विजय पौडेल । भदौ २५ ।
कहिलेकाहिँ लाग्छ कस्तो देशमा जन्मिएछु भनेर, पछुतो हुन्छ आफ्नै देश सम्झिएर । देश छोडेर हिडेको पनि धेरै भयो आज हुन्छ की, भोलि हुन्छ कि भन्दा भन्दै देशको हालत कहिल्यै सन्तुलन नहुने देखिन्छ । गरीबि, अशिक्षा, बेरोजगारी जस्ता समस्याले देश व्याकुल छ अनि म पनि घर फर्किन सक्दिन यहि सम्झेर ।
कसैलाइ रहर हुँदैन आफ्नो देश र परिवारबाट टाढा बस्ने तर हामी नेपालीको नियती यस्तै भैसक्यो । जे जति कुरा गरेपनि आखिरी एक व्यक्ति तथा संस्थाले गरेर हुँदैन देश बन्नलाइ सिंगो राजनीति सुधार र विकासले तिब्रता लिनैपर्छ । म यो खाडिमा भएको उन्नति प्रगती देख्छु जहाँ स्रोत साधन लगभग शुन्य नै छ । सबै आयातित नै छन् तर विकास हेर्ने हो भने आज तपाईं हिड्ने ठाउँ भोलि जाँदा अर्कै स्वरुपको भएको हुन्छ ।
नागरिक सुरक्षा छ, नागरिकलाई सरकारप्रति र सरकारलाई नागरिकप्रति पूर्ण भरोसा छ । न कुनै दिन बन्द हुन्छ, न कुनै दिन हड्ताल हुन्छ सरकारी छुट्टी वर्षमा मरेर १५ दिन होला । दिनरात काम चलेको छ पर्याप्त प्राकृतिक स्रोत साधनको अभावमा पनि विकासका काम रोकिएको छैन । विभिन्न भौतिक पूर्वाधारको निर्माण भएका छन, त्यो पनि दुनियाँलाई चुनौती दिएर । यी अनि यस्तै आफ्नै आँखा अगाडि देख्दा परदेशीएकाहरुको मन कहिल्यै बुझ्दैन आफ्नो देश सम्झिएर ।
हामिसँग पर्याप्त स्रोत साधन तथा उपयुक्त जनशक्ती हुँदा पनि किन विकास हुन सकेन त ? यसको उत्तर मसँग छ – कतिपय विद्वानहरु भन्छन् 'विकास हुनलाइ जनता पनि सचेत हुनुपर्छ ।' हो म त्योपनि मान्छु जनताहरु हाम्रो देशमा जस्तो सचेत दुनियाँमै सायदै होलान् त्यसैले एकादबाहेक सबै नागरिक विकास कै पक्षमा छन् यो त एउटा बहाना मात्र हो । अन्त्यमा जसरीपनि कुरा आउँछ राजनीतिमै जबसम्म हाम्रो देशमा असल नेताको जन्म हुँदैन तबसम्म हामी जतिनै कराएपनी हुनेवाला केही छैन । हरेक नेतामा इमान्दारिता, दृढ इच्छाशक्ति र विकास गर्छु भन्ने संकल्प हुनुपर्छ । हरेक नेताले हरेक पल्ट भाषण गर्दा जनताले जुन ताली दिन्छन् के साच्चै त्यसको कदर भएको छ त ?
यहाँ राजनीति दुई किसिमले भएको देखिन्छ ।
१, सिद्धान्तको राजनीति । २, कुर्सीको राजनीति ।
यद्दपी जनताको लागि राजनीति गर्ने वातावरण नहुँदा र नेतृत्वले त्यसतर्फ नसोचिदिदा दिक्क मान्नपर्ने अबस्था आएको छ । सिद्धान्तको राजनीतिले मर्ने र मार्ने अनि दादागिरी गर्नेभन्दा अरु केही नपाएको जनताको मनमा पस्नेे गरेको र सोच्न थालेका छन् आखिर के पाइयो ? हिजो सिद्धान्तको राजनीतिको नाममा १७ हजारभन्दा बढिले रगत बगाए तिनको रगत कहाँ बिलायो ? आज त्यहिँ सिद्धान्तपछिको राजनीतिले फेरि ६० लाखभन्दा बढीको ज्यान दिनरात खाइरहेको छ यो कस्ले देख्छ जो विदेसिएका नागरिक छन् । अर्को कुर्सीको राजनीति हो यो कुर्सीको राजनीति सिद्धान्तको राजनीतिभन्दा खतरनाक छ । यहाँ जब कुर्सीको राजनीति हुन्छ अनि फरक सिद्धान्त हुँदैन, फरक विचार हुँदैन, फरक बाटो हुँदैन बस भागवण्डा मिल्नुपर्छ अनि त्यहाँ लाखौं करोडौं अर्बौको डिल हुन्छ अनि राजनीति सकिन्छ । जनताको आशाहरु त्यहिँ मर्छन् ।
जबसम्म समाजको आवश्यकता पुर्ती गर्न दिगो विकास गर्ने अठोटका साथ भावी सन्ततीको पर्यावरणीय आवश्यकता, प्राकृतिक स्रोतको दिर्घकालिन उपयोगको सुनिश्चिततालाई समेत ध्यानमा राखेर अगाडि बढ्दैन तबसम्म सकरात्मक परिवर्तन हुन सक्दैन । यसर्थ अहिले हामीलाई न सिद्धान्तको राजनीति चाहिएको छ, न विचारको हामीलाई विकासको, उद्दमशिलताको, पहुँचको, परिवर्तनको, रोजगारीको र मौलिकताको राजनीति चाहिएको छ, दिगो विकास र परिवर्तनको संकेत आवश्यकता भएको छ । नत्र भने अब आउने पुस्ताले यी नेतालाइ कहिल्यै माफ गर्ने छैनन् ।
( लेखक लिखु तामाकोशी गाउँपालिका २ रामेछाप घर भई हाल बैदेशिक रोजगारीको शिलसिलामा दुवइमा रहेका छन् )