फागुन २३, जाजरकोट | शसस्त्र द्वन्द्वको क्रममा मारिएका माओवादी नेता तथा जाजारकोटका पहिलो सहिदको २२ वर्षपछि काजकिरिया गरिएको छ ।
जाजरकोटको नलगाड नगरपालिका–४, लहँ निवासी तत्कालिन माओवादीका पूर्व एरिया इन्चार्ज रहेका मानबहादुर रावलको २२ वर्षपछि हिन्दु संस्कार अनुसार काजकिरिया गरिएको हो । २२ बर्ष पछी कुशको शव बनाएर दाहसंस्कार गरिएको छ भने हिन्दु परम्परा अनुसार किरिया गरिएको छ । माओवादी नेता रावललाई प्रहरीले २०५२ साल फागुन १४ गते घरबाटै गिरफ्तार गरी हत्या गरेर नलसिंह गाडमा बगाइदिएको थियो ।
घटना हुँदा उनका छोराहरु बाल्य अवस्थामै थिए, त्यतिखेर माओवादीले काजक्रियाको काम गर्दैनथिए । तर अहिले ठूलो भएपछी आफ्नो बाबुको क्रिया गर्न इच्छा छोराहरुले राखेपछी हत्या भएकै तिथि पारेर किरिया गरिएको बताइएको छ ।