सुदूरपश्चिम प्रदेश: प्रदेशसभा सदस्यमा अधिकांश नयाँ अनुहार

Posted on: 29 Nov, 2022

मङ्सिर १३, सुदूरपश्चिम | मङ्सिर ४ मा सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फ सुदूरपश्चिम प्रदेशसभाका निवर्तमान दुई सदस्य प्रतिनिधिसभामा र चार सदस्य प्रदेशसभा सदस्यमा पुनःनिर्वाचित हुनुभएको छ । प्रदेशसभाका निवर्तमान चार सदस्य भने यसपटकको चुनावमा पराजित हुनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार विसं २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित कांग्रेसका नेता डिल्लीराज पन्त यही मङ्सिर ४ मा सम्पन्न चुनावमा प्रदेशको राजधानीसमेत रहेको कैलाली निर्वाचन क्षेत्र–५ बाट प्रतिनिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री नारदमुनी राना थारू हुनुहुन्थ्यो । विजयी पन्त यसअघिको निर्वाचनमा कैलाली–५ को (१)मा प्रत्यक्ष निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

एमालेबाट यसअघिको निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित तारालामा तामाङ यसपटकको निर्वाचनमा कञ्चनपुर–१ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का बिना मगर हुनुहुन्थ्यो । तामाङ पार्टी विभाजनका बेला एमालेबाट नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेर निर्वाचनअघि पुनः एमालेमै फर्किनुभएको थियो । यसअघिको निर्वाचनमा तामाङ कञ्चनपुर–१ को प्रदेशसभामा निर्वाचित हुनुभएको थियो ।

एकीकृत समाजवादीका नेता एवं प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी पनि दोस्रोपटक कैलाली–४ को प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभयो । सोडारी पाटी विभाजनका बेला एकीकृत समाजवादीमा प्रवेश गरेर समाजवादी संसदीय दलको नेता हुनुभएको थियो । 

सोही पार्टीका नेता एवं आर्थिक मामिलामन्त्री प्रकाश रावल पनि दोस्रोपटक प्रदेशसभामा निर्वाचित हुनुभयो । एमाले पार्टी विभाजनका बेला एकीकृत समाजवादीमा प्रवेश गर्नुभएका उहाँ कञ्चनपुर–३ को प्रदेशसभा सदस्यमा दोस्रोपटक निर्वाचित हुनुभएको हो । निवर्तमान प्रदेशसभा सदस्य एवं एकीकृत समाजवादीका नेता लालबहादुर खड्का, कञ्चनपुर र अमरबहादुर साउद कैलालीबाट यसपटक पराजित हुनुभयो ।

प्रदेशका उद्योग पर्यटन वन वतावरणमन्त्री एवं माओवादी केन्द्रका नेता मानबहादुर धामी दार्चुला जिल्लाको प्रदेशसभा सदस्यमा र सोही पार्टीका निवर्तमान प्रदेशसभा सदस्य अक्कलबहादुर रावल अछामको प्रदेशसभा सदस्यमा दोस्रोपटक निर्वाचित हुँदा सोही पार्टीका निवर्तमान प्रदेशसभा सदस्य नन्दबहादुर साउदले कैलालीबाट पराजय व्यहोर्नुभयो । 

 प्रदेशसभाका निर्वतमान सदस्य एमालेका पठानसिंह बोहोरा डडेलधुरा, लीलाधर भट्ट बैतडी, नेपालु चौधरी कैलाली यसपटकको निर्वाचनमा पराजित हुनुभयो । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य एवं प्रदेश सरकार आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावल, कांग्रेस नेता एवं सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा पराजित हुनुभयो ।

यसअघिको निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित तराई मधेस लोकतान्त्रिक पार्टीका कृष्णबहादुर चौधरी यो पटकको चुनावमा कैलाली– १ को प्रदेशसभा सदस्यमा पराजित हुनुभयो । यस्तै यसअघिको निर्वाचनमा एमालेबाट कैलाली–२ को प्रदेशसभा निर्वाचित रतनबहादुर थापा यो चुनावमा पराजित हुनुभयो । एमाले परित्याग गरेर थापाले नागरिक उन्मुक्ति पार्टीबाट चुनावी प्रतिस्पर्धा गर्नुभएको थियो । 

प्रत्यक्ष निर्वाचनतर्फको बाजुरा जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको नतिजा आउन भने बाँकी छ । सुदूरपश्चिम प्रदेशसभाका ३२ निर्वाचन क्षेत्रमध्ये ३० क्षेत्रको प्रत्यक्ष निर्वाचनतर्फको नतिजा आइसकेको छ ।

प्रदेशसभा सदस्यका नयाँ अनुहार:-

सुदूरपश्चिम प्रदेशसभामा यो पटक  नयाँ अनुहार निर्वाचित हुनुभएको छ । कांग्रेसबाट प्रदेशसभाको प्रत्यक्षमा निर्वाचित कैलालीका प्रकाशबहादुर देउवा, प्रकाश बम र कमलबहादुर शाह, कञ्चनपुरबाट दिवानसिंह बिष्ट, बहादुरसिंह थापा र बेलबहादुर रानामगर, अछामबाट मेघराज खड्का र मानबहादुर रावल, बझाङबाट पृथ्वीबहादुर सिंह, बैतडीबाट शिवराज भट्ट, दार्चुलाबाट बिक्रमसिंह धामीसहित ११ नयाँ हुनुहुन्छ ।

यस्तै प्रदेशसभा सदस्यमा निर्वाचित माओवादी केन्द्रका रमेश धामी कैलाली, खगराज भट्ट डडेलधुरा, शिवसिंह ओली डोटी, ओमविक्रम भाट कञ्चनपुर, भीम भण्डारी बझाङ र झपटबहादुर साउद अछाम नयाँ हुनुहुन्छ । सो पार्टीका प्रदेशसभामा आठ जना निर्वाचित हुनुभएको छ ।  

नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा कैलालीबाट निर्वाचित रामेश्वर चौधरी, कैलाश चौधरी, लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी र खुशीराम चौधरीसहित पाँच सबै नयाँ अनुहार हुन् । एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुने वीरबहादुर थापा कञ्चनपुर, सुरेन्द्र पाल बैतडी र चक्र मल्ल डोटी नयाँ हुनुहुन्छ ।

स्वतन्त्र उम्मेदवारी दिएर प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएका डा तारा जोशी डडेलधुरा पनि नयाँ हुनुहुन्छ । प्रदेशसभामा ५३ सदस्य रहेका छन् । प्रत्यक्षतर्फको बाजुराको दुई नतिजा र समानुपातिकको २१ सदस्यको नतिजा आउन बाँकी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!