२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेशसभामध्येकै पहिलो बैठक सम्पन्न, सभामुखको चुनाव २७ गते

२०७४, १८ माघ बिहीबार ०९:१७

प्रकाश सिलवाल/माघ १८, हेटौँडा । प्रदेश नं ३ प्रदेशसभाको प्रथम अधिवेशनको पहिलो ऐतिहासिक बैठकमा विभिन्न राजनीतिक दलका सांसदहरुले जनादेश बमोजिम स्थायित्व र सुशासनका लागि सबै एकजुट हुन आह्वान गरेका छन् । 

सात प्रदेशमध्ये धेरै सांसद (११० सदस्य) भएको प्रदेश नं ३ को प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य डोरमणि पौडेलले आज यहाँ बैठक प्रारम्भ गर्दै प्रदेश प्रमुख अनुराधा कोइरालाबाट प्राप्त पहिलो अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएपछि दलका सांसदहरुले दलीय प्रतिनिधित्वका आधारमा मन्तव्य राखे । 


छलफलमा भाग लिँदै नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्यले जनताले राजनीतिक स्थिरता, समृद्धि, सुशासन र न्यायका लागि जनादेश दिएकाले इमान्दारिता र जवाफदेहिताका साथ अघि बढ्न आग्रह गर्नुभयो । उहाँले प्रदेश नं ३ लाई नमूना बनाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो र जनआकांक्षालाई पूरा गर्न यो सभा सक्षम हुने विश्वास व्यक्त गर्नुभयो । 

नेकपा (माओवादी केन्द्र) का शालिकराम जम्मरकट्टेलले मुलुकको परिवर्तनका लागि पटक पटक भएका आन्दोलन र प्राप्त उपलब्धिको रक्षा गर्दै आर्थिक विकासका लागि सबै लाग्नुपर्ने बताउनुभयो । 

नेपाली काँग्रेसका इन्द्र बानियाँले वीरगञ्ज भन्सारसँग जोडिएको र काठमाडौँ हेटौँडा द्रुत मार्ग पनि बन्दै गरेकाले प्रदेशको राजधानी मकवानपुर नै वैज्ञानिक हुने बताउनुभयो । उहाँले सहमति, सहकार्य र एकतासहित लोकतान्त्रिक मूल्य मान्यताका साथ अघि बढ्न आग्रह पनि गर्नुभयो । 


विवेकशील साझा पार्टीका रमेश पौडेलले राजनीतिक परिवर्तनको खोजीमा मुलुकले लामो समय व्यतित गरे पनि नयाँ संविधान प्राप्त भइसकेकाले अबको समय सहभागितामूलक लोकतन्त्रलाई व्यवहारमा उतार्न जोड दिइनुपर्ने बताउनुभयो । नेपाल मजदुर किसान पार्टीका सुरेन्दराज गोसाईंले प्रदेशहरुबीचको आपसी सम्बन्ध विस्तार गर्दै क्षेत्रीय र जातीय नारा भन्दा सन्तुलित विकास अबको गन्तव्य हुनुपर्ने बताउनुभयो । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का रीना गुरुङले एकात्मकबाट संघात्मक प्रणालीमा रुपान्तरित भए पनि संघीयतालाई मुलुकले थेग्न नसक्ने हो कि भन्ने शंका उपशंका मेट्ने गरी काम गर्न सक्नुपर्ने विचार व्यक्त गर्नुभयो । 

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रीता माझी र स्वतन्त्र (नयाँ शक्ति नेपाल) सांसद प्रेमबहादुर तामाङले प्रदेश सरकार छिटो चयन भई जनताका आशा अपेक्षा पूरा गर्ने तदारुकता देखाइनुपर्नेमा जोड दिनुभयो । 

बैठकले प्रदेशसभा सञ्चालन नियमावली नबनेसम्मका लागि दलीय सहमतिका आधारमा तयार गरिएको प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि, २०७४ लाई सर्वसम्मतिले पारित ग¥यो । 

सभामुखको निर्वाचन २७ गते 

बैठकले प्रदेशसभाको अन्तरिम सभामुखको निर्वाचनका लागि यही माघ २७ गते निर्धारण गरेको छ । सो निर्वाचनका लागि आवश्यक कार्यतालिका सार्वजनिक गर्न सचिवालयलाई जिम्मेवारी दिइएको छ । 

बैठकमा ज्येष्ठ सदस्यको अनुपस्थितिमा बैठकको अध्यक्षताका लागि रामेश्वर फुयाँल, धनश्याम दाहाल, गीता शाक्य र शोभा वाग्लेलाई मनोनयन गरिएको छ । 

प्रदेशसभाको अर्काे बैठक यही माघ २७ गते सोमबार दिउँसो ३ बजे बस्नेछ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित