८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘शौचालय बनाइदिने ग्यारेन्टी गर्नुस्, भोट लिनुस्’

२९ भाद्र २०७४, बिहीबार ११:३७

भदौ २९, लहान । सिरहाको गोलबजार नगरपालिका–१० धोवियाझारस्थित मुसहर बस्तीमा भोट माग्न पुग्ने उम्मेदवारले त्यहाँको स्थानीय मतदाताबाट एउटै उत्तर पाउँछन् – शौचालय बनाइदिने ग्यारेन्टी गर्नुस्, भोट लिनुस् । 

आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि मत माग्दै मुसहर बस्ती पुग्ने उम्मेदवार स्थानीयवासी मतदाताको यो जवाफ सुनेपछि केही क्षण अक्कमक्कमा पर्ने गरेका छन् । 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिकाको चोहर्वाबाट पाँच किलोमिटर उत्तर घुर्मी खोलाको पूर्वी किनारमा रहेका ४० घरको सदाय (मुसहर) बस्ती शौचालयविहीन छ ।  पूरै बस्ती नै शौचालयविहीन हुँदा यहाँका सर्वसाधारण शौच गर्न बाँसघारी तथा नजिकैको नदीमा पुग्ने गरेका छन् । 

दैनिक मजदुरी र दाउरा बेचेर गुजारा चलाउँदै आएका यो बस्तीका मतदाता भन्छन्, “बस्तीमा सुरक्षित आवास र शौचालय बनाइदिने प्रतिबद्धता जनाउने उम्मेदवारलाई मात्र हामीले भोट दिन्छौँ ।”  अर्थाभावका कारण शौचालय बनाउन नसकेकी ४५ वर्षीया फूलकुमारी सदा शौचालय बनाउने वचन दिने उम्मेदवारलाई मात्र आफ्नो मत दिने सोचमा पुगेको बताउनुहुन्छ । 

सधैँभरि मजदुरी गरेर परिवार पाल्दै आउनुभएकी फुलकुमारी भन्नुहुन्छ, “नेताहरु भेट्न आउने भनेको चुनावकै बेला हो । अरुबेला उहाँहरुको अनुहारै देख्न पाइँदैन । यो चुनावमा राम्रो बास र शौचालयको व्यवस्था मिलाउने इमान्दार उम्मेदवारलाई भोट दिनेछु ।” 

पचास वर्षीय झौला सदाय पनि घर र शौचालय बनाइदिने उम्मेदवारलाई मात्र मत दिने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “वर्षौंदेखि हामीले भोट हालेर मन्त्री बनाएकै छौँ तर, जितेर गएपछि नेताहरु पुनः आफूहरुको समस्या बुझ्नै आउँदैनन् । त्यसैले यही बेला हो नेताहरुसँग केही कुरा माग्ने ।” 

“पछिल्लोपटक २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि मत दिएर जितायौँ, तर हाम्रो अवस्था भने जस्ताको तस्तै रह्यो,” उहाँ अगाडि थप्नुहुन्छ, “अब जसले हाम्रो बस्ने घर र शौचालय बनाइदिन्छ उसैलाई मत दिन्छौँ ।” 

करिब २० वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनमा मत हाल्न आतुर रहेका यहाँका मतदाता पहिला जोसुकैलाई मत दिए पनि यसपालिको चुनावमा उहाँहरुले उचित बास र शौचालय खोज्नुभएको छ । 

माटोको भित्ता र खरको छानोबाट बनेका स–साना झुुप्रा घर भएको उक्त बस्तीका मतदाता भन्छन्, “हामीलाई घाम पानी छेक्ने राम्रो घर र शौचालय चाहिएको छ । यसको ग्यारेन्टी गर्ने उम्मेदवारलाई भोट दिन्छौँ ।” 

बस्तीमा शौचालय नभएकाले स्थानीयवासी २५ वर्षीया तारादेवी सदा र ४० वर्षीया रामवत्ती सदाले नागरिकता पनि बनाउन नपाएको गाउँलेको भनाइ छ । घरमा शौचालय नभएकालाई गाउँपालिकाले नागरिकताका लागि सिफारिस नगर्ने नियम बसालेका कारण उहाँहरुले नागरिकता बनाउन नपाएको सुखरीदेवी सदाको कथन छ । 

“अर्थाभावकै कारण शौचालय बनाउन सकेको छैन,” रामवत्ती सदा भन्नुहुन्छ, “शौचालय बनाउन मन नभएर नबनाएको होइन । कमाइले खान लाउनै पुग्दैन, कसरी घर र शौचालय बनाउने हो ?” “पहिला पहिलाको चुनावमा नेताहरुले पैसा बाँडेर जित्ने गरेका थिए तर, अब हामी त्यस्तो हुन दिँदैनौँ, त्यसका लागि हामी एक भएका छौँ”, स्थानीयवासी जितन सदाले भन्नुभयो । 

वर्षौंदेखि ऐलानी जमिनमा बस्दै आएको यहाँका मुसहर बस्तीका कसैको नाममा पनि जमिन दर्ता भएको छैन । स्थानीयवासी अगुवा ५५ वर्षीय कृष्णकुमार लामा आफू बुझ्ने भएदेखि नै देखेको यो बस्ती अझै पनि ऐलानी नै रहेकाले पनि घर र शौचालयको समस्या देखिएको बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “गाउँकै टाठाबाठाले सदायहरु बसेको वरपरको जमिन नम्बरी गराए तर, सदायहरुको अझै नम्बरी भएको छैन । मुसहर समुदाय बसोबास गरेको सबै जमिन ऐलानी नै हो ।” 

कूल आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ वटा स्थानीय तह रहेको सिरहामा तीन लाख ३१ हजार ५९६ मतदाता रहेका छन् । जिल्लामा २१९ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ । राजु विश्वकर्मा/रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता