच नेता माधव कुमार नेपालीको गाडिको शिसा फुटाएको आरोपमा नेपाली काँग्रेसका २ कार्यकर्तालाई अनुसन्धान गर्न प्रहरीले नियन्त्रणमा लिएपछि काँग्रेसले त्यसको बिरोध गरेको छ ।

नेपाली काँग्रेस रामेछाप नगर समन्वय समितिले बिना प्रमाण आफ्ना दुई जना कार्यकर्ता सागर कुमार श्रेष्ठ र मनोज श्रेष्ठलाई प्रहरीले समातेको भन्दै प्रेस विज्ञप्ती मार्फत आपक्ति जनाएको हो ।

बरिष्ठ नेता नेपालको बा ५ च २७५० नम्बरको गाडि पार्किङमा राखेको ठाउँमा शनिबार राति ८ बजे एक्कासी पछाडीको सिसा फुटेपछी रामेछाप बजारमा त्यसैको बिषयमा आइतबार बिहान तनाव समेत उत्पन्न भएको थियो । 

यसका बारेमा प्रहरीले भने अनुसन्धान भैरहेको जनाएको छ । काँग्रेसले भने जुन पार्टीको नेता आउदा पनि सबैले स्वागत सत्कार गर्ने रामेछाप बजारमा एमालेले बिना कारण आरोप लगाई अशान्त रामेछाप बजार बनाउने काम गरेको आरोप लगाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!