कन्चनपुरबाट सुरु भयो एमाले र माओवादी केन्द्रबीच पार्टी एकता

Posted on: 05 Nov, 2017

राजेन्द्र पनेरु | कात्तिक १९, कञ्चनपुर (रासस) | मंसिर २१ गते दोस्रो चरणमा हुने प्रदेश र संघको निर्वाचनका लागि वाम गठबन्धनका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बाट जिल्लास्तरमा पनि पार्टी एकीकरणको प्रक्रिया शुरु भएको छ । 

दुवै राजनीतिक दलको संयुक्त बैठकले एमाले जिल्ला अध्यक्ष तारा लामाको संयोजकत्वमा सात सदस्यीय पार्टी एकता संयोजन समिति गठन गरेको हो । 

सो समितिमा एमालेबाट उपाध्यक्ष जीवनराज थापा, सचिव सुरेन्द्र विष्ट र उपसचिव रणबहादुर महरा तथा माओवादी केन्द्रका जिल्ला संयोजक वीरबहादुर थापा, अमिन दहित (सूर्य) र गोपाल रसाइली (चिराग)लाई चयन गरिएको छ । 

वाम गठबन्धनको निर्देशनअनुसार गठित सो समितिले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका लागि जिम्मेवारीसमेत बाँडफाँट गरेको छ । 

वाम गठबन्धनको मर्र्म र भावनालाई कार्यकर्तामाझ पुर्याउनका लागि निर्वाचन क्षेत्र नं १ को बेलौरीमा कात्तिक २० गते र निर्वाचन क्षेत्र नं ३ को महेन्द्रनगरमा भेला गर्ने लगायतका कार्यक्रम तय भएको छ । 

निर्वाचन क्षेत्र नं २ को कलुवापुरमा कात्तिक १८ गते भेला सम्पन्न भइसकेको जिल्ला सदस्य हमालको भनाइ छ । संयुक्त वाम एकतालाई खलल पुग्ने गरी कुनै पनि गतिविधि, प्रतिक्रिया, समाजिक सञ्जाल तथा सञ्चारमाध्यमको दुरुपयोग नगर्न नगराउनसमेत दुवै पार्टीका कार्यकर्तालाई निर्देशित गरिएको एनेकपा(माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य टेकेन्द्रप्रसाद भट्टले बताउनुभयो । आजैदेखि गठबन्धनका उम्मेदवारले प्रचारप्रसारको कार्यसमेत शुरु गरेका छन् । 

नेपाली काँग्रेसद्वारा प्रचारप्रसार समिति गठन 

नेपाली काँग्रेसको निर्वाचन क्षेत्र नं २ मा आज पाँच सय ५१ सदस्यीय मूल प्रचारप्रसार समिति गठन गरिएको छ । 

पार्टीका क्षेत्रीय सभापति दलबहादुर बोहराको संयोजकत्वमा गठित समितिले कात्तिक २२ गतेदेखि प्रचारप्रसार गर्न चिन्तामणि भट्टको संयोजकत्वमा अनुगमन समिति र महासमिति सदस्य हेमराज ओझाको संयोजकत्वमा अर्थसमिति गठन गरिएको महासमिति सदस्य लालबहादुर सिंहले बताउनुभयो । 

क्षेत्र नं १ मा पुराना प्रतिस्पर्धी चुनावी मैदानमा 

कञ्चनपुर निर्वाचन क्षेत्र नं १ मा हुने निर्वाचनका लागि वाम गठबन्धन र काँग्रेसबाट पुराना प्रतिस्पर्धी चुनावी मैदानमा उत्रिएका छन् । 

वाम गठबन्धनबाट माओवादी केन्द्रका नेत्री विना मगर उम्मेदवार हुनुभएको छ । सो स्थानमा काँग्रेसले दोस्रो संविधनसभा निर्वाचनका विजयी दिवानसिंह विष्टलाई उम्मेदवार बनाएको छ । 

संविधानसभा निर्वाचनमा विष्ट निर्वाचित हुँदा मगर थोरै मतले तेस्रो हुनुभएको थियो । एमालेका लालबहादुर विक दोस्रो हुनुभएको थियो । दोस्रो संविधासभा निर्वाचनका दुई प्रतिद्वन्द्वी विष्ट र मगर चार वर्षपछि फेरि आआफ्ना चुनावी एजेण्डासहित मैदानमा उत्रिनु भएको छ । 

वाम गठबन्धनकी उम्मेदवार मगरले रुपान्तरण र विकासको एजेण्डा लिएर वाम गठबन्धनबाट आफू साझा उम्मेदवार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्र परिवर्तनको अभियानमा लाग्न र पछाडि परेको दक्षिणी क्षेत्रको विकास र राष्ट्रियस्तरमा चिनाउन उम्मेदवारी दिएको हुँ ।” उहाँले दक्षिणी क्षेत्र हालसम्म पिछडिएको उल्लेख गर्दै राज्यबाट यस क्षेत्रका लागि साँवाब्याजसहित अशुल्ने गरी उम्मेदवारी दिएको बताउनुभयो । 

काँग्रेसका उम्मेदवार विष्टले दक्षिणी क्षेत्रका निर्माणाधीन विकास निर्माणका कार्यलाई पूरा गर्नका लागि उम्मेदवारी दिएको बताउनुभयो । “यस क्षेत्रमा कलुवापुर बेलौरी सडक, हुलाकी मार्ग लगायतका योजना छन्, तिनलाई निरन्तरता दिएर जनतामा विकासको अनुभूति गराउन फेरि उम्मेदवारी भएको छु”– उहाँले भन्नुभयो । 

काँग्रेसले निर्वाचन क्षेत्र नं १ को (क) बाट गोपाल गुरुङ र (ख) बाट रामलाल रानालाई उम्मेदवार बनाएको छ । राना स्थानीय तह निर्वाचनमा बेलौरी नगरपालिकाको प्रमुख नपाएछि माओवादी केन्द्रमा प्रवेश गर्नुभएकामा केही दिनपछि उहाँ फेरि काँग्रेसका फर्किनुभएको थियो । 

क्षेत्र नं १ को प्रदेशसभाका दुवै क्षेत्रमा वाम गठबन्धनबाट एमालेका उम्मेदवार छन् । प्रदेशसभा (क) बाट एमालेका अध्यक्ष तारालामा तामाङ र (ख) बाट एमालेका कुलवीर चौधरी उम्मेदवार हुनुहुन्छ । वाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार विनामगर र एमाले अध्यक्ष तामाङको घर पुनर्वास नगरपालिका वडा नं ३ मा पर्छ । 

स्थानीय तहको निर्वाचन मतका आधारमा क्षेत्र नं १ मा वाम गठबन्धन अन्य दुई क्षेत्रभन्दा निकै बलियो देखिएको छ । यस क्षेत्रमा पुनर्वास, बेलौरी नगरपालिका तथा बेल्डाँडी र लालझाडी गाउँपालिका छन् । पुनर्वास नगरपालिकामा स्थानीय तहको निर्वाचनमा एमाले, बेलौरी र लालझाडी गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएकाले वाम गठबन्धन बलियो देखिएको छ । 

दुई पूर्वगाविस अध्यक्ष प्रदेशसभामाको चुनावमा भिड्दै 

कञ्चनपुरको महाकाली नगरपालिकामा एउटै वडाका दुई पूर्वगाविस अध्यक्ष प्रदेशसभा सदस्यको चुनावी मैदानमा उत्रिएका छन् । 

आसन्न निर्वाचनमा प्रदेशसभाका लागि महाकाली नगरपालिका वडा नं ७ बाट वाम गठबन्धनबाट मानबहादुर सुनार र नेपाली काँग्रेसबाट बेलबहादुर राना चुनावी मैदानमा उत्रिनुभएको हो । दुवै दोधारा गाविसका पूर्वगाविस अध्यक्ष हुनुहुन्छ् । 

महाकाली नगरपालिका वडा नं ७ का बेलबहादुर राना कांग्रेसबाट र मानबहादुर सुनार वाम गठबन्धनबाट कञ्चपुर क्षेत्र नं ३ (ख) को प्रदेशसभाको निर्वाचनको प्रत्यक्षतर्फ भिड्दै हुनुहुन्छ । 

दुवै दलका उम्मेदवार बलिया प्रतिस्पर्धी भएकाले कस्को विजय सुनिश्चित हुन्छ भन्नेबारे बताउन नसकिने स्थानीय सञ्चारकर्मी पप्पु गुरुङ बताउनुहुन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!