भदौ ८, नयाँदिल्ली । भारतको पाँचदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल भारतको छिमेकी मात्र नभएर एक असल मित्र पनि भएको स्पष्ट गर्न"/>
भदौ ८, नयाँदिल्ली । भारतको पाँचदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल भारतको छिमेकी मात्र नभएर एक असल मित्र पनि भएको स्पष्ट गर्न"/>
भदौ ८, नयाँदिल्ली । भारतको पाँचदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल भारतको छिमेकी मात्र नभएर एक असल मित्र पनि भएको स्पष्ट गर्नुभयो । उहाँले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आज नयाँ दिल्लीको हैदरावाद भवनमा संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुभएको हो ।
भारत भ्रमणका क्रममा आजै दुई देशका प्रधानमन्त्रीबीचको औपचारिक द्विपक्षीय भेटवार्तापछि सहमति र सम्झौतालगत्तै भएको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “खुला सिमानाका साथै अरु कैयौँ कारणले पनि नेपाल र भारतबीच महत्वपूर्ण र ऐतिहासिक सम्बन्ध रहिआएको छ । नेपालको आर्थिक समाजिक विकासका साथै नेपाल र नेपालीप्रति भारतले सधैंँ देखाउँदै आएको ऐक्यबद्धता, सद्भाव र सहयोगप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि दुई देश र जनस्तरमा पनि यस्तै सौहार्द सम्बन्धको अपेक्षा नेपालले गरेको छ ।”
प्रधानमन्त्री देउवाले नेपालको विकासमा प्रयासमा भारतको सौहार्दता र सहयोग अत्यन्त महत्वपूर्ण छ भन्दै विद्युतीय टान्समिसन लाइन, पञ्चेश्वर आयोजनाको सम्पन्नता एवम् नेपालमा सञ्चालनमा रहेका भारतीय सहयोगका आयोजनालाई समयमै सम्पन्न गर्न भारतीय पक्षबाट र विशेषगरी प्रधानमन्त्री मोदीबाट व्यक्त चासोप्रति विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।
दुई देशबीचको सहयोग र सम्झौताको क्षेत्रलाई दुवै देशको तहमा थप लाभदायक बनाउन संयुक्त रुपमै भेटघाट र वार्ताजस्ता कुरालाई निरन्तर गर्ने र थप गति दिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । उहाँले नेपालले नयाँ संविधानको कार्यान्वयनसँगै अब नेपाल राजनीतिक स्थायित्व प्राप्त गरी आर्थिक विकासको चरणमा प्रवेश गरेकाले नेपालमा जलस्रोत, पर्यटनलगायत कैयौँ क्षेत्रमा वैदेशिक लगानीका लागि नेपाल सरकारले आग्रह गरिरहेको र त्यसतर्फ विदेशी समुदायको आकर्षणका लागि पनि पहल गरिएको बताउनुभयो ।
उहाँले भारतसँग नेपालको खुला सिमाना रहेको र यो सिमानाको फाइदा उठाएर अरु कुनै पनि तत्वले नेपाल वा भारतलाई हानि गर्ने खालका कुनै क्रियाकलाप नगरुन् भनेर नेपाल सचेत रहेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले समृद्धि र आर्थिक विकासका क्षेत्रमा सफलताको उदाहरण भारतबाट नेपालले पनि सिकेर र उसको समृद्धिबाट फाइदा लिएर अघि बढ्न चाहेको उल्लेख गर्नुभयो । उहाँले आजै केही क्षणअघि भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ताका क्रममा पञ्चेश्वर आयोजनाको सम्पन्नताका लागि नेपालसँग विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) माग गर्नुभएको र त्यसलाई नेपालले जति सक्दो चाँडै सकेर पठाइने पनि जानकारी दिनुभयो ।
प्रधानमन्त्री देउवाले नेपालले नयाँ संविधानको निर्माण र यसको कार्यान्वयनसँगै नयाँ राजनीतिक अध्यायमा नेपाल प्रवेश गरेको भन्दै वर्तमान संविधानमा कतिपय विषयप्रति असन्तुष्टि राखिरहेकाले उनीहरूलाई पनि सम्बोधन गरी सबैको साझा धारणा र साझा राजनीतिक सहमतिका साथ अघि बढ्ने बताउनुभयो ।
ती माग सम्बोधनका लागि हालै मात्र पनि नेपालको संसद्मा संविधान संशोधनको प्रस्ताव लगिएको र संसदीय प्रक्रियामा प्रवेश गरेको त्यो मुद्दाले पूर्णता नपाएको स्मरण गर्दै संविधानप्रति असहमति राखेका नागरिकको मागलाई सम्बोधन गर्ने गरी भविष्यमा पनि संविधान संशोधनको प्रक्रियालाई निरन्तरता दिइने स्पष्ट गर्नुभयो ।
प्रधानमन्त्री देउवाले ती असहमतिका बुँदामा सहमति कायम गर्ने गरी सबैलाई आगामी निर्वाचनमा ल्याइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले भारतले भूकम्पपछिको पुनःनिर्माणका लागि देखाएको सदाशयता र सहयोगको सराहना गर्दै भारतद्वारा प्रदान गरिएको यस सहयोगको पूर्णरुपमा सदुपयोग गरिने बताउनुभयो ।
सोही पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालको बृहत्तर विकासका लागि सहयोग गर्न भारत सँधै तत्पर रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, भारत सँधै समृद्ध र शान्त नेपालको पक्षमा छ र यस्तो नेपाल देख्नका लागि सहयोग र साझेदरी बढाउन भारत सधैँ तयार छ । प्रधानमन्त्री मोदीले सुरुमै नेपाली भाषामा छोटो सम्बोधन गर्दै प्रधानमन्त्री देउवा र नेपाली प्रतिनिधिमण्डललाई स्वागत पनि गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालका प्रधानमन्त्री मान्यवर शेरबहादुर देउवा र तपार्इँको भ्रमणमा रहनुभएका सबै जनालाई भारतमा स्वागत गर्न पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ ।” उहाँले प्रजातन्त्रको अभियान र त्यसको कार्यान्वयनका माध्यमबाट नेपाल शान्ति र समृद्धिको मार्गमा अघि बढ्न सकोस् भनी कामना गर्दै संविधानको सफलताका साथ कार्यान्वयन गरी हालै मात्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सकेकामा नेपाललाई उहाँले विशेष बधाई दिनुभयो ।
भारत र नेपालको सम्बन्ध सामान्य नभएर विशिष्ट खालको रहेको बताउँदै उहाँले दुवै मुलुक असल छिमेकी मात्र नभएर असल मित्र पनि रहेको र एकार्काको खुसी र पीडामा पनि अनुभूति हुने खालको सम्बन्ध यी दुई देशको रहेको बताउनुभयो । नेपालमा गएको भूकम्पले पु¥याएको क्षतिको पुनःनिर्माणको काम भारत र नेपालले एकसाथ मिलेर गरिरहेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री मोदीले दुःखको बेलामा गरिएको सहकार्यले असल सम्बन्ध र छिमेकीको उदाहरण प्रस्तुत गरेको बताउनुभयो ।
भारतले आफ्नो स्वतन्त्रताको ७० औँ वर्षगाँठ मनाइरहेको यस महत्वपूर्ण क्षणमा नेपालका प्रधानमन्त्रीको भ्रमण धेरै महत्वपूर्ण रहेको टिप्पणी उहाँले गर्नुभयो । उहाँले भारतीय सहयोगमा नेपालमा जारी रहेका आयोजनाको सफल कार्यान्वयन तथा समयमै सम्पन्न गर्न प्रधानमन्त्री देउवाले व्यक्त गर्नुभएको प्रतिबद्धताका लागि विशेष धन्यवाद दिनुभयो ।
अरुण तेस्रो जलविद्युत् आयोजनामा जमीनको प्राप्तिमा देखिएको समस्या हल भइसकेको जानकारी गराउँदै आयोजनाको शिलान्यासका लागि आफूलाई नेपाल आउन प्रधानमन्त्री देउवाले गर्नुभएको निमन्त्रणाले आफूलाई निकै खुसी लागेको उहाँले बताउनुभयो ।
त्यस्तै भारत सरकारका तर्फबाट माग भइआएको पञ्चेश्वर आयोजनाको डिपिआर चाँडै नेपालले भारतलाई पठाउने जानकारी प्रधानमन्त्री देउवाले दिएको प्रति पनि उहाँले खुसी व्यक्त गर्नुभयो । नयाँ संविधान र त्यसमार्फत स्थानीय निकायको निर्वाचन गरी लोकतान्त्रिक अभियानमा व्यक्तिगत रुपमा प्रधानमन्त्री देउवा र नेपाली जनताले गरेको संघर्षको प्रधानमन्त्री मोदीले प्रशंसा गर्नुभयो ।
यसअघि आजै उहाँहरूबीच हैदरावाद भवनमा द्विपक्षीय भेटवार्ता भएको थियो । भेटका क्रममा उपप्रधानमन्त्री कृष्णबहादुर महरा पनि उपस्थित हुनुहुन्थ्यो । सो भेटमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज पनि रहनुभएको थियो । सोही द्विपक्षीय वार्तामा भएको सहमतिबमोजिम आठ समझदारीपत्रमा हस्ताक्षर भएको थियो । रासस