काठमाडौँ । कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्तप्रसाद तिम्सिनामाथि कुटपिट भएको घटनामा संलग्न रहेको आरोपमा नगर प्रहरी प्रमुखसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार राति भन्सार कार्यालय परिसरमै प्रमुख अधिकृत तिम्सिनामाथि कुटपिट भएको घटनापछि धनगढी उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामी, उनका सवारी चालक रतनबहादुर मल्ल, नगर प्रहरी हवल्दार मणीदत्त भट्ट र जवान जितेन्द्रसिंह धामीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको हो।
प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार, भन्सार कार्यालयले ‘अभद्र व्यवहार’ सम्बन्धी जाहेरी दिएपछि उनीहरूलाई धनगढीबाटै पक्राउ गरिएको हो।
नगर प्रहरी निरीक्षक धामीलाई धनगढी उपमहानगरपालिकाले पनि २४ घण्टे स्पष्टीकरण माग गरेको छ।
शनिबार राति करिब १० बजे, धनगढी–अत्तरिया ६ लेन सडकको ट्री गार्डेन क्षेत्रमा जाली भत्किएको सूचनापछि नगर प्रहरी प्रमुख धामी नेतृत्वको टोली स्कारपियो गाडीको खोजी गर्दै भन्सार सम्म पुगेको थियो।
त्यसक्रममा प्रमुख भन्सार अधिकृत तिम्सिना र नगर प्रहरी प्रमुख धामीबीच भनाभन भएपछि परिस्थिति जटिल बनेको थियो। सोही क्रममा भन्सार परिसरमै कुटपिट भएको छ।