चैत्र १४,काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाको कार्यालयमा समाचार संकलनका लागि गएका सञ्चारकर्मीमाथि गरिएको दुर्व्यवहारप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महानगरपालिकाले लगाएको व्यवसायीक करको विषयमा समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीलाई महानगरपालिका कै प्रतिनिधि र कर्मचारीले धम्कीपूर्ण ब्यवहार गरेको नेपाल प्रेस युनियन चितवन जिल्ला कार्य समिति मार्फत जानकारी प्राप्त जनाएको छ ।
आमजनताको सुचनाको संवाहकको रुपमा रहेका सञ्चारकर्मीलाई जनप्रतिनिधि र राष्ट्रसेवकबाटै भएको यस किसिमको अपमानजनक ब्यवहारले लोकतान्त्रिक व्यवस्थाको खिल्ली उडाएको प्रेस युनियनले ठहर गरेको छ ।
सञ्चारकर्मीहरु रमेशकुमार पौडेल, प्रविण दत्त, नवराज मिश्र, सविता श्रेष्ठ, तुलमान गुरुङ, गिता गुरुङ र शिव आचार्यमाथि भएको अभद्र ब्यवहारको घटनाले समग्र प्रेस स्वतन्त्रतामाथी आक्रमण भएको युनियनको बुझाई छ । प्रेस युनियन यस घट्नाको भत्सर्ना गर्दै दोषीमाथी तत्काल कानुनी कारवाही गरी सञ्चारकर्मीलाई निर्वाध र सुरक्षित पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धीत निकायसँग जोडदार माग गरेको छ ।