१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजनीतिक स्थायित्वका लागि एकता सकारात्मकः सङ्गठनात्मक चुनौती पनि

३ जेष्ठ २०७५, बिहीबार १४:०३

कालिका खड्का र नारायण अधिकारी | जेठ ३, काठमाडौँ | नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच औपचारिक रुपमा पार्टी एकताको घोषणा भएपछि नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एक्लो ‘नेपाल कम्युनिष्ट पार्टी’ गठन भएबाट विभिन्न क्षेत्रमा विद्वानले मुलुकमा राजनीति स्थायित्व हुने संज्ञा दिएका छन् । 

उस्ताउस्तै विचार राख्ने दुई ठूला पार्टी एक्लाएक्लै हिँड्नुभन्दा एउटै पार्टी हुँदा मुलुकमा राजनीतिक स्थायित्व भई मुलुकमा विकासको ढोका खुल्ने विद्वानको धारणा छ । राजनीतिक विश्लेषक सोमत घिमिरेले वामपन्थी पार्टीहरु एक हुनुलाई सकरात्मक रुपमा लिनुभएको छ । “दुवै पार्टीको विचारमा खास फरक छैन, पृष्ठभूमिलाई हेर्दा एउटा चलनचल्तीअनुसार आएको र अर्को जनयुद्धबाट आएको भन्ने मात्र हो, दुई पार्टी एकता हुनु सकारात्मक कुरा हो,” उहाँले भन्नुभयो । 

घिमिरेका अनुसार दुई ठूला पार्टी छुट्टाछुट्टै हुँदा जनताको मत कम्युनिष्टलाई नै बाँडिएको थियो । एकता भएपछि एक ढिक्का भयो जुन राम्रो कुरा हो । ठूला पार्टी एक हुँदा मुलुकमा राजनीतिक स्थायित्व हुनाका साथै स्वास्थ्य र शिक्षा नीति तथा समग्र मुलुकको विकासमा मद्दत पुग्छ । “दुई कम्युनिष्ट पार्टी एकता हुँदा दुई वामपन्थी ठूला दलले जनताको मत माग्ने प्रतिष्पर्धाको अन्त्य भएको छ तर ठूला दुई पार्टीभित्र संगठनात्मक व्यवस्थापनमा निकै चुनौती छ, किनभने दुवै पार्टीमा धेरै नेता छन्”, राजनीतिक विश्लेषक घिमिरेले थप्नुभयो । 

अर्का राजनीतिक विश्लेषक उद्धव प्याकुरेलका अनुसार मतदाता दुई पार्टी एकता हुन लागेकामा धेरै खुशी मानिरहेका छन् तर पार्टीका नेताबीचमा व्यक्तिगत चरित्रका कारण व्यवस्थापनमा निकै कठिनाइ हुनेछ । “उस्तै विचारधाराको पार्टी हो, एकता हुनु सकारात्मक कुरा हो तर राजनीतिक व्यक्तिवादी चरित्र, धेरै नेतृत्व गर्न सक्ने नेताहरु पदमिलानमा निकै कठिनाइ हुन सक्छ”, प्याकुरेलले जोड्नुभयो । 

एमाले र माओवादी दुई पार्टीबीचको एकतालाई वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले पनि सकारात्मक रुपमा लिई मुलुकमा स्थायित्व मिल्ने आशा गर्नुभएको छ । “नेपालका ठूला दुई वामपन्थी मिल्नु ऐतिहासिक कुरा हो, वामपन्थी एक र प्रजातान्त्रिक एक भए मुलुकको विकासमा पनि सहज हुन्छ, पार्टी एकता हुनु निकै राम्रो हो”, मैनालीले थप्नुभयो । सानो मुलुकका धेरै राजनीतिक पार्टी हुँदा जुन रुपमा विकास हुनुपर्ने हो त्यसअनुरुप हुन सकेको नसकेको उहाँको बुझाइ छ । 

वरिष्ठ अधिवक्ता मीरा ढुंगानाले पनि सिद्धान्त र वैचारिक दृष्टिकोणले उस्तै पार्टी भएको हुँदा एकता हुनुलाई सकारात्मक रुपमा हेर्नुभएको छ । “एकता आफैँमा राम्रो कुरा हो, नेपालमा दुई÷तीन पार्टीभन्दा बढी जरुरी छैन, पार्टीका खिंचातानीका कारण विकासमा अवरोध पुगेको छ, अरु पार्टीहरुबीच पनि विस्तारै एकता भए राम्रो हुन्थ्यो”, उहाँले जोड्नुभयो । 

नेपाली वामपन्थी राजनीतिको इतिहासमा ठूला दुई पार्टी एकीकरण भएको आज ऐतिहासिक दिन हो । यसअघि नेपाली राजनीतिक इतिहासमा यति ठूला राजनीति दलबीच एकता भएको इतिहास छैन । गत असोज १७ गते एमाले र माओवादी निर्वाचनमा तालमेल गरेर पछि पार्टी एकता गर्ने घोषणा गरेर अगाडि बढेका थिए । तीनै तहको निर्वाचन सम्पन्न भइसक्दा पनि दुई राजनीतिक दलबीच पार्टी एकता नहुँदा दुवै पार्टीका नेता तथा कार्यकर्तामा एक प्रकारको नैराश्य देखिन थालेको थियो । तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक कार्यक्रममा पार्टी एकतालाई कसैले पनि रोक्न नसक्ने र समय आएपछि घोषणा गर्ने बताउँदै आउनुभएको थियो । दुई अध्यक्षको भनाइ सही सावित भएको छ । बुधबार दुई अध्यक्ष बसेर पार्टी एकीकरण आज हुने सहमति गर्नुभएको थियो । दुई पार्टीबीचको गठबन्धन स्थायित्व र विकासका लागि भनेर घोषणा गरिएको थियो 

त्यही नारालाई ध्यानमा राखेर निर्वाचनमा मतदाताले दुई पार्टीलाई झण्डै दुई तिहाइ बहुमत दिए जुन मत पार्टी एकता तथा मुलुकको राजनीतिक स्थायित्व र विकासका लागि थियो । मतदाताले दुई पार्टी एक भएको हेर्न चाहेका थिए । दुई पार्टीले आज त्यही जनमतको कदर गरेका छन् । 

एकता सकारात्मक छः बुद्धिजीवी 

चितवन–गत निर्वाचनमा वामगठबन्धन बनाई निर्वाचन लडेका एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि यहाँका बुद्धिजीवीले यसलाई सकारात्मक रुपमा लिएका छन् । उनीहरूले एकतालाई दिगो बनाउनुपर्नेमा जोडसमेत दिएका छन् । 

वाम बुद्धिजीवी रमाकान्त सापकोटाले जनताको अभिमतअनुरुप ढिलो गरी एकता भएपनि एकताले जनताको भावना समेट्न सफल भएको बताउनुभयो । प्रा डा सूर्यकान्त घिमिरेले गत निर्वाचनमा भएको सहमतिको अनुमोदनका रुपमा पार्टी एकतालाई लिनुपर्ने बताउनुभयो । केन्द्रीय नेता र तल्लो तहका जनता पार्टी एकतामा लागेको भए पनि बीचको एक तह एकताको पक्षमा कम देखिएको बाहिरबाट प्रष्ट बुझ्न सकिएको उहाँ बताउनुहुन्छ । 

बुद्धिजीवी प्रेम रिमाल अहिलेको पार्टी एकता नौलो नभएर वाम गठबन्धनको पूर्व शर्तअनुरुप भएको बताउनुहुन्छ । गत निर्वाचनमा जनताले दिएको अभिमत नेताले इमान्दारीपूर्वक पूरा गरेको बताउँदै उहाँले सबै खाले कम्युनिष्ट पार्टीलाई विचार र विधिका आधारमा नजिक्याउँदै लैजाने र प्रतिपक्षलाई विकासनिर्माणको मूल विषयमा नजिक्याउन सकेमा एकता सफल हुने विश्वास व्यक्त गर्नुभयो । 

प्रा रामकुमार तिवारीले गत निर्वाचनमा दुई पार्टी एक भएर समृद्धिका लागि काम गर्ने जुन प्रतिबद्धता थियो, त्यसको नतिजा आएको बताउँदै मुलुकमा अब राजनीतिका खुद्रा पसल बन्द हुनका लागि सन्देश गएको विचार राख्नुभयो । बुद्धिजीवी डा केशवभक्त सापकोटा पार्टी मिलेर स्थायी सरकार र समृद्धिको नाराका कारण मत लिइसकेकाले दुई पार्टी एक हुनैपर्ने थियो भन्दै नैतिक रुपमा जनताका बीचमा गरिएका प्रतिबद्धता पूरा भएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन