पुस १०, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको सत्ता गठबन्धनलाई कायमै राख्नुपर्ने बताएका छन् ।
सत्तामा नयाँ र अनुभवीको संयोजन हुनुपर्ने भन्दै उनले यही गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पनि समेट्नुपर्ने धारणा राखेका छन् ।
उनले ट्वीट गरेर आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले एक्लो बहुमत कुनै पनि दलसँग नभएको र गठबन्धन गरेर पनि सामान्य बहुमत नपाएको स्थितिमा लचकता, सहकार्य र विश्वासका आधारमा अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
कांग्रेस र माओवादी केन्द्रले २/२ वर्ष तथा एकीकृत समाजवादीले एक वर्ष सरकारको नेतृत्व गरेर जानुमै परिपक्कता हुने भन्दै उनले त्यसलाई कार्यान्वयनमा पारदर्शिता र एकता जरुरी रहेको बताएका छन् ।