2026-07-09 11:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ नक्शासहितको संविधान संशोधनमाथि सत्ता र विपक्षीको समर्थन

जेठ २७, काठमाडौँ (रासस) | प्रतिनिधिसभाको आजको बैठकमा नेपालको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न पेश भएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ विधेयक सत्तापक्ष र विपक्षी दलको समर्थन देखिएको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि भएको सैद्धान्तिक (सामान्य) छलफलमा यस्तो समर्थन देखिएको हो । सो विधेयकमा कुनै संशोधन भएमा ७२ घण्टाभित्र पेश गर्न सांसदलाई समय दिइनेछ ।

सरकारले यही जेठ ७ गते नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्शा जारी गरेपछि सोहीअनुसार नक्शा र निशान छापलाई संविधानको अङ्ग बनाउन सर्वदलीय सहमतिका आधारमा संविधान संशोधन गर्न लागिएको हो । नेपालको संविधानको अनुसूची–३ मा रहेको नेपालको निशान छापभित्र अङ्कित नेपालको नक्शालाई नेपालको वास्तविक सीमानुरुप मिलाउन आवश्यक भएकाले संविधान संशोधन गर्न लागिएको हो ।

संविधानको धारा ९ को उपधारा (२) सँग सम्बन्धित निशान छाप आवश्यकतानुसार ठूलो वा सानो आकारको बनाउन सकिने तथा त्यसमा नेपाल सरकारबाट निर्धारित रङ प्रयोग हुने उल्लेख छ ।

छिमेकी चीन र भारतले सन् २०१५ मे १५ मा भारतको पिथौरागढ, गुञ्जी, कालापानी हुँदै लिपुभञ्याङबाट चीनको मानसरोवर जोड्ने गरी व्यापारिक मार्ग बनाउने सहमति गरेका थिए । उक्त सहमतिको विरोध गर्दै तत्कालीन सरकारले कूटनीतिक नोट पठाएको थियो । भारतले गत कात्तिकमा नेपालका लिम्पियाधुरा, लिपुलेक तथा कालापानी समेटेर नयाँ राजनीतिक नक्शा सार्वजनिक गरेपछि नेपालले आपत्ति गर्दै वार्ताका लागि आह्वान गर्दै आएको छ तर भारतले समय दिइरहेको छैन ।

गत वैशाख २६ गते भारतले मानसरोवर जोड्ने उक्त सडक उद्घाटन गरेपछि सरकारले पुनः कूटतीतिक नोट पठाएको थियो । नेपाल सरकारले यही जेठ ५ गते भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले तयार गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर नयाँ अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्शा मन्त्रिपरिषद्बाट पारित गरेको थियो ।  झण्डै ४०० वर्गकिलोमिटर भूभागमा दार्चुलाका कुटी, नाभी  र गुञ्जी गाउँ पर्छ ।

भारतले सन् १९६२ मा चीनको आक्रमणबाट आफ्नो भूमि जोगाउन भनी नेपालको अनुमतिमा नेपालका विभिन्न क्षेत्रमा १७ स्थानमा सेना ल्याएर राखेको बताइएको छ । त्यसपछि १५ ठाउँबाट सैनिक पोष्ट हटे पनि कालापानीमा दुई  पोष्ट अझै हट्न सकेको छैन ।

सुगौली सन्धिको बुँदा नम्बर ५ मा महाकाली नदी नै नेपाल भारतको सीमा भनेर स्पष्ट उल्लेख गरिएको छ । काली नदीको शिर लिम्पियाधुरा हो । भारतले त्यसलाई लत्याएर लिपुलेकबाट आउने लिपुखोलालाई काली नदी बनाई नेपाली भूभाग अतिक्रमण गर्दै आएको छ ।

आजको छलफलमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कृष्णभक्त पोखरेलले सरकारले संशोधन प्रस्ताव ल्याएकामा स्वागत गर्दै सार्वभौम नेपाल इतिहासमा कसैसँग अधीनस्थ नभएका सन्दर्भमा नेपाली भूमिमाथि भारतीय पक्षको हस्तक्षेप स्वीकार्य नहुने बताउनुभयो । उहाँले राष्ट्रियताका पक्षमा सबै दल एक भएर संशोधन पारित गर्न आग्रह गर्दै उहाँले राष्ट्रहितविरुद्ध बोल्नेलाई कारवाही गर्न माग गर्नुभयो ।

नेकपाकै खगराज अधिकारीले तत्कालीन नेकपा (एमाले) ले सुगौली सन्धिबमोजिम ती भूमि नेपाली भूमि हो भनेर आवाज उठाउँदै आएको उल्लेख गर्दै मिचिएका भूमिबाट भारतीय सेना हटाउन सदनमा दर्ता भएको सङ्कल्प प्रस्ताव पारित गर्न माग गर्नुभयो । 

विशाल नेपालको कुरा

नेकपाका सचेतक शान्ता चौधरीले नयाँ नक्शा ल्याउनु सरकारको अभूतपूर्व एवं ऐतिहासिक काम भएको र  देशको मानचित्र परिवर्तनको क्रमले आफूहरुलाई खुशी तुल्याएको बताउँदै राष्ट्रियतामाथि धावा नबोल्न आग्रह गर्नुभयो । सोही दलकी गङ्गा चौधरीले संशोधन प्रस्तावलाई स्वागत गर्दै भारतले सुगौली सन्धि नमानेका अवस्थामा नेपालले पनि विशाल नेपालको कुरा उठाउन सक्ने विचार राख्नुभयो । नेकपाकै तुल्सा थापाले सरकारले ल्याएको उक्त विधेयक राष्ट्रियता र राष्ट्रहितका पक्षमा रहेको बताउनुभयो ।

सोही दलका पूर्णकुमारी सुवेदीले राष्ट्रियता र सार्वभौमसत्ताका महत्वपूर्ण विषयमा प्रस्ताव आएकाले ऐतिहासिक तथ्यका विषयमा लडाइँ गर्नुपर्ने अवस्था आउनु हुन्थेन भन्नुभयो । नेकपाकै गौरीशङ्कर चौधरीले संशोधन प्रस्तावको समर्थन जनाउँदै सबैलाई एक भएर पारित गर्न आग्रह गर्नुभयो ।

सोही दलकी विन्दा पाण्डले अतिक्रमित नयाँ नक्शा आएसँगै सीमा समस्या दीर्घकालीन रुपमा समाधान गर्न सरकारसँग आग्रह गर्नुभयो । नेकपाका गजेन्द्रबहादुर महतले नेपाली भूमिमा भारतसँग मिलेर सडक बनाउने सहमति दिएका विषयमा चीनको धारणा पनि आउनुपर्ने बताउनुभयो । नेकपाकै आशाकुमारी विक, नवराज सिलवाल, लक्ष्मीकुमारी चौधरी, गोपालबहादुर बम, अमनलाल मोदी र  मीना श्रेष्ठले पनि  विधेयकका पक्षमा धारणा राख्नुभयो ।

विदेशी सेना हटाउने साहस

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपालको सार्वभौमिकता, अखण्डता र स्वाधीनताको रक्षाका लागि आफ्नो पार्टी सदैव कटिबद्ध रहेको उल्लेख गर्दै सरकारले ल्याएको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न पार्टीले संस्थागतरुपमा निर्णय गरेको जानकारी दिनुभयो ।  काँग्रेसका सचेतक पुष्पा भुसालले नक्शाका विषयमा ल्याइएको संशोधनमा सहमति हुने उल्लेख गर्दै मिचिएको भूमि भारतसँग कूटनीतिक वार्ता गरी फिर्ता ल्याउनुपर्ने बताउनुभयो । संविधान संशोधनमा जोडिएका अन्य विषयमा पनि छलफल गर्न उहाँले आग्रह गर्नुभयो ।

काङ्ग्रेसकै डा मीनेन्द्रप्रसाद रिजालले संशोधन प्रस्ताव नेपाली नागरिक र दलको चाहनाबमोजिम आएकाले नयाँ नक्शा पारितसँगै अतिक्रमित भूमि फिर्ता ल्याउने काममा कसैलाई देवत्वकरण नगरी र कसैलाई लाञ्छना नलगाई सामूहिकरुपमा लाग्नुपर्ने बताउनुभयो । 

सोही दलका गगनकुमार थापाले नेपालले वार्ताका लागि गरेको अनुरोधलाई भारत सरकारले बेवास्ता गरेको जनाउँदै नक्शा पारितसँगै सबै मिलेर मिचिएको नेपाली भूमिबाट विदेशी सेना हटाउने साहस पनि गर्न आग्रह गर्नुभयो ।  काङ्ग्रेसकै डिला सङ्ग्रौलाले  आफ्नो दल नयाँ नक्शासहितको संशोधनका पक्षमा मतदान गर्न आतुर रहेको जनाउनुभयो ।

सोही दलका मानबहादुर विश्वकर्माले राष्ट्रियताको निर्णय गर्दा संस्थागत गर्ने प्रक्रियानुसार सीमाका विषयमा पनि पार्टीले यही जेठ १७ गते संस्थागत निर्णय गरिसकेको बताउनुभयो । सोही दलकी सुजाता परियारले भूमि फिर्ता ल्याउन सरकारले ढिला गर्न नहुनेमा जोड दिनुभयो । काँग्रेसका देवप्रसाद तिमिल्सिनाले यथाशीघ्र सदनबाट पारित गराएर कुन तरिकाले भूमिको स्वामित्व छिटो ल्याउन सकिन्छ त्यसतर्फ लाग्न सरकारलाई आग्रह गर्नुभयो ।

समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठले लिम्पियाधुराको शिरानबाट बगेर आएको नदी नै कालीनदी भएको र त्यसपूर्वको भूभाग नेपालको रहेको ऐतिहासिक तथ्य रहेको उल्लेख गर्दै सरकारको विधेयकमा समर्थन हुने तर आन्तरिक राष्ट्रिय एकतालाई पनि बलियो बनाउन आफूहरुले उठाएका संविधान संशोधनका अन्य विषयलाई पनि समावेश गर्न माग गर्नुभयो ।

राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्णले आफू मात्रै राष्ट्रवादी हुँ र अरु होइन भन्ने भावना विकास नगर्न आग्रह गर्दै सरकारलाई कूटनीतिक प्रयासबाट सीमा विवाद टुङ्गो लगाउन सुझाव दिनुभयो ।

राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले नयाँ नक्शा ल्याउनु सरकारको उपलब्धिपूर्ण र गर्व गर्नलायक कार्य भएको जनाउँदै सबै दललाई एक भएर प्रस्ताव पारित गर्न आग्रह गर्नुभयो । नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले लिम्पियाधुराको उद्मगस्थलमा नेपाल, भारत र चीनको त्रिदेशीय सीमा निर्धारण हुनुपर्ने बताउनुभयो । यही जेठ ९ गते सङ्घीय संसद् सचिवालयमा दर्ता भएको सो विधेयक  जेठ १९ गते सदनमा पेश भएको थियो । संसद्मा विभिन्न दलका सांसदले संविधानका अन्य बुँदामा पनि संशोधनका लागि गैरसरकारी विधेयक पेश गर्नुभएको छ  । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो