असोज ६, काठमाडौं । गोरखाको मनास्लु पदयात्रामा गएका पर्यटकलाई पहिरोले पुर्दा एक विदेशीसहित चार जनाको मृत्यु भएको छ । पहिरोमा परि ६ जना घाइते भएका छन् ।
मनासलु पदमार्ग पर्ने गोरखाको केरौंजा गाविस ९ दोभानमा बिहान ८ बजेतिर झरेको पहिरोमा परि एकजना स्पेनिस नागरिक सहित ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख, एसपी जनकराज पाण्डेले जानकारी दिए ।
पहिरोमा पुरिएर गाइड काठमाडौँ गोकर्ण बस्ने ३५ वर्षका दोर्जे लामा र सोही स्थानका ३० वर्षका छिरी शेर्षा र क्यान नेपालकी प्रतिनिधि ओखलढुंगाकी रञ्जना बस्नेतको मृत्यु भएको एसपी जनकराज पाण्डेले जानकारी दिए ।
पहिरोमा पुरिएर मृत्यु हुने एक स्पेनिश नागरिक भएको बताइएको भए पनि उनको सनाखत हुन सकेको छैन । पहिरोमा परि घाइते भएका ६ जनाको उद्दार गरी फिस्टेल एयरको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको एसपी पाण्डेले जानकारी दिए । घाइते हुने मध्ये चार विदेशी र दुई नेपाली रहेका छन् ।
जगत र माछाखोला प्रहरी चौकीका प्रहरी र स्थानीयवासिन्दाले पहिरोमा पुरिएका पैदलयात्रीको उद्धार कार्य जारी राहेको एसपी पाण्डेले जानकारी दिए ।