१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

शुक्लाफाँटामा जलपक्षी गणना

२८ पुष २०७४, शुक्रबार ०८:३०

पुस २८,कञ्चनपुर,  कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जलपक्षी गणनाको कार्य सम्पन्न भएको छ । 


विशेषज्ञको सहयोगमा एक साता लगाएर गरिएको गणनामा ५८ प्रजातिका तीन हजार ६४१ वटा जलपक्षी फेला परेका छन् । 

प्रत्यक्ष अवलोकन र वाइनाकुलरको सहायताले गरिएको गणनाका क्रममा हाँस प्रजाति १५, गरुड प्रजाति पाँच, बकुल्ला १२, जलेवा दुई, सारस एक, हुटिट्याउँ चार, सिसिडिया पाँच र गंगा चिल एकलगायतका प्रजाति फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले बताउनुभयो । 

सीमसार क्षेत्र, आहारा, सुरक्षा र गुँड लगाउनका लागि पर्याप्त स्थान भएकाले शुक्लाफाँटामा जलपक्षीको संख्या प्रतिवर्ष बढ्दोरुपमा रहेको उहाँले बताउनुभयो । उत्तरी ध्रुवमा चिसो बढेपछि चिसो छल्नका लागि बसाइँ सार्दै पाहुना जलपक्षी यहाँका सीमसार क्षेत्र, ताल तलैया, नदीलगायतका क्षेत्रमा पुग्ने गर्छन् । 

हिउँदका बेला साइबेरियालगायत क्षेत्रमा चिसो अत्यधिक हुने र आहारको कमी हुने भएकाले जाडो छल्नका लागि यसतर्फ चराहरु आउने गरेका हुन् । यसै क्षेत्र भएर जलपक्षी भारत, बंगलादेश र श्रीलंकालगायतका देशमा समेत जाने गरेका छन् । 

निकुञ्जको रानीताल, सलगौडीताल, कालिकिच ताल र तारा ताल क्षेत्रमा जलपक्षीकोे चहलपहलमा बढोत्तरी भएको छ । प्रतिवर्ष कात्तिकदेखि नै आगन्तुक चरा यहाँ आउने क्रम शुरु हुन्छ । 

सिमसार क्षेत्रमा बच्चा कोरलेर चरा चैतदेखि जेठसम्म पुनः साइबेरियालगायतका क्षेत्रमा फर्कने गरेका छन् । निकुञ्जमा रहेका प्राकृतिक तालको व्यवस्थापन र कृत्रिम पोखरी निर्माणले चरा आउने क्रममा विगतको तुलनामा बढोत्तरी भएको गणनामा संलग्नको भनाइ छ । 

गणनाका क्रममा एउटै तालमा ३० देखि १५० प्रजातिका चरा एकसाथ देखापरेका छन् । शुक्लाफाँटा निकुञ्जसँगै चौधर नदी, महाकाली नदी, सनवोरा, दोदा स्याली नदी, बन्दाताल र प्याराताल क्षेत्रमा समेत जलपक्षीको चहलपहलमा वृद्धि भएको छ । 

गणनाका क्रममा देखापरेका केही हाँस प्रजाति, बकुल्ला प्रजाति, जलेवा, सारस, हुटिट्याउँलगायत रैथाने प्रजातिका हुन् भने हाँस, बकुल्ला प्रजातिका अधिकांश चरा आगन्तुकका रुपमा रहेका छन् । नेपालमा पाइने ८७८ प्रजातिका चरामध्ये शुक्लाफाँटामा ४२४ प्रजातिका चरा पाइने गरेका छन् । 

जसमध्ये सारस, खरमजुर, सिम तित्रा र विश्वकै दुर्लभ मानिएको लेसर भुडीफोर चरा यहाँ पाइने गरेको छ । जलपक्षी गणनामा निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, जुलोजिकल सोसाइटी अफ लण्डन र चरा विशेषज्ञ हेमसागर बरालको संलग्नता रहेको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो