जेठ १६,काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारद्वारा संसदमा प्रस्तुत भएको आर्थिक वर्ष. ०७५/७६ बजेट विगतका बजेटहरुकै निरन्तरता र कर्मकाण्डी भएको जनाएको छ । पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारले बजेटको माध्यमबाट मुलुकलाई आर्थिक समृद्धिको दिशातर्फ उन्मुख भएको सकारात्मक सन्देश दिने अवसर गुमाएको जनाएको छ ।
बजेटले नेपाली जनताको आवश्यकता र अपेक्षालाई सम्बोधन गर्न नसकेको तथा कामकाजी, व्यवसायी, उद्योगी र आमजनतालाई ठोस राहत दिन नसकेको राप्रपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बजेट सरकारले चुनावी घोषणापत्रमा गरेका वाचा र कबोलहरुलाई यस बजेटले पूर्णतः उपेक्षा गरेको साथैे नीजि क्षेत्रलाई आश्वस्त र वैदेशिक लगानीलाई आकर्षित गर्न तर्फ नसकेको राप्रपाले जनाएको छ । आर्थिक वृद्धिदरको लक्ष्य भरोसा योग्य नभएको भन्दै राप्रपाले बजेटलाई बलियो सरकारले ल्याएको कमजोर बजेट भएको प्रतिक्रया दिएको छ ।
साथै राप्रपाले सशस्त्र द्वन्द्व कालमा कर्तव्य ज्यानमुद्धाको अभियोग लागी सर्वोच्च अदालतबाट अभियुक्त प्रमाणित भई सर्वश्व सहित आजीवन जन्मकैद सजाय पाएका बालकृष्ण ढुङ्गेललाई सरकारले गणतन्त्र दिवसका दिन गरेको रिहाई प्रति राप्रपा दुःख व्यक्त गरेको छ । सर्वोच्च अदालतको विगतको फैसला र सर्वोच्चमै विचाराधिन रहेको अवस्थामा उक्त रिहाई हुनुले कानुनी राज्यको उपहास गरेको राप्रपाले जनाएको छ ।