फागुन २१, काठमाडौँ | भूकम्पबाट ध्वस्त बनेको धरहरा बनाउन छाडेर धरहरा वरिपरीको क्षेत्र समेत हडप्न खोजिएको भन्दै सरोकारवालाहरु आन्दोलित भएका छन् । काठमाडौँ महानगरपालिकाले धरहरा परिसरको खाली जग्गामा व्यापारिक भवन बनाउन दिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
आज काठमाडौँको सुन्धारा ११ मा भएको एक कार्यक्रममा सरोकारवालाहरुले एक अन्तरक्रिया कार्यक्रम गर्दै धरहराको परिसरमा फुटपाथ र सडक समेत हडपेर व्यापारिक भवन बनाउन लागिएको भन्दै बिरोध गरे । जसमा धेरै स्थानीय क्लब तथा जनप्रतिनिधिहरुले समेत एक्यबद्धता व्यक्त गरेका छन् । उनीहरुले धरहराको दक्षिण भागमा पर्ने भिममुक्तेस्वर गुठिको जग्गा व्यावसायिक प्रयोजनको लागि भाडामा दिन लागिएको भन्दै त्यसो भए राष्ट्रिय सम्पदाको अवस्थामा नै खलल पुग्ने र भएको खाली स्थान समेत मासिने भन्दै बिरोध जनाएका हुन् ।

कार्यक्रममा बोल्दै स्थानीय साधारण क्लबका अध्यक्ष राधाकृष्ण महर्जनले धरहरा परिसरमा व्यावसायिक प्रयोजनको लागि गुठि संस्थाले जग्गा भाडामा दिएर संरचना बनाउन लागेकोमा आक्रोश व्यक्त गर्दै घीन लाग्दो काम भईरहेको भन्दै बिरोध जनाए । सोहि कार्यक्रममा धरहरा वरिपरी खाली ठाउँ राख्नु आवश्यक रहेको भन्दै व्यावसायिक भवन बनाउन दिन नहुने संकटा क्लबमा महासचिव सुरेन्द्र सिख्राकारले बताए ।
त्यस्तै कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनकाजी महर्जनले गुठि संस्थान प्राइभेट कम्पनीजस्तै भएको भन्दै बिरोध गरे । महर्जनले धरहरा परिसरमा व्यावसायिक भवन बनाउछु र पैसा कमाउछु भन्ने कुरा कसैले नसोचे हुन्छ भन्दै यहाँ संरचना बनाउन स्वीकृति दिएकोप्रति महानगरको बिरोध गरे । उनले भने – 'यहाँ व्यवासायिक भवन बनाउन स्वीकृति दिएर जसले नक्सा पास गरेको छ उसलाई पनि दण्ड र जरिवाना लागु हुन्छ ।'
त्यस्तै वडा नम्बर ११ का वडाअध्यक्ष हिरालाल तण्डुकारले भिममुक्तेस्वर गुठीको भनिएको जग्गामा व्यवासायिक भवन बनाउन नदिने भन्दै पत्र काटिसकिएको जानकारी दिए । उनले भने – 'यो जग्गा जसरी हुन्छ खाली गर्नुपर्छ ।'
कार्यक्रममा बोल्दै काठमाडौँकि उप-मेयर हरिप्रभा खड्गीले पैसानै ठूलो भए देशनै बेचौं भन्दै आक्रोश व्यक्त गरिन् । खड्गीले देशको गहना मानिएको राष्ट्रिय सम्पदा धरहराको जग्गा मिचेर पैसा कमाउने धन्दा गर्न लागिएको भन्दै घर बनाउने कार्य बन्द गर्नुपर्ने बताइन् । उनले आक्रोशित हुँदै भनिन् 'काठमाडौँ महानगरपालिकामा स्वास फेर्नेसम्मको ठाउँ छैन, भएको खाली जग्गामा पनि पैसा कमाउने ? पैसा नै ठूलो हो त ? त्यसो भए देशै बेचौं न त !' उनले काठमाडौँमा हुने बेथिति रोक्नको लागि आफु सक्रिय भएर लागेको बताइन् ।
केहि दिन अघिदेखि धरहरा परिसरको दक्षिणपट्टि खाली रहेको भागमा भिममुक्तेश्वर गुठी संस्थानले मासिक रुपमा २ लाख ७० हजार भाडा लिने गरी व्यवसायिक भवन निर्माण गर्न दिएपछी यहाँ जस्ताले बारिएको छ । जस्ताले बारेर संरचना बनाउन थालिएपछी स्थानीयले राष्ट्रिय सम्पदा बचाऊ अभियान, स्थानीय संघर्ष समिति निर्माण गरि बिरोध आन्दोलन सुरु गरेका छन् ।