
काठमाडौँ | भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् । घाइते जेनजी नेपाल, राष्ट्रिय जेनजी जनएकता अभियान लगाएतका युवाहरूको समूहले जाँचबुझ आयोगको प्रतिवेदन लुकाउन खोजिएको आशंका गर्दै शनिबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन् ।
उनीहरूले जेनजी आन्दोलन खोलामा प्रतिवेदन बन्द झोलामा, कुन भ्रष्टलाई बेचिस? कार्की आयोगको प्रतिवेदन, कार्की आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर, जेनजीहरू नारामा आमा उता रारामा लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । जाँचबुझ आयोगको प्रतिवेदन लुकाएर जेनजी शहीद र घाइतेहरूलाई अन्याय गर्न नपाइने उनीहरूले जनाएका छन् । साथै युवाहरूले जेनजी आन्दोलनको ढाडमा टेकेर नेताहरू सांसद बनेपनि जेनजी आन्दोलनको उदेश्य अझै पुरा हुन नसकेको जनाएका छन् ।
उनीहरूले सरकारी संरचना जलाउने र प्रहरीमाथि कुटपिट गर्ने जेनजी आफुहरू नभएको भन्दै भाद्र २३ र २४ का घटनामा दोषि देखिएकालाई कारवाही गर्नुपर्ने माग राखेका छन् । जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएपनि अझै सार्वजनिक हुन नसकेपछि युवाहरूले आशंका व्यक्त गरेका छन् ।