फागुन १६, काठमाडौं । भूकम्पले ढलेको धरहराको पुनर्निर्माण गर्ने काम सुरु गर्नु त कता हो कता उल्टो ऐतिहासिक धरहरानै प्रभावित हुनेगरि व्यापारिक भवन निर्माणको लागि महानगरले आफ्नो लापरवाही सार्वजनिक गरेको छ ।
धरहरा दक्षिण पट्टिको भागमा सरकारी मापदण्डको ९ मिटर चौडा सडक समेत ओगटेर मापदण्डविपरीत व्यपारिक भवन निर्माण गर्न महानगरले स्वीकृति दिएको हो । जहाँ महानगरले फुटपाथको लागि ठाउँ हुनुपर्छ भन्ने आफ्नै नीति समेत कुल्चिएर काम गरेको स्पष्ट देखिन्छ ।
हाल स्वीकृति दिएको स्थानमा ३०३६ सालदेखि बनेको स्थाई घरलाई समेत निकास छेक्नेगरि महानगरले स्वीकृति दिएको भन्दै स्थानीय व्यावसायी महानगरले आफ्नै खुट्टामा बन्चरो हानेजस्तो व्यवहार गरेको बताए । उनले भने 'अहिले यहाँ संरचना बन्ने हो भने झन्डै १०० जनाको रोजगारी खोसिन्छ, अहिले यहाँ १६ सटरमा व्यापारिक रुपमा संचालित छन्, दर्जन जति कार्यालयहरु छन् तर अगाडी संरचना बन्दा हामी सबैको उठिबास लाग्छ ।' उनले महानगरलाई फुटपाथमा पसल थाप्न र पार्किंग गर्न हुँदैन भन्दै उठाउँदै आउने महानगरको असली रुप देखिएको बताए । उनले भवन संरचना हुन लागेको ठाउँ देखाउंदै भने 'ल हेर्नुस, यो फुटपाथ हैन ? यहाँ भवन बनाउन मिल्छ ?'

ऐतिहासिक धरहरा क्षेत्रभित्र पर्ने स्थानमा मापदण्ड समेत मिचेर व्यापारिक भवन उठाउन जग खनिएपछि स्थानीयले त्यसको विरोध समेत गरेका छन् । जहाँ महानगरपालिकाले निर्माणकर्ताहरुलाई स्पष्ट साथ दिएको छ । महानगर आफैले जबर्जस्ति भवन बनाउन जस्ताको बार हाल्न सहयोग गरेको थियो जुन सडकमा मात्र ९ मिटरको मापदण्ड हुनुपर्नेमा झन्डै २ फिट मिचेर जस्ता बारिएको र फुटपाथ समेत छाडिएको छैन । भवन संरचना निर्माण गर्दा सडकबाट निश्चित दुरीमा मात्र संरचनाको तह उठाउन पाइने बताइएपनि यहाँ सडकसँगै संरचना उभ्याउन लागिएको छ । जसले सडकका यात्रुहरुलाई समेत सहज आवतजावतमा समस्या पार्ने निश्चित छ ।

यहाँ संरचना बनाउन महानगर र गुठी संस्थानले ठूलो आर्थिक चलखेल गरेको अधिकाँशको आरोप छ । राति जग खनेर भवन संरचना बन्दै गरेको कुरा साझा सबाल मिडियाले यस अघि महानगरमै पुगेर समेत ध्यानाकर्षण गराईसकेको छ तर पनि यहाँ संरचना निर्माण नगर्न महानगरबाट कुनै कदम चालिएको छैन । संगैको सडकमा चौडा सडक र फुटपाथ समेत हुँदा एक्कासी सरचना बनाउन लागिएको स्थानमा सडक खुम्चियाईएको देख्दा यहाँ संरचना बनाउन दिनुमा ठूलो आर्थिक चलखेल छ भन्नेमा अधिकांशको आरोप छ ।
यहाँ कुरियर कार्यालय संचालन गरेर बसेका माधव सिंखडाका अनुसार यहाँ राति-राति काम हुने गरेको छ । उनले भने 'रातारात राष्ट्रिय सम्पदाको दोहन गरिएको छ । सडकको फुटपाथ हुनुपर्ने ठाउँमा अब ब्यापार गर्न महानगरले स्वीकृति दिएको छ ।' उनले भने 'बडो अचम्म छ, फुटपाथमा ब्यापार गर्यो भन्दै आतंक मच्च्याउँदै आउने महानगर आफैले यहाँ फुटपाथमा घर बनाउन स्वीकृति दिएको छ ।
यसै विषयमा कुरा गर्दै महानगरपालिकका ११ नम्बर वडाका अध्यक्ष हिरालला तण्डुकारले मापदण्ड बिपरित संरचना बन्न लागेको जानकारी दिएका छन् । यस बिषयमा त्यहाँका स्थानीयहरुले पुरातत्व विभागमा समेत जानकारी गराईसकेका छन् । महानगरपालिकाले दिएको स्वीकृति अनुसार प्लिन्थ लेवलको पत्र दीईएको छ तर त्यसैमा ३ तलासम्म बनाउन पाउने अस्पष्ट भाषा प्रयोग गरिएको छ ।
२०३६ सालदेखि खालि रहेको स्थानमा अहिले आएर संरचना बनाउन लाग्दा सरकारी निकायहरु समेत मुकदर्शक बनेका छन् । भएको खाली ठाउँ समेत मासिँदा ऐतिहासिक धरहराको शोभानै नरहने जानकारहरुको बुझाई छ । यस्तो अवस्थामा यहाँ संरचना बनाउन महानगरले कुनैनकुनै आर्थिक चलखेल गरेको आरोप लगाइएको छ ।
भवन संरचनाको अवस्था हेर्दै एक जना स्थानीयले भने 'अचम्म छ, के आधारमा महानगरले यहाँ संरचना बनाउन स्वीकृत दियो ? अब फुटपाथ खोई ? धरहरा बनेपछि फोटो खिच्ने र पैदल यात्रीहरुलाई फुटपाथ खोइ ?' 'जातिले यो बारेको देखेका छन् सबैले गलत भईरहेको भनेका छन्, धरहराको छेउमै यस्तो चलखेल हुन्छ भने अन्त कस्तो होला ?' उनले भने ।
