वैदेशिक रोजगार विभाग, बोर्ड र नेपाल व्यवसायी संघ कतारबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर

Posted on: 02 Dec, 2022

मङ्सिर १६, काठमाडौँ | वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको सचिवालय र नेपाल व्यवसायी संघ कतारबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । श्रम स्वीकृति लिई कतार गएका र व्यवसायी संघ कतार शाखासँग आबद्ध रहेका नेपाली व्यवसायीहरु र प्रवासी नेपाली कामदारहरुको राहत, उद्दार, स्वदेश फिर्ता तथा पुर्नएकीकरणका लागि सहकार्य गर्ने उदेश्यले पत्रमा हस्ताक्षर गरिएको हो । 


सझदारी पत्रमा वैदेशिक रोजगार विभागका तर्फबाट महानिर्देशक उमाकान्त आयार्च, बोर्डको तर्फबाट निर्देशक मैया कडेल र नेपाल व्यवसायी संघ कतारका तर्फबाट संघका अध्यक्ष महेन्द्र चौलागाईले हस्ताक्षर गर्नु भएको छ । 

समझदारी पत्रमा नेपाल सरकारले वैदेशिक रोजगार व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सहयोग पुग्ने विश्वास लिएको छ । त्यस्तै नेपालबाट श्रम स्वीकृति लिई गएका र कतारमा प्रवासी व्यवसायीका रुपमा रहेका नेपालीहरुको आवतजावतका केही असहज प्रकृया अन्त्य गरी विभागबाट परिचय पत्र प्रदान गर्ने र नेपाली कामदारहरुको उद्दार, राहत, स्वदेश फिर्ती तथा पुर्नएकीकरणका लागि तीनै पक्षले सहकार्य गर्ने कुरा हस्ताक्षर गरिएको पत्रमा उल्लेख गरिएको छ । 


साथै त्रिपक्ष सम्झौताले वैदेशिक रोजगारमा जाने कामदारको हकहितको संरक्षण, सुरक्षित वैदेशिक रोजगार सम्बन्धी आधिकारिक सूचना संप्रेषण, श्रम स्वीकृति उपलब्ध गराउने, कामदारलाई गन्तव्य मुलुकमा समस्या परेमा उद्दार गर्ने, राहत प्रदान गर्ने र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको पुनएकीकरण सम्बन्धि नेपाल सरकारको कार्यलाई सहयोग मिल्ने अपेक्षा सरकारले लिएको छ ।   


हस्ताक्षर गरेको सम्झौता पत्रको समय २ वर्षको हुने छ । साथै तिनै पक्षको सहमतिका आधारमा समय सीमा थप गर्न सकिने कुरा पनि पत्रमा उल्लेख गरिएको छ । त्यस्तै सम्झौता पत्रमा उल्लेख गरिएका कुरालाई समय अनुसार संशोधन वा परिमार्जन गर्नु परेमा तिनै पक्षको समझदारीको आधारमा अगाडी बढाउने सहमति भएको छ । 

 पत्रमा तिनै पक्षले आ आफ्नो क्षेत्रबाट गर्नुपर्ने कामलाई स्पष्ट उल्लेख गरिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!