प्रभात सुवेदी | जब–जब राष्ट्रिय परीक्षाहरु आउँदछन्, परीक्षाका कार्यक्रमहरु सार्वजनिक हुन्छन्, लाखौँ विद्यार्थीहरु आफ्नो जीवनका सुन्दर सपनाहरु साकार पार्नका लागि अहोरात्र खटिएर लागिरहेका हुन्छन् तब–तब देशमा अनिश्चित राजनैतिक परिस्थितिले उब्जाएका घटनाक्रमहरुको पुनरावृत्ती हुने गर्दछ । यसपालीका कक्षा १० को अन्तिम परीक्षा (एसईई), कक्षा ११ र १२ को परीक्षाका कार्यक्रमहरु सार्वजनिक भएर आम विद्यार्थीहरु तयारीमा जुटिरहेको अवस्था छ । यसै परीवेशमा २०७४ बैशाख ३१ गते गरिने भनिएको स्थानीय निकायको निर्वाचनको कार्यक्रमका कारण कक्षा ११ को समय तालिकामा भने फेरबदल भैसकेको अवस्था छ । जुन परीक्षा आगामी ०७४ असार १ गतेदेखि सञ्चालन गर्ने भनी राष्ट्रिय परीक्षा बोर्डले नयाँ तालीका सार्वजनिक गरेको छ ।
यसैगरी कक्षा १० को अन्तिम परीक्षा मानिएको राष्ट्रिय स्तरको परीक्षा पनि यही चैत्र ३ गतेदेखि सञ्चालन गरिने भएको छ । जस अनुरुप परीक्षाका लागि सम्पूर्ण कार्यक्रमहरुको तयारी पूरा भैरहँदा देशका विभिन्न स्थानहरुमा भएका राजनैतिक घटनाक्रमहरुले विद्यार्थीहरुको मन र मस्तिष्कमा सोझो प्रभाव परेको देखिन्छ । एकातिर यस प्रकारका घटनाक्रहरुले स्थानीय निकायको निर्वाचन नै के हुने हो भन्ने अन्यौलतामा वृद्धि भैरहेको छ भने अर्कातिर विभिन्न तहका राष्ट्रिय परीक्षाका तयारीमा जुटिरहेका विद्यार्थीहरुको मनस्थितिलाई नकारात्मक रुपमा असर पारिरहेको छ । यस प्रकारका घटनाक्रमहरुका कारण परीक्षार्थीले परीक्षा हलमा ढुक्कसँग बसेर लेख्ने वातावरण बन्ने हो या हैन त्यो भने अन्यौलका विषय बनेको छ ।
यस्ता अनेकन परिवेश र परिस्थितिले खल्बल्याएको नेपालको शिक्षा प्रणालीमा भर्खर फेरि त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसहरुमा भएका स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनका कारणले गर्दा पनि कक्षा ११ र १२ सञ्चालन गरिएका क्याम्पसहरुमा नकारात्मक प्रभाव पारेको देखिन्छ । नेतृत्वका लागि अस्वस्थ प्रतिस्पर्धा हुनुु हुँदैन । नेतृत्व लिन सक्ने क्षमता विद्यार्थीहरुमा हुनु आवश्यक छ । त्यो नेतृत्व अमुक दलका भातृ संगठनहरुले जिते भन्नु भन्दा पनि समग्र शिक्षा प्रणालीमा भएका विकृति विसङ्गतिहरुको अन्तका लागि सबल र सक्षम हुनु पर्दछ भन्ने हो । तर, विडम्बना के भने केही क्याम्पसहरुमा भएको निर्वाचनमा विजयी भएका विद्यार्थीहरुले आफ्ना अबीरजात्राका तस्वीरहरु विभिन्न सामाजिक सञ्जालहरमा पोस्ट गर्र्दै हामीलाई जिताउन सहयोग गर्नुहुने सम्पूर्ण हाम्रा नेताज्यूहरुलाई धन्यवाद भनी खुलेरै धन्यवा दिएको पाइयो । यसको अर्थ के हो भने क्याम्पसमा पनि नेतृत्वमुखी राजनीति हैन कि, पार्टीगत राजनीतिकै हावी रहेछ भन्ने कुरा प्रष्ट हुन्छ । विद्यार्थीहरुमा राजनैतिक चेतना र नेतृत्वको जरुरी त पर्दछ तर त्यो चेतना र नेतृत्वले आम विद्यार्थीहरुलाई नै भविष्यको मार्ग दर्शन गर्नका लगि उत्प्रेरित गर्नु पर्दछ । र, त्यसरी प्राप्त नेतृत्व क्रोनिक समस्या बनेर रहनु भने हुँदैन ।
संघीयताको मुद्दा उठिरहेको छ । तराईमा यसकै निहुँमा आगो बलिरहेकै छ । हत्याका श्रृङ्खलाहरु अविराम चलिरहेकै छन् । अब यस्तो परिस्थितिमा राज्यले सञ्चालन गर्न लागेका विभिन्न तहका अन्तिम परीक्षाहरु भने कसरी सञ्चालन गरिने हो र ती परीक्षाहरुलाई कसरी व्यवस्थित बनाउने हो भन्ने कुरा सबैको चिन्ता र चासोको विषय बनेको छ । गत वर्षदेखि शुरु गरिएको ग्रेडिङ प्रणाली अनुरुपको एसएलसी परीक्षाले यस वर्ष भने अलिकति रुप परिवर्तन गरेर आएको छ । जसलाई पहिले एसईसी नामाकरण गरेर फेरि पछि एसईई नामाकरण गरिएको छ । एसईई अर्थात सेकेण्डरी एजुकेशन इक्जामिनेसन नाम दिएर यस वर्षदेखि सञ्चालन गरिने परीक्षामा सहभागी हुने विद्यार्थीहरुको मन र मस्तिष्क यस्ता घटना तथा परिवेशले के–कस्ता प्रभाव पर्ने हो भन्ने कुरा भविष्यले नै देखाउला तर राजनीतिकर्मी नेतागणहरुले यसरी विभिन्न तहका परीक्षाहरुमा सहभागी हुने सबै विद्यार्थीहरु हाम्रा आफ्नै सन्ततीहरु हुन् भनेर सोचिदिने हो र यो मुलुकको अग्रगामी परिवर्तनको चिन्ता र चासोमा विशुद्ध मन, वचन र कर्मले काम गरिदिने हो भने आज यस प्रकारका घटनाहरुको पुनरावृत्ति हुने थिएन ।
जे जसो भएपनि विद्यार्थीको काम भनेको विद्या आर्जन गर्ने नै हो । यसका साथसाथै आफूले लिएको ज्ञानलाई कसी लगाएर शैक्षिक योग्यता कायम गर्ने कार्यमा भने कत्ति पनि कञ्जुस्याईँ हुनु हुँदैन । परिस्थिति जे सुकै होस् जस्तो सुकै होस् विद्यार्थीहरु जुन सुकै समयमा पनि तयारी अवस्थामा रहनु पर्दछ । आफ्नो अध्ययन कार्यमा झन चुस्तता बनाउँदै जानु जरुरी छ । हिम्मत कहिल्यै पनि हार्नु हुँदैन । ग्रेडिङ प्रणालीको परीक्षा भएपनि बजारमा चर्को प्रतिस्पर्धा छ र आफू बजारमा विक्ने र टिक्ने अवस्थासम्म पुग्नको लागि त्यो प्रतिस्पर्धामा सबैलाई उछिनेर अगाडि बढ्ने सम्मको हैसियत कायम गरेर निरन्तर रुपमा अगाडि बढ्नु नै हरेक विद्यार्थीहरुको दायित्व हो ।
आफ्ना बालबालिकाहरुलाई तनावमुक्त वातावरणमा राखेर ऊनीहरुको अध्ययन कार्यमा सघाउ पुर्याउनु प्रत्येक अभिभावकहरुको दायित्व हो । के होला र कसो होला भन्दा पनि आफ्ना नानीबाबुहरुलाई हरबखत अध्ययनशील रहनका लागि सदा प्रेरित गरिरहनु पर्दछ । यसका लागि आफ्ना बालबालिकाहरुको समस्याहरु बुझ्ने समयसमयमा अन्तक्र्रिया गर्ने गर्नु पर्दछ । यस कुरामा बालबालिकाहरुका आवश्यक मागहरुप्रति पनि उत्तिकै चासो दिनु पर्दछ । यदि हामी अभिभावकहरुले बालबालिकाहरुको सकारात्मक चाहनामाथि वेवास्ता गर्यौं भने त्यसको असर बालबालिकामा जीवनभर पर्ने हुनाले हामीले गर्ने व्यववहार र हार्दिकतामा नै ऊनीहरुको भविष्य भर पर्दछ । त्यसैले प्रत्येक बालबालिकाहरुको भविष्य ऊनीहरुको आफ्नै हातमा त हुन्छ नै तर यसको साथसाथै आम अभिभावकहरुको समर्थन, साथ र सहयोगको पनि उत्तिकै आवश्यक पर्दछ ।
मानिस परिवर्तन चाहने प्राणी हो । परीवर्तन आजको समाजको आवश्यकता पनि हो । तसर्थ परिवर्तनलई आत्मसात गरेर जो मानिस निरन्तर कर्तव्य पथमा अगाडि बढिरहरन्छ त्यो मानिसले जीवनको कुनै न कुनै कालखण्डमा सफलता प्राप्त गर्दछ । त्यो सफलता नै उसको समग्र जीवनको परिचय मात्रै हैन जीवन व्यतित गर्ने सुन्दर र दरिलो माध्यम पनि हो । कतिपय अवस्थामा विद्यार्थी स्वयंका पनि जिम्मेवारीहरु हुने गर्दछन् । यस प्रकारका जिम्मेवारीहरुमा गहन भूमिका निर्वाह गर्नका लगि विद्यार्थीहरु आफैले पनि योजना बनाएर लाग्नु पर्ने हुन्छ ।
परीक्षाको भयलाई पूर्ण रुपले हटाएर आफूले गरेको अध्ययन र यसबाट प्राप्त गरेको ज्ञानलाई कसरी व्यवस्थित रुपमा परीक्षामा अभिव्यक्ति गर्ने हो भन्ने कुरालाई मनन गर्दै आम विद्यार्थीहरुले आफ्नो भविष्य निर्माणका खातिर सोच्नु पर्दछ । परिवर्तन समयको माग हो भन्ने कुरा बुझेर यसलाई सकारात्मक ढंगबाट बुझ्न सकेमा हरेक विद्यार्थीहरुले आफ्नो जीवनलाई अध्ययनको पर्याय बनाउन सक्ने वातावरण बन्दछ ।
परीक्षाका आफ्नै खाले मूल्य र मान्यताहरु रहेका हुन्छन् । त्यसमा पनि विद्यार्थी, शिक्षक, अभिभावक अनि राज्यको पनि उत्तिकै भूमिका रहेको हुन्छ । सबैभन्दा ठूलो कुरा भनेको त विद्यार्थीहरुले आफूलाई व्यवस्थापन गर्नु हो । अध्ययन र लेखन सीपको विकास गरेर तदनुरुप आफूले परीक्षामा ज्ञानलाई बगाउन सक्नु पर्दछ । तर, मुख्य कुरा के भने परीक्षामा आफूलाई खरो रुपमा प्रस्तुत गर्न सकेमा वा भिन्न रुपमा आफूले आफ्नो लेखनकलालाई प्रस्तुत गर्न सकेको खण्डमा मात्र विद्यार्थीहरुमा सफलताका लागि उत्प्रेरणा भरिएर आउन सक्दछ । हैन भने राज्य, अभिभावक र विद्यार्थीकै लगानी खेर जान्छ । त्यसैले वातावरण प्रतिकूल भयो भनेर विद्यार्थीहरुले चिन्ता लिनु पर्दैन । वातावरणलाई सहज बनाउने काम भनेको राज्यको हो । बरु आफूलाई हरबखत तयारीमा राखेर झन उर्जा थप्नका लागि निरन्तर लाग्नु आम विद्यार्थीहरुको दायित्व हो । मनमा अनेकन कुराहरु खेलाएर चिन्ता लिन थालियो भने त्यसले फेरि परीक्षाको समयमा समस्या पैदा गर्न सक्ने भएकोले त्यस प्रकारका विषयहरुमा सकभर चासो दिदै नदिएर आफ्नै काममा निरन्तर चेष्टा दिएर लाग्नु पर्दछ । विगतका दिनहरुमा पनि विभिन्न राष्ट्रिय परीक्षाका दिनमा बन्द, हड्ताल मात्रै हैन कि कफ्र्यू समेत लागेका ईतिहासहरु छन् । तसर्थ, यस प्रकारका कुराहरु मनमा नलिइकन आफ्नो तयारी र आजसम्म सिकेका ज्ञानलाई व्यवस्थित रुपमा भण्डारण गरेर परीक्षामा कसरी आकर्षक शैलीमा प्रस्तुत गर्न सक्छु भन्ने कुरा मनमा सोच्नका लागि आम परीक्षार्थी भाइबहिनीहरुमा हार्दिक अनुरोध छ ।
परीक्षा चाहे जुन तहको होस्, जीवनको मार्गचित्र कोर्ने एउटा सुनौलो अवसर हो । र, अवसर भनेको बारबार आइरहने कुरा पनि हैन । त्यसैले यो अवसरलाई अधिकतम सदुपयोग गरेर आफ्नो उज्ज्वल भविष्य निर्माणका लागि सबै परीक्षार्थी भाइबहिनीहरुमा शुभकामना ।