२०८२, २८ माघ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठूला दलले प्रतिपक्षलाई पनि विश्वासमा लिएर काम गर्नुपर्छः विक्रम पाण्डे

२०८२, २९ जेष्ठ बुधबार ११:३४

काठमाडौँ । चितवन निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे सार्वजनिक लेखा समिति सदस्य हुनुहुन्छ । सांसद पाण्डे यसअघि २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन चितवन–५ बाट विजयी हुनुभएको थियो ।

सांसद पाण्डेसँग राससका समाचारदाता सुशील दर्नालले संसदीय अभ्यास, संविधान कार्यान्वयन र संशोधन, सङ्घीय संरचना, युवा पलायन, देशको आर्थिक विकास र सुशासनलगायत समसामयिक विषयमा लिनुभएको अन्तर्वार्ताको सम्पादित अंशः

प्रतिनिधिसभाको अहिलेसम्मको अनुभव कस्तो रह्यो ?

प्रतिनिधिसभाको गतिविधि मलाई चित्त बुझिरहेको छैन । सङ्घीय सदनका लागि राज्यको ठूलो लगानी भएको छ । तर, त्यसबाट जनताले कुनै प्रतिफल पाएका छैनन् । कुनै एउटा पार्टीले सदनमा एउटा मुद्दा उठायो भने महिनौँसम्म सदन अवरुद्ध हुन्छ । संसद्मा सदस्यले बोलेका जनताका कुनै पनि सवाल कार्यान्वयन भएको अहिलेसम्म सुनिएको छैन । त्यसकारण पनि संसद्मा कम बोल्नै मै पर्छु । किनभने कार्यान्वयन नै हुँदैन भने बोलेरमात्र अर्थ छैन ।

संविधान कार्यान्वयनको अवस्थालाई कसरी विश्लेषण गर्नुभएको छ ?

एउटै प्रकृतिको घटनामा एउटा मन्त्री जेल जानुपर्ने अर्को मन्त्री जानु नपर्ने ? यस्तै प्रकृतिका अन्य धेरै घटना छन् । यी घटना हेर्दा देशको संविधान, ऐन÷कानुन कार्यान्वयन भएको भन्ने कि नभएको भन्ने । जनताको पक्षमा ऐन, कानुन निर्माण भएजस्तो पनि लाग्दैन । राजनीतिक दलको आवश्यकताका आधारमा कानुन निर्माण भइरहेको जस्तो लागेको छ ।

संविधान संशोधनको विषयमा तपाईँको धारणा के छ ?

संविधान संशोधन कुनै एउटा विषयमा गरेर हुँदैन । धेरै विषयमा गर्नुपर्ने छ । सङ्घीयता महँगो भो । सङ्घ र स्थानीय सरकारले सही ढङ्गबाट काम गर्यो भने हुन्छ । प्रदेश सरकारको बारेमा विचार गरेर अगाडि बढ्नुपर्छ । मेरो विचारमा, आर्थिक, सामाजिक र भौगोलिकलगायत कुनै पनि दृष्टिकोणबाट देशले प्रदेश सरकारको बोझ बोक्न सक्दैन । स्थानीय सरकारलाई अझै बलियो बनाउनुपर्छ । सङ्घीय सरकारले पनि राष्ट्र, राष्ट्रियता, सुशासन र जनताको पक्षमा काम गर्नुपर्छ । राज्यका संरचना धेरै हुँदैमा सबैले काम गरेका हुन्छन् भन्ने होइन । राज्यको राजनीतिक संरचना सानो र छरितो बनाउँदा पनि धेरै काम गर्न सकिन्छ ।

युवा पलायनबारे के भन्नुहुन्छ ?

देशभित्रै युवालाई काम गर्ने वातावरण छैन । उच्च तहका व्यापारीले देशमा जे गर्दा पनि हुन्छ, तर मध्यम किसिमका वा सानासाना उद्यम गर्नेहरूका निम्ति धेरै कानुनी झन्झट छन् । राजनीतिक समस्या पनि धेरै छ । कुनै एउटा युवाले सानो उद्योग गरेर बसेको हुन्छ, तर उसले त्यही सानो उद्योग सञ्चालन गरेबापत राजनीतिक दललाई पाल्नुपर्ने अवस्था छ । अर्को कुरा, साना उद्यम गर्ने व्यक्तिका निम्ति कर झन्झटिलो छ । यी विभिन्न कारणले गर्दा देशका सबैजसो उद्योगधन्दा बन्द भएका छन् । कतिपय बन्द हुने अवस्थामा छन् । काठमाडौँलगायत देशका विभिन्न जिल्लामा ४० प्रतिशतभन्दा बढी सटर बन्द छन् । सरकारले घुमाइफिराइ ट्याक्स (कर) मात्र उठाउने काम गरेको छ । एउटा उपभोक्ताले एउटा सामान खरिद गर्दा १० किसिमका ट्याक्स तिर्नुपर्छ ।

नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्रलगायत दलहरूलाई के भन्न चाहनुहुन्छ ?

ठूला दलले अब देशका लागि काम गर्नुपर्छ । हिजोका दिनमा पार्टी वा कार्यकर्ताका लागि काम गर्नुभएको होला, तर अब एकपटक देश र जनताका निमित्त काम गर्छु भनेर प्रतिबद्ध भएर काम गर्नुपर्छ । साठी–सत्तरी वर्ष उमेर पुगेका नेताहरूले अब बाँकी जीवन देशका लागि खर्च गर्छु भनेर लाग्न सकेको खण्डमा देश बन्न समय लाग्दैन । उहाँहरूले म राम्रो मान्छे थिएँ भनेर कामद्वारा प्रमाणित गर्नुपर्छ । त्यसपछि देशको विकास भयो र जनताले रोजगारी पाए भने विदेश गएका युवा पनि स्वदेश फर्केर काम गर्ने अवसर हुन्थ्यो । तर मलाई लाग्छ, उहाँहरू त्यो गर्ने पक्षमा हुनुहुन्न ।

देशको व्यवस्था र जनताको अवस्थालाई कसरी हेर्नुभएको छ ?

अमेरिका र जापानको जस्तो व्यवस्था हाम्रो देशमा लगाएर हुँदैन । हाम्रो धर्म, संस्कृति, जाति, वेशभूषा, नेपालीपन र भौगोलिक बनावटअनुसारको व्यवस्था हुनुपर्छ । राप्रपाले देशमा जनताको एउटा अभिभावकको कुरा उठाउँदै आएको छ । हामीले नेपाललाई एकीकरण गर्ने व्यक्तिलाई घृणाको देष्टिकोणले हेर्ने गरिन्छ । जुन देशको इतिहास, धर्म संस्कृति मेटिन्छ त्यो देशको विकास हुुन सक्दैन । अग्रगमनका नाममा देशलाई क्षति पुर्याउने काम भएको छ ।

देशको विकासका निम्ति के गर्नुपर्छ ?

अब हामी आन्तरिक झैझगडा छाडेर देश बनाउन लाग्नुपर्छ । विदेशिएका युवालाई देशमै फर्काउनुपर्छ । विश्वको सबैभन्दा सुन्दर देश नेपाललाई विकसित देशका रूपमा विकासको गति तीव्र बनाउनुपर्छ । हाम्रो देशलाई स्वीटजरल्याण्ड र सिङ्गापुरजस्तो होइन, नेपाल–नेपालजस्तै हुनुपर्छ । तर विकास हुनुपर्छ । विश्वको फरक देश बनाउनुपर्छ । सबै कुरामा सम्पन्न बनाउनुपर्छ । विकासका सवालमा हामीले अरु देशको होइन, हाम्रो देशको नक्कल अरुले गर्ने बनाउनुपर्छ ।

देशलाई कसरी आर्थिक रूपमा आत्मनिर्भर बनाउन सकिन्छ ?

हामीसँग अथाह प्राकृतिक स्रोतसाधन छ । त्यसलाई राष्ट्र र जनताका निम्ति प्रयोग गर्नुपर्छ । अरवियन देशहरू तेल बेचेर धनी भएको हो भनिन्छ । तर धनी हुनका लागि हामीसँग त्योभन्दा बढी स्रोतसाधन छ । तर, त्यसको सही सदुपयोग हुनसकेको छैन । हामीले कृषिमा राम्रो गर्न सकियो भने हाम्रो उत्पादन डलरमा बिक्री हुन्छ । हाम्रो देशमा अग्र्यानिक खेती गर्न सकिन्छ । नेपालमा धेरै चिज पाइन्छ जुन अरु देशमा पाइँदैन । तर हामीले उत्पादन गर्न सक्ने वस्तु पनि अरु देशबाट आयात गरिरहेका छौँ । खेतबारी सबै बाँझो छ । गाउँमा कोही मर्यो भने मलामी छैनन् । हाम्रा युवाले अरुको देश बनाइदिएका छन् । तर, हाम्रो देशको अवस्था दयनीय छ ।

अपेक्षाअनुरुप देश विकास नहुनुको कारण के हो ?

नेपाल विकास हुन नसक्नुको मुख्य कारण भ्रष्टाचार हो । जुन दिन भ्रष्टाचारको अन्त्य हुन्छ, त्यस दिनदेखि देशको विकासले गति लिन्छ भन्ने मेरो विश्वास छ । जुन पार्टीको सरकार भए पनि आवश्यकताका आधारमा योजना बनाएर काम गर्नुपर्यो । अर्को, अनावश्यक खर्च कटौती गर्नुपर्यो । अनावश्यक संरचना र व्यक्तिलाई हटाउनुपर्छ । मन्त्रीले कर्मचारीलाई काम लगाउन सक्नुपर्छ । मन्त्रीले यति दिनभित्रमा यो काम सम्पन्न गर भनेर लक्ष्य निर्धारण गरिदिनुपर्यो ।

सुशासन कायम के गर्न सकिन्छ ?

अहिले कांग्रेस र नेकपा (एमाले)को सरकार छ । सरकारले सबैभन्दा पहिला भ्रष्टाचार नै अन्त्य गर्नुपर्छ । भ्रष्टाचार शून्यमा ल्याउनुपर्छ । भ्रष्टाचार एक ठाउँमा मात्र रोकेर हुँदैन । वडा कार्यालयदेखि सङ्घीय मन्त्रालयमा भ्रष्टाचार शून्य हुनुपर्छ । सरकारले प्रतिपक्षलगायत सबै राजनीतिक दललाई साथमा लिएर काम गर्न सक्नुपर्छ ।

चुनावमा जनतालाई दिएका आश्वासन कति पूरा गर्नुभयो ?

निर्वाचनको समयमा मैले जनतालाई अनावश्यक आश्वसन दिएको छैन । किनभने चुनावमा गर्नै नसक्ने कुरा बोलेर सांसद भएपछि अवस्था धेरै नाजुक भएको पनि देखेको छु । आफूले राखेका प्रतिबद्धता पूरा गर्न नसक्दा जनताका अगाडि जान नसकेको पनि देखेको छु । मैले जनतालाई तपाईँको दुःखसुखमा साथ दिन्छु भनेको थिएँ, जुन दिइरहेको छु । मैले जनतालाई पूरा नहुने सपना देखाएको छैन र देखाउनु पनि हुँदैन । जनतालाई आश्वासन दिएर मात्र हुँदैन । देशको ढुकुटी पनि हेर्नुपर्छ । देश कसरी चलिरहेको छ, त्यो पनि बुझ्नुपर्छ ।

अन्त्यमा, आमजनतालाई के भन्न चाहनुहुन्छ ?

देश बनाउने कुरा सरकारले मात्र चाहेर हुँदैन । त्यसैले देश निर्माणमा लाग्न जनतासँग आग्रह गर्न चाहन्छु । देश बनाउन जसले जहाँबाट जे गर्न सक्छ, त्यही गर्ने हो । अर्को कुरा जनताले पनि कसैको पक्ष वा विपक्षमा काम गर्नेभन्दा पनि राष्ट्रका निम्ति काम गर्नुपर्छ । राम्रो नेतालाई मात्र भोट हाल्नुहोस् भन्नु चाहन्छु । तपाईँको भोट तपाईँ, तपाईँका सन्तान र देशका लागि हो । कुनै पार्टी, घरको मुलीको वा गाउँको मुखियाले भनेका आधारमा भोट हाल्ने होइन, जनता र राष्ट्रको पक्षमा जसले काम गरेको छ उसैलाई सोचविचार गरेर मात्र मतदान गर्नुहोस् ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने केपी शर्मा ओलीले गरे हुलाकी राजमार्गको अवलोकन नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घट्यो विभिन्न देश पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ, गाउँ, जिल्ला बनाउने हो: केपी शर्मा ओली राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोली र व्यापारीबीच झडप सिगासमा एक पुरुष मृत फेला यसपटकको फागुन २१ मिति होइन, इतिहास हो: रवि लामिछाने सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु