कांग्रेसँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्छौंः वर्षमान

Posted on: 27 Jan, 2024

माघ १३, रोल्पा | नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामपछि काँग्रेससँगको गठबन्धनबारे आफूहरुले गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन् । 

गृह जिल्ला रोल्पामा माओवादी जनप्रतिनिधि र जिल्लास्तरीय नेताहरुलाई प्रशिक्षण दिँदै पुनले काँग्रेसले आफूहरुको विश्वास गुमाएको टिप्पणी गरे । हरेकपटकका निर्वाचनमा आफूहरुले काँग्रेसलाई इमान्दारीतापूवर्क मत दिने तर काँग्रेसबाट धोका खाने क्रम दोहोरिँदै आएको उनको भनाइ थियो ।

‘कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामले राष्ट्रिय राजनीतिमा नयाँ मोड आएको छ । काग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्थामा हामी पुगेका छौं’, पुनले भने, ‘कांग्रेससँगको गठबन्धनले राजनीतिक रुपमा हामीलाई घाटा या नाफा के छ ? हामी हरेक चुनावमा इमान्दार कांग्रेसलाई मत दिइ राख्ने अनि कांग्रेसले हाम्रा उम्मेदवार हराइराख्ने कहिलेसम्म चल्छ ?’ । यसअघि विभिन्न प्रकरणमा कांग्रेस नेतृत्वले पार्टी भित्रको गुटबन्दी र शक्ति संघर्षलाई कारण देखाउने गरेको भन्दै पुनले यो पटक त्यत्तिले मात्र नपुग्ने बताए । पुनले दुई वर्षअघि पनि कोशीबाट राष्ट्रियसभामा जसपा उम्मेदवारलाई कांग्रेसले भोट नदिएर बेइमानी गरेको स्मरण गरे ।

यस्तै शीर्ष नेतृत्व तहमा भएको समझदारी विपरीत एमालेसँगको गठजोडमा केदार कार्कीलाई कोशीको मुख्यमन्त्री बनाएर पनि कांग्रेसले धोका दिएको पुनले बताए । ‘दुई वर्षअघि पनि जसपाको राष्ट्रियसभामा उम्मेदवारलाई हराउने काम कांग्रेसबाट कोशीमै भयो । केदार कार्कीलाई  मुख्यमन्त्री बनायँदा पनि त्यही प्रवृत्ति देखियो’, पुनले भने, ‘कांग्रेसले एकपछि अर्को गर्दै घात गर्ने र हामीभित्र समस्या छ भनेर माफी पाउने अवस्था रहँदैन । पुनले आफूभित्रको अराजकता र अराजनीतिक प्रवृत्तिको समीक्षा गर्न काँग्रेस नेतृत्वसँग माग पनि गरे । यस्तै काँग्रसबाट कोशीमा भएको धोकाबारे सत्ता गठबन्धनको बैठकमा छलफल हुने पनि उनले बताए । 

बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनले काँग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र माओवादीकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएको थियो । सिटौला विजयी भए पनि कार्की भने एमालेकी रुक्मिणी कोइरालासँग पराजित भइन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!