२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवस मनाइँदै

२०७७, २ आश्विन शुक्रबार ०४:२५

असोज २, काठमाडौँ | प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल हुनुभएको थियो । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गर्नुभएको आग्रहमा उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गर्नुभएको थियो ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो । काठमाडौँको खानदानी परिवारमा जन्मनुभएका गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनुभएको थियो । 

राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उहाँलगायतलाई तत्कालीन सरकारले जेल हाल्यो । विसं २००७ अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल हुनुभएका जोसिला तन्नेरी गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय हुनुभएको थियो । जेलबाट भागेर भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गर्नुभयो । केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन पनि गणेशमानको उल्लेखनीय भूमिका छ ।

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उहाँले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गर्नुभयो । देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बिपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा रहनुभयो । नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशील हुनुभयो । 

विसं २०१५ सालमा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री हुनुभएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल गृहमा कारावास जीवन बिताउनुभयो । विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गर्नुभयो । विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरूद्ध सक्रिय रहनुभयो ।

तत्कालीन पञ्चायती सरकारले बिपीसँगै मृत्युदण्डको माग गरिएका आठवटा मुद्दामा विशेष अदालतबाट सफाइ पाउनुभयो । गणेशमानले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । बिपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलनको नेतृत्व गर्नुभयो । विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको महत्वपूर्ण योगदान २०४६ सालमा रह्यो । जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर भई सबैको प्रिय बन्नुभएको हो ।

नेता सिंहको २३ औँ स्मृति दिवसका अवसरमा आज कांग्रेस केन्द्रीय सूचना तथा सञ्चार विभाग, बिपी कोइराला युवा नेतृत्व विकास मञ्चलगायत पार्टी र यसका भ्रातृ एवं शुभेच्छुक सङ्घ संस्थाले विविध कार्यक्रम गरी देशभर मनाउँदै छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण प्राय सबैजसो कार्यक्रम जुम प्रविधिबाट गर्ने तयारी भएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु