2026-07-10 12:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कालापानीबाट सैनिक फर्काउन भारतसँग माग

असार ४, काठमाडौँ | राजनीतिक रुपमा विभिन्न दल तथा विचारमा आबद्ध दल राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका पक्षमा भने एकै स्थानमा उभिएका छन् ।  राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथिको दफावार छलफलमा भाग लिँदै सांसदले दलीय स्वार्थमाथि उठेर राष्ट्रियता एवम् सार्वभौमसत्ताको पक्षमा एकै स्थानमा उभिएर नेपाली एक मत छन् भन्ने सन्देश दिएका हुन् ।

सरकारले सार्थक वार्ताका माध्यमबाट भारतसँग कूटनीतिक एवम् राजनीतिक पहल गरेर नेपालको भूभागमा राखिएको भारतीय सेनाको क्याम्प हटाउनेतर्फ लाग्नुपर्ने सांसदको भनाइ छ ।  भारतले एकलौटी रुपमा नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायत भूमिमा सडक निर्माण गरेर उद्घाटनसमेत गरेपछि सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि बढाएको थियो । सोही आधारमा प्रतिनिधिसभाको गत जेठ ३१ गतेको बैठकले सो विधेयकलाई दुई तिहाइ बहुमतले पारित गरेको थियो । 

राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता  दीनानाथ शर्माले राष्ट्रिय स्वाधीनतामा नेपाली जनता एक  ठाउँमा छन् भन्ने सन्देश दिइएको बताउनुभयो । राष्ट्रियता र प्रजातन्त्र  तथा लोकतन्त्र र गणतन्त्रका लागि नेपालीले लामो लडाइँ लडेको जनाउँदै उहाँले सबै दलबीचको एकताबाट नै परिवर्तन सम्भव भएको बताउनुभयो ।

नेपालले भारतलाई सधैँ असल मित्रका रुपमा हेरिरहेको बताउँदै उहाँले भन्नुभयो, “मित्रता बजारमा किनेर पाइँदैन, मित्रता भनेको आस्था र विश्वास हो, भारतले नेपाललाई असल मित्र मान्ने हो भने तत्कालीन इष्ट इण्डिया कम्पनीले आक्रमण गरेर लगेको पूर्वी टिष्टा र पश्चिम काँगडासम्म भारतले फिर्ता गर्नुपर्ने हुन्छ ।”

उहाँले छिटोभन्दा छिटो कालापानीबाट आफ्नो सेना फर्काउन तथा लिपुलेक र लिम्पियाधुरासहितको जमीन फिर्ता गर्न भारतसँग आग्रह गर्नुभयो । नेपाल–भारत सीमा विवादलाई कूटनीतिक माध्यमबाट टुङ्ग्याउनुपर्ने भनी नेपालले स्पष्ट अडान राखेको जनाउँदै उहाँले विवाद समाधान हुन नसकेमा अन्तरराष्ट्रिय समुदायसमक्ष कुरा राख्नुपर्ने बताउनुभयो । राष्ट्रिय हितका विषयमा सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा भएको बताउँदै उहाँले सहमति र सहकार्यका आधारमा नै राष्ट्रिय सङ्कट समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

भोगचलनका आधारमा  भारतको हुनै सक्दैनः अधिकारी

राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दलका  नेता राधेश्याम अधिकारीले १८१६ को सुगौली सन्धिअनुसार नेपाल–भारतबीचको सीमा छुट्टिएको र महाकालीपूर्वका क्षेत्र नेपाली भूभाग भएकाले कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र स्वतः नेपालको भएको बताउनुभयो ।

तत्कालीन राजा महेन्द्रले २०१७ सालमा कु गरी राजनीतिक दलमाथि प्रतिबन्ध लगाएको र पछि आफ्नो सत्ता जोगाउन कालापानीलगायत क्षेत्रमा भारतीय सैनिक राख्न अनुमति दिएको विचार व्यक्त गर्दै उहाँले भोगचलन तथा नक्शा जारी गरेकै भरमा सो क्षेत्र भारतको हुनै नसक्ने स्पष्ट पार्नुभयो ।

वार्ता र  संवादका आधारमै भूमि फिर्ता ल्याउनुपर्नेमा जोड दिँदै उहाँले कालापानीबाट भारतीय सेना फर्काउने र नेपाली क्षेत्रमा नेपाली प्रशासनको उपस्थिति गराउनु अहिलेको आवश्यकता भएको बताउनुभयो । “भारतसँगको वार्ताका क्रममा संयमता अपनाउनु जरुरी छ, असंयमित भाषा र टिप्पणी गर्नु नेपालीको स्वभाव होइन, कालापानी विवादलाई स्थानीयकरण गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय जनता पार्टीका शेखरकुमार सिंहले तराई क्षेत्रमा बस्ने नेपाली नेपालको सीमा रक्षाका लागि अग्रपङ्क्तिमा लड्ने सिपाही भएको जनाउँदै सबै नेपालीको विश्वास लिएर सीमा समस्या समाधानका लागि सरकार अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । “राष्ट्रिय मुद्दामा प्रधानमन्त्रीले सबै दलको विश्वास लिनुभएको छ”, उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले आफ्नै कार्यकालमा अतिक्रमित भूमि फिर्ता ल्याएर सफलता हासिल गर्नुहुन्छ ।”

उहाँले मधेशी जनतामाथि अविश्वास नगर्न आग्रह गर्दै राष्ट्रियताका पक्षमा सरकारलाई तिनको दह्रो साथ र सहयोग रहने बताउनुभयो । समाजवादी पार्टीकी प्रमिला कुमारीले अतिक्रमित भूमि समेटेर नयाँ नक्शा जारी गरेकामा सरकारको समर्थन गर्दै कूटनीतिक संवाद गरेर भूमि फिर्ता ल्याउन सुझाव दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो