काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।
काठमाडौँ उपत्यका र तराईका केही स्थानहरूमा भने हुस्सु तथा कुहिरो लागेको अवस्था छ ।
आज दिउसो देशभर मौसम मुख्यतया सफा रहने छ । राति पनि यो सिलसिलाले निरन्तरता पाउनेछ ।
तराई तथा उपत्यका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
यसैबीच, काठमाडौं उपत्यकामा शनिबार बिहानको तुलनामा आज चिसो केही घटेको छ । हिजो काठमाडौंको तापक्रम दुई डिग्री सेल्सियस मापन गरिएकामा आज बिहान त्यो चार दशमलव पाँच डिग्री पुगेको छ ।
आज उपत्यकाको अधिकतम तापक्रम १६देखि १८ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ ।