दाङ्गको टरिगाउँमा जहाज फेरि अनिश्चित बन्दै

Posted on: 07 Nov, 2015

सन्तोषकुमार गुप्ता/ कात्तिक २१, दाङ्ग । गत सोमबार अर्थात् कार्तिक १६ गते टरिगाउँ एयरपोर्टमा हवाईजहाज आउनु पर्ने दिन भएपनि आएन । दाङको कोटामा परेको टिकेट भने पूरै बुक थियो । प्रतिक्षारत आत्रु निराश हुँदै घर फर्किए र टिकटको पैसा पनि फिर्ता लिए । हवाईजहाजको विश्वास नभएको भन्दै अधिकांश यात्रुले अब बसबाटै काठमाडौँ जाने भन्दै टिकटको पैसा फिर्ता मागेका थिए ।

धावन मार्ग कालोपत्रेपछि पछिल्लो समय गत जेठ १४ गतेदेखि दाङको एक मात्रै एयरपोर्टबाट गोमा एयरले हप्तामा दुईदिन उडान भर्ने सहमति अनुसार हवाईजहाज सञ्चालन गर्दे आएको छ । सोमबार जहाज नआउनु प्राविधिक कारण पनि हुनसक्छ तर निजी एयर भएकोले जता फाइदा हुन्छ उतै उडान भर्न उनीहरु लालायित हुन्छन् । किनकी सोमबार दाङको आकाशपनि सफा थियो । हुस्सुका लागेको अवस्था थिएन । भिजिविलिटी स्पष्ट थियो । एयरपोर्टमा जहाज सञ्चालनको जिम्मा लिदै आएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालका अनुसार उक्त दिन गोमा एयर यताका यात्रुलाई धोका दिएर बढी कमाई हुने स्थान लुक्लातिर गएको हुनसक्छ । रिजालले भने ‘इन्धनको चरम संकटले यातायातका साधन थोरै मात्रै सञ्चालन हुँदा यो समय प्लेनमा काठमाडौँ जाने यात्रुहरुको कमि छैन । इन्धन अभाव नहुँदा समेत दाङमा यात्रुको चाप कहिल्यै घटेको रेकर्ड छैन ।’ निजी कम्पनी भएकोले उनीहरुको मनोमानी स्वाभाविक होला तर यात्रुलाई धोका दिनु राम्रो होइन ।

dang jahaj

कसैको साथ नपाए अब एयरपोर्टबाट हात झिक्छौं तुलसीपुर उद्योग वाणिज्य संघको एकल प्रयासले मात्रै टरिगाउँको एयरपोर्टबाट जहाज सञ्चालन हुँदै आएको छ । उद्योग वाणिज्य संघले जहाज सञ्चालन गर्न नौंवटा टिकटको जिम्मा मात्रै लिएको छैन सहयोगका लागि आफ्ना दुईजना कर्मचारी पनि खटाउँदै आएको छ । वर्षाैसम्म विमान सञ्चालन नभएको टरिगाउँ एयरपोर्ट्भित्र बिजुली, बत्ती, खानेपानीजस्ता अन्य अति आवश्यक बस्तुहरुको व्यवस्थापन गर्दा समेत तुलसीपुर उद्योग वाणिज्य संघकै खर्च भएको थियो । धावनमार्ग कालोपत्रे भइसक्दा समेत जहाज नचल्ने एयरपोर्ट भनेर दाङको एउटा मात्रै एयरपोर्टको छवि बन्न थालेपछि तत्कालिन समय प्रतिष्ठाको लागि समेत संघले जहाज सञ्चालन गर्न खोजेको थियो । संघका अध्यक्ष विमल रिजालले स्थानीय निकाय नभएको समयमा व्यापारिक संस्थाले जहान सञ्चालन गरेर सामाजिक उत्तरदायित्व पूरा गरेको तर्क गरे । तर अब सधैभरि एउटा व्यापारिक संस्थाले ‘टिकटको ठेक्का वा जिम्मा’ लिएर जहाज सञ्चालन गर्न असम्भव नै छ । किनकी हामीले सातवटा टिकटको पैसा यात्रु आएपनि नआएपनि विमान सञ्चालक कम्पनीलाई अनिवार्य भुक्तानी गर्नुपर्ने हुन्छ ।

त्यतिमात्रै हैन दुईजना कर्मचारी खटाउँदा मासिक १५ देखि २० हजार संघको अतिरिक्त व्ययभार हो । संघका अध्यक्ष रिजालले भने ‘अबपनि कतैबाट कुनै साथ पाइएन भने हामी एक्लै जोखिम लिएर जहाज सञ्चालन गर्न असमर्थ हुनेछौं ।’ संघको कार्यसमितिका पदाधिकारीहरुमध्ये अधिकांशको धारणा पनि अब जहाज सञ्चालनबाट संघले हात झिक्नुपर्छ भन्ने नै रहेको अध्यक्ष रिजालले बताए । ‘नियमले जहाज सञ्चालन गर्दै आएको कम्पनीले नै यहाँ दुईजना आफ्ना कर्मचारी खटाउनु पर्ने हो तर विमान सञ्चालक कम्पनी त्यो मनस्थितिमा छैन ।कारण नेपालमा जहाजको अभाव भएकोले उनीहरु दाङ नआउँदा पनि अन्यत्र विमानको माग उत्तिकै छ ।’ संघका अध्यक्ष रिजालले थपे ‘व्यक्तिगत चिनजान र सम्बन्धको आधारमा मात्रै टरिगाँउबाट विमान सञ्चालन गर्न सम्भव भएको हो तर अब त्यसलाई निरन्तरता दिन मुश्किल हुनसक्छ ।’

झिनो सम्भावना कुनै दिन तुलसीपुर उद्योग वाणिज्य संघले टरिगाँउ एयरपोर्टमा जहाज सञ्चालन गर्ने लक्ष्यलाई आफ्नो प्रतिष्ठासँग गाँसेको थियो । जसका लागि उसले दर्जनौं पटक काठमाडौँ डेलिगेसन गएको थियो । उक्त कार्यका लागि उद्योग वाणिज्य संघले घरदैलोमा नपुगेको प्रमुख दलका नेता, प्रधानमन्त्री, मन्त्री विरलै होलान् । उनीहरुको त्यो प्रयास अझैं रोकिएको भने छैन । तर उनीहरुले अहिलेसम्म पाउँदै आएको आश्वासन बाहेक अरु केही छैन । जहाज सञ्चालनमा आउनु पूर्व उनीहरु जहाज कसरी सञ्चालन गर्न सकिन्छ भन्ने डेलिगेसन लिएर जान्थे तर पछिल्लो समय यहाँ इन्धन डिपो स्थापनाका लागि जाने गरेका छन् । वाणिज्य संघका अध्यक्ष रिजालले भने ‘प्रधानमन्त्रीदेखि योजना आयोगको उपाध्यक्ष, मन्त्रीलगायत सबैलाई भेटियो । सबैले आश्वासन मात्रै दिए । यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको पनि त्यही आश्वासन मात्रै हो ।

तीन/चार महिना चलाउनुहो्स त्यसपछि हेरौंला । बजेटको व्यवस्था गरौंला भन्ने आश्वासन मात्रै पायौँ तर, उनीहरुले दिएका आश्वासन र गरेका बाचा कहिल्यै कार्यान्वयनमा आएनन् ।’ एउटा व्यापारिक संस्थाले मात्रै सधै जहाज सञ्चालन सम्भव हुँदो रहेनछ अध्यक्ष रिजालले थपे ‘तर एकपटक फेरि कोसिस गर्छौँ । यो सरकारसँग अन्तिम पटक कोसिस गर्छाैँ । ग्रिन सिग्नल पाएमा फेरि ६ महिनादेखि एक वर्ष थप्छौं नत्र हात झिक्छौं ।’ अध्यक्ष रिजालले निजी विमानले उडान भर्दा यात्रुले महङ्गो भाडा तिर्नु परेको बताए । भूकम्पको समयमा एक महिना पहिलो पटक टिकट काट्नेलगायत केहिलाई सात हजारदेखि व्यवस्था सहुलियत दिएको भएपनि त्यसलाई निरन्तता दिन सम्भव नभएको बताए । उनले सरकारी एयरलाइन्सले उडान भरेमा मात्रै भाडा सस्तो हुने बताए । नेपाल एयरलायन्सको विमान आउन थालेमा र यहाँ इन्धन रिफिलिङको व्यवस्था हुनसके दैनिकरुपमा जहाज आएपनि यात्रुको अभाव नहुने तर्क गरे । इन्धन डिपो स्थापनाका लागि एयरपोर्ट नजिक कपास विकास समितिले जग्गा दिने निर्णय भइसक्दा पनि कागजी प्रक्रियाका कारण यहाँ इन्धन डिपो स्थापना गर्न सबै प्रक्रिया पूरा गरी काम सुरु गर्दा पनि अझै केही वर्ष लाग्ने निश्चित छ । यस्तो अवस्थामा ट्याङ्करबाट हवाई इन्धन यहाँ स्टक राखेर रिफिलिङको व्यवस्था गर्नु तत्कालको लागि उपयुक्त विधि भएपनि त्यसले समेत सार्थकता पाउन नसक्दा अब यहाँबाट हवाईजहाज नियमित गर्न मुश्किल परेको जानकारहरु बताउँछन् । जबकी नेपाल एयर लायन्सको ठूला विमान यहाँ अवतरण गराउन धावन मार्गका तत्काल सम्भव छैन । किनकी ठूला विमानका लागि धावन मार्ग पर्याप्त छैन ।

साधारणसभा कुर्दै अध्यक्ष यदि जारी हवाई सेवा अवरुद्ध हुन पुगेमा फेरि कहिले र कसको प्रयासले हवाई सेवा सुरु हुने भन्ने कुरा गर्भमै छ । यसअघि झै फेरि टरिगाउँको एयरपोर्ट गाईबाख्रा चरनस्थलका रुपमा मात्रै प्रयोग हुनसक्छ । पहिले जस्तै गाईवस्तु लगायत सर्वसाधरणले मनपरी सहज पहुँच हुनेछ । त्यसो हुँदा वरिपरिको तारवारदेखि भौतिक संरचना पनि ध्वस्त हुँदै जाने छन् । दाङको एकमात्र एयरपोर्ट हेर्नका लागि मात्रै हुनेछ । एयरपोर्ट त्यस्तो अवस्थामा नपुगोस् भनेर सबैभन्दा बढी चासो र चिन्तापनि तुलसीपुर उद्योग वाणिज्य संघलाई नै छ । किनकी उसले यो एयरपोर्ट सञ्चालनमा ल्याउन निकै मेहनत गर्नुपरेको थियो । तर पनि अध्यक्ष रिजालका सामु संघकै पदाधिकारीहरुले समेत हात झिक्नुपर्छ भन्ने राय दिएकोले चुनौति पनि उत्तिकै छ । वाणिज्य संघ एउटा व्यापारिक संस्था भएकोले उसका आफ्नै धेरै जिम्मेवारी छन् ।

यस क्षेत्रको व्यापार, व्यवसाय सञ्चालनदेखि व्यापारीको हकहितमा उसले काम गर्नुपर्ने हुन्छ । तर प्लेन सञ्चालनको जिम्मा समेत संघले नै लिएपछि उसलाई अनावश्यक टाउको दुखाई भएको छ । सामाजिक सेवाभावले सुरुमा महत्वाकांक्षी कदम उठाएको संघका पदाधिकारीबाटै अहिले उता पनि हात हाल्दा बढी ह्याम्पर भयो । अनावश्यक खर्च भयो भन्ने आवाज आउन थालेको छ ।

त्यसैले अध्यक्ष रिजाललाई कार्यसमितिले फेरी जहाज सञ्चालनको म्यान्डेट दिन्छ कि दिदैन भन्ने कुराको एकीन स्वयम् अध्यक्षलाई पनि छैन । त्यसैले उनले आगामी मंसिर ५ गते हुने संघको साधारणसभाको कुरिरहेका छन् । उक्त साधारणसभामा जहाज सञ्चालनको कुरा एउटा प्रमुख एजेण्डाको रुपमा उठ्नेमा दुईमत छैन । टरिगाउँ एयरपोर्टको भविष्य हाललाई सोही साधारणसभाले गर्ने छ । ‘फेरि म्यान्डेट पाएको खण्डमा हवाईजहाज नियमित हुने सम्भावना रहन्छ तर, साधारणसभाले अब संघले जहाजको जिम्मा नलिने निर्णय गरेमा जहावको सम्भावना धुमिल बन्ने छ ।’ अध्यक्ष रिजालले भने ‘अफिसको काम ह्याम्पर गरेर अनावश्यक व्ययभार बढाउने सम्भावना अब सम्भवतः झिनो छ ।’ जेठ १४ गते सामाजिक सेवा वा प्रतिष्ठा जुन उद्देश्यले भएपनि संघले जहाज सञ्चालन गर्न सफल भएको थियो । गोमा एयरसँग तीन महिनाका लिखित सम्झौता भएपनि त्यसपछि मौखिक सम्झौताको भरमा अहिलेसम्म दाङमा हवाईजहाज आइरहेको छ । तर अब संघले मात्रै एक्लै ठेक्काको शैलीमा जिम्मा लिएर नियमित जहाज सञ्चालनको बोझ उठाउन नहुने पक्षमा कतिपय पदाधिकारीले भन्न थालेकोले जहाज नियमितको सम्भावना समाप्त हुने बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!