गोपालप्रसाद पोखरेल/कात्तिक ४, मोरङ । मानसिक सन्तुलन गुमाएका मोरङ मधुमल्ला–१ का ४८ वर्षीय तिलकबहादुर कार्कीलाई विगत चार वर्षदेखि साङ्लोमा बाँधेर राखिएको छ ।
उनका ७८ वर्षीय बाबु दलबहादुर कार्कीका अनुसार उपचार गर्न आर्थिक अभाव भएपछि सुरक्षाको कारणले साङ्लोमा बाँधेर राखिएको हो । बाबु दलबहादुरले भने, ‘हराउने डरले साङ्लोमा बाँधेर राखेका हौं ।’
दलबहादुरलाई बूढेसकालमा छोरो साहारा बन्ला भन्ने आशा थियो। तर, छोरोलाई नै साङ्लोमा बाँधेर हेरचाह गर्नुपर्ने भएको दुखेसो उनी सुनाउँछन् । उनका अनुसार आर्थिक अवस्थाले भ्याएसम्म उपचार गरेको तर आर्थिक अभावले उपचारका लागि ठूलो अस्पताल नलगिएको हो । उनीहरूको सम्पत्तिको नाममा एउटा पुरानो घर र एक धुर जग्गा छ । दलबहादुर भन्छन्, ‘बेचौँ कहाँ बस्ने ?’
छोराको उपचारमा ठूला अस्पतालले सहयोग गरिदिने हो भने छोराको होस फर्किने आशा उनीमा जीवितै छ । तर, ७८ वर्षे यी बाबुलाई हस्पिटलसम्म लाने र कहाँ कसरी बोल्ने हेक्का छैन । त्यसैले, उनी छोरो रोइकराइ गरेर पागलपनमा चिच्याएको, कराएको, हाँसेको पुर्पुरोमा हात राखेर हेर्न बाध्य छन् । उनी भन्छन्, ‘मेरी श्रीमती पनि हालसालै खसिन्, काजकिरिया केही दिनअघि मात्र सकिएको हो ।’
श्रीमती हुँदा केही सजिलो थियो अहिले धेरै समस्या भयो। के गर्ने, कसो गर्ने? आफ्नो देहान्त भैहाले छोरोलाई कसले हेर्ने? दलबहादुरलाई निक्कै पीर छ । दलबहादुर कार्की स्वयम् बिरामी छन् । उनका शरीरमा बुढ्यौलीले छोप्दै जाँदा पहिलेजस्तो बल छैन् ।
आफैँ अरूको सहारामा रुमलिने अवस्थामा छन् । तर उनी भन्छन्, ‘सकिनसकि छोराको स्याहार गर्दैछु।’ आफ्नो छोरोको उपचार भए छोरोले आफैँ गरिखाने आशाको त्यान्द्रो बाबुले मनमा संगालेका छन् ।
कसले सहयोग गरिदिने ? महत्वपूर्ण प्रश्न बनेको छ जुन कुराले उनलाई मुटुमाथि ढुङ्गा राखी जीउन बाध्य बनाएको छ । रासस