२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

२९ पुष २०८२, मंगलवार १३:०५

काठमाडौँ | देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका विभिन्न वडाहरू जोड्ने नेसनल हाइवे (एनएच–७७) आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । महानगर प्रमुख रेणु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर–९ स्थित गोन्द्राङको जिरो किलोमिटरबाट चक्रपथको उद्घाटन गर्नुभयो ।

स्थानीय सरकार गठनपछि गौरवको आयोजनाका रूपमा अघि बढाइएको ८८ दशमलव छ किलोमिटर लामो चक्रपथ निर्माणकार्य सात वर्षअघि सुरु गरिएको थियो । विभिन्न चरणमा सम्पन्न हुँदै आएको उक्त सडकको अधिकांश खण्डमा काम सम्पन्न भइसकेको छ । केही स्थानमा कालोपत्र तथा अलाइनमेन्ट मिलाउने काम बाँकी रहे पनि अन्य खण्डमा सडक निर्माण पूरा भएको जनाइएको छ ।

उद्घाटन कार्यक्रममा महानगर प्रमुख दाहालले स्थानीय तह आएपछि भरतपुरमा उल्लेखनीय विकासकार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “महानगरपालिकाको गौरवको प्राथमिकताप्राप्त योजनाका रूपमा हामीले यसलाई अघि बढाएका हौँ, देशकै सबैभन्दा लामो महानगरस्तरीय ‘रिङरोड’ अहिले राष्ट्रिय राजमार्ग (एनएच)का रूपमा विकास भएको छ ।” केन्द्रीय सडकका रूपमा सूचीकृत भएसँगै अब यस सडकलाई केन्द्र सरकारले समेत प्राथमिकतामा राखेर हेर्ने उहाँले बताउनुभयो ।

अरबौँ रुपैयाँको लगानीमा सङ्घीय, प्रदेश र स्थानीय सरकारको सहकार्यमा यो सडक निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । सडक पूर्ण रूपमा पक्की भइसकेको उल्लेख गर्दै उहाँले कतिपय स्थानमा व्यवस्थापनका काम बाँकी रहेको बताउनुभयो । “जहाँ जसरी सम्भव हुन्छ, त्यसैअनुसार निर्माण गरिएको छ, जनतालाई मर्का पर्नेगरी बाटो विस्तार गरिएको छैन”, उहाँले स्पष्ट पार्नुभयो ।

सडकको मापदण्ड ३० मिटर कायम गर्ने महानगरपालिकाको निर्णय रहेको र वडाबाट आएका सुझावका आधारमा छलफल गरी व्यावहारिक ढङ्गले काम अघि बढाइएको उहाँले बताउनुभयो । आगामी दिनमा यस सडकलाई स्तरोन्नति गरी दुई लेनमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रमुख दाहालले भरतपुरमा भौतिक विकासले फड्को मारेको उल्लेख गर्नुभयो । उहाँले हजारौँ किलोमिटर सडक कालोपत्र भइसकेको जनाउँदै अब सामाजिक विकास र रोजगारी सिर्जनालाई महानगरले प्राथमिकतामा राख्ने बताउनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख चित्रसेन अधिकारीले भरतपुरको समग्र विकासमा चक्रपथले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले भौतिक र सामाजिक विकासलाई सँगसँगै अघि बढाउन महानगरपालिका निरन्तर लागिपरेको जानकारी दिनुभयो ।

सङ्घीय, प्रदेश र स्थानीय तहको लगानीमा निर्माण भएको रिङरोडको शिलान्यास २०७५ असार २९ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणगढको पुलचोकमा गर्नुभएको थियो । महानगरपालिकाका इन्जिनियर साकार लामाका अनुसार चक्रपथ सुरु भएको सात वर्षमा अधिकांश स्थानमा कालोपत्र सम्पन्न भएको छभने केही खण्डमा ‘अलाइनमेन्ट’ स्पष्ट नभएकाले काम बाँकी रहेको छ ।

चक्रपथका केही भाग राष्ट्रिय राजमार्गसँग समेत जोडिने उहाँले बताउनुभयो । महानगरले तयार पारेको चक्रपथ नारायणगढको पुलचोकबाट नारायणी नदीतर्फ गोलाघाटसम्म पुग्छ भने आज उद्घाटन भएको गोन्द्राङबाट जङ्गलको किनारैकिनार पटिहानी–जगतपुर हुँदै पुनः गोलाघाटमै जोडिन्छ ।

यसैबीच, आजै भरतपुर महानगरको केन्द्र भाग हुँदै विभिन्न वडा भएर बग्ने ३० दशमलव दुई किलोमिटर लामो केरुङ्गा खोलाको सौन्दर्यीकरण कार्यअन्तर्गत भरतपुर–९ र १२ मा सम्पन्न भएका कामको पनि उद्घाटन गरिएको छ । महानगर प्रमुख दाहाल र उपप्रमुख अधिकारीले उक्त कार्यको संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा प्रमुख दाहालले महानगर क्षेत्रभित्र बग्ने खोलालाई चरणबद्ध रूपमा सौन्दर्यीकरण गर्ने काम थालिएको बताउनुभयो । उहाँले केरुङ्गा खोला महानगरको गौरवको आयोजनाका रूपमा अघि बढाइएको उल्लेख गर्दै भौतिक विकाससँगै सौन्दर्यीकरण र वातावरणीय सुधारका कामलाई पनि प्राथमिकता दिइएको बताउनुभयो ।

पुङ्गी खोला र केरुङ्गा खोलालाई सौन्दर्यीकरण गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने काम सुरु भइसकेको उहाँले जानकारी दिनुभयो । सुरु गरिएको काम सम्पन्न गर्ने जिम्मेवारी महानगरकै भएको भन्दै उहाँले सम्पूर्ण आयोजनालाई प्राथमिकताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उपप्रमुख अधिकारीले महानगरको भित्री भागमा बग्ने खोलालाई व्यवस्थित गर्नु महानगरको दायित्व भएको बताउनुभयो । खोलालाई व्यवस्थित गर्दै करिडोरका रूपमा विकास गर्दा वातावरणीय सन्तुलनमा समेत सकारात्मक प्रभाव पर्ने उहाँले उल्लेख गर्नुभयो ।

सो अवसरमा भरतपुर–९ का वडाध्यक्ष यमलाल कँडेल, भरतपुर–१२ का वडाध्यक्ष लेखराज पन्त, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, उपसचिव शेषकान्त पौडेल, सहरी पूर्वाधार विकास महाशाखा प्रमुख सन्तोष आचार्यलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित