प्रशन्न पोखरेल, मंसिर २८, गोरखा । गोरखाको मसेल गाविस–९ घ्याम्पेशालमा दिनहुँजसो सबेरै सारङ्गीको धूनसँगै गीत सुन्न पाइन्छ । गाउँलेका घर, आँगन पुगेर सारङ्गीको धूनसँगै गीत गाएर सुनाउने ती व्यक्ति हुन्, ७१ वर्षिय लालबहादुर गन्धर्व । धर्मराज थापाले गाएको ‘हाम्रो तेनजिङ शेर्पाले चढ्यो हिमाल चुचुरा’ बोलको गीत प्रायः उनले गाएर सुनाउँछन् ।
नौ वर्षको हुँदा सारङ्गी बजाउने सीप जानेका लालबहादुरले वृद्ध भइसके पनि यो कामलाई निरन्तरता दिइरहेका छन् । सारङ्गी रेटेरै नौ सन्तान, आफू र श्रीमतीको लालनपालन गर्नु कम्ती चुनौतीपूर्ण थिएन । लालबहादुरले हिम्मत हारेनन् । सन्तान हुर्काएर शिक्षादीक्षा दिए । अहिले छोराहरु विभिन्न पेसामा संलग्न छन्, तैपनि लालबहादुर सारङ्गी बोक्छन् र गीत गाउँछन् ।
उनले गीतमार्फत् समाचार, सूचना जनमानसमा पु¥याउन सहयोगी भूमिका निर्वाह पनि गरेका छन् । उनले रचना गरेको ‘किन दियो अल्छीको जन्म’ बोलको गीत रहेपनि रेकर्ड भएको छैन । नेपाली सेना, रेडियो नेपाललगायत विभिन्न ठाउँमा जागिरे अनुभव बटुलेका उनले भने, ‘सारङ्गी भिर्दै गीत गाउँदैमा जिन्दगीले नेटो काट्ने भो ।’
हातगोडा चलुञ्जेल सारङ्गी रेटेरै गीत गाउने धोको उनको छ । उनका जेठो छोरा एकबहादुर सारङ्गी बनाएर बिक्री गर्छन् । माइलो बलबहादुर कृषि पेसामा आबद्ध छन् भने साइला नेत्र बहादुरको निधन भइसक्यो । काइँला छोरा धु्रव गैससका जागिरे हुन् । अन्तरे छोरो सुब्बा व्यापार व्यवसाय गर्छन् भने जन्तरे छोरा बाबुराम सरकारी जागिरे हुन् । पानीमन्तरे छोरो कमल बस चालक छन् ।
ठूलोकान्छा छोरा ठाकुर सरकारी विद्यालयमा पढाउँछन् । कान्छो छोरा उदय नेपाली सेनामा जागिरे भएको लालबहादुरकी श्रीमती गाजली गन्धर्वले जानकारी दिइन् । बिसं २०२२ मा रेडियो नेपालमा जागिरे हुँदा गन्धर्वले मासिक तीन सय रुपैयाँ पारिश्रमिक पाउँथे । तारन दल गुल्ममा जागिरे भएपनि उनले लामो समय जागिरलाई निरन्तरता दिएनन् । ‘दसैं, तिहारमा गाउँ डुल्दा एकै दिनमा पाँच/छ हजार रुपैयाँ पनि कमाएँ’ – लालबहादुरले भने ।
सारङ्गी रेटेर कमाएको पैसाले छोराहरु पढाउने, बिहान बेलुकी हातमुख जोर्ने कामका अलावा गन्धर्वले घ्याम्पेशालमा घरघडेरी पनि जोडेका छन् । ‘आजभोलि कमाइ हुनै छाडेको छ,’ उनले भने – ‘बुढ्यौलीले छोएछ क्यारे भनेजस्तो स्वर आउँदैन, लामा गीत गाउन सक्ँिदन ।’ अहिले दिनहुँ रु चार÷पाँच सय कमाइ हुने उनले बताए । उनका ११ नाति र ९ नातिनी छन् ।
उनले १७ वर्षको उमेरमा गाजलीसँग बिहे गरेका थिए । सारङ्गी रेटेर कमाएको पैसाले घर, व्यबहार चलाउन धौ–धौ परेपनि छोराछोरी हुर्काएर पढाउन सकेकामा गन्धर्व परिवार खुसी छन् । ‘भूकम्पले भत्काएको घर बनाउनुपर्नेछ,’ उनले भने – ‘सङ्घर्ष गर्दैमा जीवन बित्ने रहेछ ।’