रेशम राज रोकाया/भदौ १४, हुम्ला । सँगैका साथी गुलेली लिएर चरा मार्न जान्थे, एउटा यस्तो पात्र उसलाई रहर पनि थियो गुलेली खेल्ने तर चरा पूर्व उहाँको गुलेली पश्चिमतिर ताकिएको हुन्थ्यो ।
कक्षामा सहपाठी साथी शिक्षकको प्रिय थिए, नियमित गृहकार्य गर्थे, उहाँलाई शिक्षक नजिक पुग्न पनि गाह्रो हुन्थ्यो । प्रविधि र ब्रेल लिपीको प्रयोग नेपालमा नै कम रुपमा हुन्थ्यो, हुम्लामा आई पुग्ने त परै जावोस् हुन्छ भन्ने पनि उहाँलाई थाहा थिएन ।
केही कुरा लेख्न परेमा साईनपेनले ठूला ठूला अक्षरमा लेख्नु नियमित नित्य कर्म नै हुन्थ्यो । शिक्षकदेखी गाउँका सबैले उहाँलाई हेला गर्ने गर्दथे । श्री मानसरोवर मा.वि. केन्द्रबाट प्रवेशिका परीक्षा उतीर्ण गर्नु जिन्दगीको अर्को चुनौती थियो । के गर्ने, कहाँ पढ्ने भन्ने कुनै बाटो उहाँको अगाडि थिएन ।
एक वर्ष त्यत्तिकै गाउँमा गोठालो बस्दै बित्यो । दोस्रो वर्ष जे पर्छ त्यही टर्छ भनेर घरपरिवारसँग सल्लाह गरेर लम्किनु भयो काठमाण्डौ शहर, अन्य सामान्य व्यक्तिको जस्तो उहाँलाई काठमाण्डौ शहरमा सामान्जस्य हुन सहज थिएन । काठमाण्डौमा निजी विद्यालयमा शिक्षण, अध्ययन गर्नको लागि कुन संकाय पढ्दा के भईन्छ भन्ने उहाँलाई थाहा थिएन । मानविकी संकायको अंग्रेजी विषयमा हाल उहाँले स्नातकोत्तर उतीर्ण गरेका छन् ।
भारतको केरला राज्यमा उहाँले थप शिक्षा लिनु भयो । विश्वका विभिन्न देशमा साक्षात्कार भ्रमण गरी उहाँले अपाँगताको क्षेत्रमा केही गर्नु पर्छ, आफु जस्तो अरुले भोग्न नपरोस् भन्नको लागि हिमाली शिक्षा र विकास (हेड नेपाल) गैरसरकारी संस्थाको स्थापना गरे । स्थापनाकालमा कार्यालय एक कोठामा सिमित थियो ।
तै पनि अपाँगताको क्षेत्रमा उहाँ कहिल्यै पछि पर्नु भएन । यो छोटो कथा हुम्ला हेप्का गाउँका न्यूनदृष्टि भएका छिटुप दोर्जी लामाको हो । हुम्लामा रहेका आफु जस्ता न्यूनदृष्टिविहिन र दृष्टिविहिनका लागि हाल ५२ जना बालबालिकाको शिक्षा, अधिकार, वकालतमा छिटुप दोर्जी लागि परेका छन् ।
विहान ५ बजे देखी विद्यार्थी सो संस्थामा कम्प्युटरको पावर बटन थिच्न सुरु हुन्छ । जज नामक सफ्टवेयरको सहयताले दृष्टिविहिन बालबालिकालाई कम्प्युटर शिक्षा मध्यपश्चिमकै पहिलो पटक सिकाईने गरिएको छ ।
८ वटा डेस्कटप कम्प्युटर र ३ थान ल्यापटप कम्प्युटर छन् । समय तालिका अनुसार सबै विद्यार्थीलाई सिक्नको लागि शिक्षकको पनि व्यवस्था गरिएको छ । अन्य वयस्क अपाँगता भएका व्यक्तिको लागि वार्षिक रुपमा २ पटक तालिमको पनि आयोजना गरि कम्प्युटर शिक्षा प्रदान गरिँदै आएको हिमाली शिक्षा र विकास नामक संस्थाका कार्यकारी निर्देशक छिटुप दोर्जी लामाले बताउनु भयो । मध्यपश्चिम क्षेत्रमा नौ अपाँगता क्षेत्रको लागि यो सिकाई केन्द्रको रुपमा अगाडी बढाउन लागेको र अवसर पाएकोमा लामा दंग देखिन्छन् । पहिला पहिला लक्ष्य त लिईयो जिल्लामा अपाँगता भएका बालबालिकाको व्यक्ति प्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्नु कठिन भएको उहाँको भनाई रहेको छ ।
हाल विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयको सहयोगमा संस्थाले राम्रो छवी बनाएको लामाले बताए । कोही बालबालिका अन्य रंग सँगको दृष्टिसँग सामाञ्जस्य हुँदा देख्ने बालबालिकाको लागि छुट्टै ईम्वुष्ट क्यामेराको समेत व्यवस्था गरिएको गरिएको छ ।
हुम्लामा पाठ्यक्रम विकास केन्द्रले उत्पादन गरेको ब्रेल पुस्तक, अन्य सन्दर्भ सामाग्रीको पुस्तक समेत ब्रेल पुस्तकालयमा राखिएको छ । हाल २ सय पुस्तक राखिएका भएता पनि १ हजार पुस्तक पाठ्पुस्तक र सन्दर्भ सामाग्रीका पुस्तक राख्ने लक्ष्य रहेको लामाले बताउनु भयो । साथै २ जना पूर्ण दृष्टिविहिन बालबालिकाको लागि ल्यापटप समेत प्रदान गरिएको छ ।
सुनेर सिक्नको लागि अडियो रेकर्ड गरी सुनेर सिक्ने समेत व्यवस्था गरिएको छ । ब्रेल प्रिन्ट गर्नको लागि ईम्बुष्ट प्रिन्टरको व्यवस्था भएकोले केही सन्दर्भ सामाग्री ईन्टरनेटमा भएको प्रिन्ट गरी बालबालिकालाई समेत प्रदान गरी सिकाईमा प्रभावकारिता ल्याईएको छ ।
ब्रेल सिकाइको लागि छुट्टै ब्रेल शिक्षकको समेत व्यवस्था गरिएको छ । ब्रेल सिक्नको लागि सुरुमा विद्यार्थीमा धारण बसाल्न गाह्रो हुने गरेको भएता पनि पछि विस्तारै सुधार गर्दै लगेको शिक्षक राम ऐरले बताउनु भयो ।
२ वटा भवनमा खान र राम्रो बस्नको लागि व्यवस्था गरिएको छ । दृष्टिविहिन र न्यूनदृष्टिविहिन बालबालिका ३० र २२ जना शारीरिक अपाँगता भएका बालबालिका हाल शिक्षाको अवसर पाउन सफल भएको प्रति विद्यार्थी गोरासिँह बोहोराले बताउनु भयो । म पहिला घरको लागि बोझ भएको थिएँ, यसलाई जन्माउनु भनेको पाप गरेको सम्झने बोहोराको परिवार हाल उहाँलाई देखेर खुसी हुनु हुन्छ रे गोरासिँहले बताउनु भयो ।
सुरुमा समदायमा त्यस्ता बालिबालिकाको पहिचानको लागि घुम्ती विद्यालय सञ्चालन गरी अपाँगता परिचय पत्र आवश्यक प्रक्रिया पुर्याई उपलव्ध गर्ने गरेको प्रशिक्षक लोकराज शाहीले बताउनु भयो । अनि २ वटा आवास गृहमा कसैलाई बोकेर त कसैलाई हेलीकोप्टरको प्रयोग गरी अध्ययनको लागि ल्याईने गरिएको छ । सिमिकोटमा रहेको बालमन्दिर माध्यमिक विद्यालयमा दृष्टिविहिन र कालाशिल्ता आधारभूत विद्यालयमा शारीरिक अपाँगता भएका बालबालिकाको लागि शिक्षा दिने प्रवन्ध मिलाईएको छ ।
३ जना विद्यार्थीले प्रवेशिका परीक्षामा संलग्न भई उतीर्ण समेत गरिसकेका छन् । कक्षा १० सम्म सहायत गरी अध्ययनको अवसर दिने प्रवन्ध मिलाईएको भएता पनि कक्षा १२ सम्म नै यो अवसर दिनु पर्ने आवश्यकता महशुस भएको निर्देशक छिटुप दोर्जी लामाले बताउनु भयो । विद्यार्थीलाई सिक्न कठिन हुने विषय अंग्रेजी, विज्ञान र गणितको सहायताको लागि श्री मानसरोवर नमूना माध्यमिक विद्यालयका शिक्षक रेशमराज रोकाया र हर्कराज न्यौपानेलाई ट्युशन कक्षा लिनको लागि व्यवस्था गरिएको छ ।
जिल्ला शिक्षा कार्यालय, हुम्ला र महिला तथा बालबालिकाको कार्यालय लगायत जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयको राम्रो सम्वन्धका कारण यस्तो सफलता मिलेको पाईएको छ । जिल्ला शिक्षा कार्यालयले प्रति विद्यार्थी ३ हजार प्रति महिना छात्रवृत्ती सहयोग गरेको भएता पनि बालबालिकाको बसोबासको लागि यो प्रयाप्त नभएको पाईएको छ ।
हेड नेपालले प्रदान गरेको सेवा, सुविधा हेर्दा कुनै निजी शहरको महँगो छात्रावासको झझल्को आउने गरेको पाईएको छ । जिल्लामा बालबालिकाको क्षेत्रमा उत्कृष्ट काम र वकालत गरेवापत भाद्र २९ गते बालदिवसको अवसरमा पुरस्कार नेपाल सरकारलाई प्रदान गर्नको लागि पनि जिल्लाबाट छिटुपदोर्जी लामालाई सिफारिश गरिएको छ ।
समाजमा पछाडी पारिएका वर्गको लागि आय आर्जनमूलक तालिम पनि दिने गरिएको पाईएको छ । हालसालै मात्र सिलाई कटाई १० जना महिलालाई र विगतका वर्षमा बुनाई तालिम पनि प्रदान गरिएको निर्देशक लामाले बताउनु भयो ।