लेखक पबन मदुश्रीको पुस्तक “नमुना विकास र राजनीति” लोकार्पण

Posted on: 25 Dec, 2016

कमल रावल |  पुस १०, काठमाण्डौ | जिल्ला विकास समिति अछामका बरिष्ठ सूचना अधिकृत पदम बहादुर माझी (पबन मदुश्री) को पुस्तक “नमुना विकास र राजनीति” को एक समारोहका वीच लोकार्पण गरिएको छ । 

एआइए स्कुल शंखमूल काठमाण्डौका प्रबन्ध निर्देशक विमल घिमिरेको अध्यक्षता भएको समारोहमा पूर्व उपप्रधानमन्त्री तथा एमाले केन्द्रीय उपाध्यक्ष भीम रावल र बरिष्ठ साहित्यकार पूर्व शिक्षा मन्त्री डा. मोदानथ प्रश्रितले पुस्तकको लोकार्पण गर्नु भएको हो । लोकार्पण पछि कार्यक्रममा बोल्दै पूर्व उपप्रधान तथा रक्षा मन्त्री भीम रावलले पुस्तकले समग्र देशको विकासको लागि महत्वपूर्ण बिषय उठान गरेको बताउनु भयो । सुदूरपश्चिमबाट एक होनहार प्रतिभाको उदय भएको भन्दै उहाँले राष्ट्रियता र संघीयताका बिषयमा पुस्तकले सबैले बुझ्ने गरी बिषयवस्तुको उठान गरिएको बताउनु भयो । 

कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै बरिष्ठ साहित्यकार डा. मोदनाथ प्रश्रितले वर्तमान राजनीति व्यवस्था असफल भएको भन्दै अब सबै गम्भिर भएर देश विकास र विगतका कमीकमजोरी सच्याएर अघि बढ्नुपर्ने कुरा पुस्तकले औल्याएको बताउनु भयो । स्थानीय तहको पुनः संरचना गर्दा जनसंख्यालाई आधार मान्ने कुरा बिश्वको कुनैपनि देशको प्रयोगमा नभएको भन्दै यसले विकासका वस्तुगत मूल्य र मान्यतालाई समेट्न नसक्ने लेखकको भनाई छ । 

साहित्यकार मोदनाथ प्रश्रितकै प्रेरणाले पुस्तक प्रकाशन गरेको भन्दै उहाँले आफु जिल्ला विकास समितिको एक अधिकृत तहको कर्मचारीबाट पदम बहादुर माझीबाट पबन मदुश्री हुनपरेको अवस्थाका बारेमा समेत प्रकाश पार्नुभयो । कार्यक्रममा अछाम क्षेत्र नम्बर २ सांसद भरत साउद, पूर्व सांसद रामबहादुर विष्ट, अक्कलबहादुर विष्ट, प्राध्यापक डाक्टर प्रेम कुँवर, एमाले केन्द्रिय सदस्य ठाकुर गैरे लगाएतका अथिती रहनु भएको थियो ।  

कार्यक्रमको संञ्चालन युवा विद्यार्थी नेता भीमबहादुर रावल कालो टोपीले गर्नु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!