चैत २०, काठमाडौं | चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक परेको छ ।
श्रेष्ठकी पत्नी यशोदा सुबेदी श्रेष्ठको गए राति साढे १० बजे निधन भएको हो । क्यान्सरबाट पीडित सुवेदीको ललितपुरको हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा गएराति निधन भएको हो ।
६७ वर्षीय सुवेदी आन्द्रा र फोक्सोको क्यानसरबाट पीडित थिइन्।
४४ औं बसन्तसम्मको यात्रा रोकियो
नेपालको हास्यव्यंग्य क्षेत्रका निकै चर्चित र सबैको सम्माननीय नाम हो मदनकृष्ण श्रेष्ठ । हास्य कलाकार भएको नाताले मदनलाई हेर्यौं भने उनि निकै हास्य पात्र होलान् तर पछिल्लो समय उनको जीवनमा ठूलो बज्रपात पर्दै आयो । भीत्र रोएर पनि बाहिर आम दर्शकलाई हसाउने धुनमा रहन्थे मदन । उहाँकी श्रीमतीलाई क्यान्सरको लक्षण देखिएपछी मदनको लागि हासो भन्दा बढी रोदनको रह्यो । तर, उनले त्यो रोदनलाई लुकाएर दर्शकलाई हसाईरहे ।
एकअर्कासँग जोडिएको जीवनको ४४ औं वसन्त लाग्दै गर्दा टुटेको छ । अन्तरजातीय प्रेमविवाह गरेको यो जोडीको साथ टुटेको छ । ४४ बर्ष अघि नेवार परिवारमा जन्मिएका मदनकृष्णले बाहुनकि छोरी यशोदा सुवेदीसँग प्रेम विवाह गरे । विवाहपछिको केहि समय मदन परिवारसँग अलग्गै बसेका थिए । अन्तरजातीय विवाहकै कारण ससुरालीले मदनको जोडीलाई ३ वर्षपछि मात्र बोलाएको थियो । त्यसो त विवाहपछि आफ्नै घरमा पनि मदन केहि महिना पछी मात्र गएका थिए ।
एकअर्काको बीच सामान्य बिबाद बाहेक यो जोडी जहिल्यै प्रेमी-प्रेमिकाझैं रहे । त्यहि प्रेमका दुई पात्र मदन र यशोदाको एक छोरा र एक छोरीसहित चार जनाको सानो परिवार अब तीन जनामा सिमित बनेको छ ।