पढ्न करिब 3 मिनेट लाग्छ

कात्तिक २९, गोरखा । पुरातत्व विभागले गोरखा सदरमुकामको तल्लो दरबार र माथिल्लो दरबार क्षेत्रमा लगाउँदै आएको बन्देज फुकुवा गरेको छ ।

दरबार क्षेत्रको २०० गज जग्गा क्षेत्र वरपर स्थानीयवासीलाई नक्सा पास गरी घर बनाउन र बनेका घर बैंकमा धितो राखेर ऋण झिक्न नपाइने बन्देज थियो ।

विसं २०७३ कात्तिक २२ गते नेपाल राजपत्रमा सूचना प्रकाशित भई दरबार क्षेत्र वरपर नक्सा पास गरी घर बनाउन पाइने निर्णय भएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिनुभयो । ‘खण्ड ३९ सङ्ख्या ६ मिति २०४६ जेठ ९ को नेपाल राजपत्र भाग ३ मा प्रकाशित गोरखा दरबार क्षेत्रको चारकिल्ला घोषित गरेकोसम्बन्धी सूचना खारेज गरिएको छ’, राजपत्रमा उल्लेख छ ।

ठूलो आँगन, पदेँलीलगायत क्षेत्रका स्थानीयवासीले विगत २७ वर्षदेखि मापदण्डमा टेकेर नयाँ घर बनाउन पाएका थिएनन् । दुःखजेलो गरी बनाएका घर पनि बैंकमा धितो राखी ऋण लिन नपाउँदा स्थानीयवासी हैरान थिए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचना प्रकाशित गरी दरबार क्षेत्रको बन्देज फुकुवा गरेको हो ।

प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा ३ को उपदफा ४ ले दिएको अधिकार प्रयोग गरी प्राचीन स्मारक गोरखा दरबारको सुरक्षा एवम् ऐतिहासिक, पुरातात्विक वातावरणको संरक्षणका लागि चार किल्लासमेत तोकिएको थियो । तल्लो दरबार (हाल सङ्ग्रहालय)को पूर्व दरबारमार्ग, पश्चिम टुँडीखेल जेलघरको अन्तिम सिमाना पदेँलीधारा, दक्षिण बसपार्क हुँदै कम्पाउन्ड पर्खाल र उत्तरतर्फ दरबारको कम्पाउन्ड पर्खाल रानीपोखरीको डिल हुँदै टुँडिखेलसम्म निर्धारण गरिएको थियो ।

यस्तै माथिल्लो दरबार (गोरखा दरबार, गोरखनाथ गुफा, कालिका मन्दिर) पूर्व पीपलथोक थाकलडाँडा हुँदै पन्थेस्वाँरा, पश्चिम तल्लोकोटको कम्पाउन्ड, दक्षिण फूलपाती लैजाने बाटो हुँदै रामशाह चौतारोको कम्पाउन्ड हुँदै वरम्जाकोट गाउँबाट हात्तीसार पधेँराबाट पुजारी गाउँमाथिबाट तल्लो ढाँड हुँदै रानीवनको सरस्वती थान थाकलडाँडा र उत्तरतर्फ तीनधारे चारधारे पीपलथोक जर्नेली धारा, पाटीकुटी रिप हुँदै तल्लोकोटको सिमाना पदेलथोकसम्म निर्धारण थियो । यी सिमानाभित्रको बन्देज खारेज गरिएको बताइएको छ ।

पुरातत्व विभागका महानिर्देशक दाहालका अनुसार बन्देज फुकुवा गरिएका क्षेत्रमा विभागले तोकेको मापदण्डअनुसार घर निर्माण गरे पर्यटकीय केन्द्रका रुपमा विकास गर्न सकिनेछ । मौलिक प्रकारका घर बनाउन पुरातत्वले स्थानीयवासीलाई आग्रह गरेको छ ।

पुरातत्व विभागका उपसचिव दामोदर गौतमले विश्व सम्पदा सूचीमा सूचीकृतका लागि सम्भाव्य तोकिएका क्षेत्रमा गोरखा दरबार, तल्लो दरबार परेको भन्दै मौलिकता, वास्तुकला झल्कने घर निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।

गोरखा नगरपालिकाका कार्यकारी अधिकृत जीवन आलेमगरले पुरातत्वबाट दरबार क्षेत्रको बन्देज फुकुवा गरेको निर्णय प्राप्त भएकाले स्थानीयवासीले नक्सा पास गरी मापदण्डमा टेकेर नयाँ घर बनाउन सक्ने बताउनुभयो । बन्देज फुकुवा भएपछि विकासका पूर्वाधार खडा गर्न सहज हुने स्थानीयवासीले विश्वास गरेका छन् । दरबार क्षेत्र वरपरमा एक हजार ५०० घर नक्सापास बिनै बनेका छन् । रासस