२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हराएको दश वर्षपछि मुत्युको खबर

११ मंसिर २०७५, मंगलवार ०७:०४

रामबहादुर थापा | मङ्सिर ११, बागलुङ | रत्ना बस्नेतसँग आशाको त्यान्द्रो बाँकी थियो, “कतैबाट श्रीमान् टुप्लुक्क आइपुग्नु हुन्छ कि ?” करीब दश वर्षदेखि बाटो कुरेर बसिरहनुभएकी श्रीमती रत्नासँग न अब आशा नै बाँकी रह्यो, न श्रीमान् । 

रोजगारीमा दिल्ली पुग्नुअघि विसं २०६६ असार २२ गते भैरहवाबाट श्रीमान् जीतबहादुरले गरेको टेलिफोन कुराकानी नै उहाँको लागि अन्तिम आवाज बन्न पुग्यो । चाँडै फर्कने वाचा गर्दै निस्कनुभएका बस्नेत अब कहिल्यै घर फर्कनुहुने छैन । बुबाको साथ र स्नेहसाथ बाँच्ने छोरी चीना र छोरा रामको सपना चकनाचुर बनेको छ । रोगले थलिनुभएका ९१ वर्षीय बुबा कर्णबहादुरमाथि अर्को चोट थपिएको छ । गलकोट नगरपालिका–१० मल्मस्थित परिवार र आफन्तजन शोकमा डुबेका छन् । 

दश वर्षदेखि हराउनुभएका बस्नेतको मृत्युको खबरले सिङ्गो गाउँ पनि चिन्तित छ । दिल्लीसम्मै पुगेर खोजतलास गर्दा पनि कुनै अत्तोपत्तो नलागेपछि परिवारजन थकित र निराश थिए । एकाएक दिल्लीस्थित नेपाली दूतावासबाट मुत्युको खबर आएपछि आश्चर्यमा परिएको दाइ गिनबहादुरले बताउनुभयो । 

दूतावासले गत कात्तिक १६ गते (२ नोभेम्बर) मा ५० वर्षीय जीतबहादुरको मृत्यु भएको जानकारीसहित शव बुझ्नको लागि परिवारलाई खबर गरिदिन जिल्ला प्रशासन कार्यालय बागलुङलाई पत्र पठाएपछि घटना बाहिर आएको हो । दूतावासले संलग्न गरी पठाएको दिल्ली प्रहरी (पुलिस स्टेशन लोधी क्लोनी) को पत्रमा (सन् २००९ जुलाई ९ तारिख) मा दुर्घटनामा परी बस्नेत घाइते भएको उल्लेख छ । 

गम्भीर घाइते बस्नेतलाई तत्काल उद्धार गरी उपचार र हेरचाहको लागि ‘शान्ति निकेतन’ नामक पुनःस्थापना केन्द्रमा पठाइएको प्रहरीको पत्रमा उल्लेख छ । स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि केन्द्रमै बस्नेतको निधन भएको जनाइएको छ । गत कात्तिक १६ मै दिल्लीस्थित ‘एम्स’ अस्पतालमा ल्याइनुभएका बस्नेतलाई चिकित्सकले आधिकारिक रुपमा मृत घोषणा गरेका थिए । 

प्रहरीले बस्नेतको शव ‘एम्स’ अस्पतालको शवगृहमा राखिएको र शव बुझ्न परिवारलाई खबर गरी दिन अनुरोध गर्दै यही मङ्सिर ३ गते नेपाली दूतावासमा पत्र पठाएको थियो । सोही पत्रका आधारमा जिल्ला प्रशासन कार्यालयले परिवारलाई खबर गरी शव बुझ्न मृतक बस्नेतका भाइ भारतीय सेनामा कार्यरत अमर बस्नेतलाई अधिकारप्राप्त व्यक्ति तोकेर पत्र पठाएको थियो । 

दिल्लीमै रहनुभएका बस्नेतले आइतबार पत्र बुझी सोमबार दिल्लीस्थित नेपाली दूतावास पुग्नुभएको थियो । दूतावासले शव बुझ्नको लागि आधिकारिक व्यक्ति प्रमाणित गरेर प्रहरीलाई पत्र लेखेको उहाँको भनाइ छ । भाइ अमर बस्नेतले प्रहरी कार्यालय र पुनःस्थापना केन्द्रमा समेत पुगेर घटनाबारे जानकारी लिनुभएको थियो । 

“मुद्दा हेरिरहेका प्रहरी अधिकृत बिदामा भएकाले आजलाई बोलाएको छ”, उहाँले भन्नुभयो । मृत्युको घटना हेरिरहेको प्रहरी अधिकृत नभएपछि सोमबार शव बुझ्न नसकिएको उहाँको भनाइ छ । पुनःस्थापना केन्द्रका सञ्चालकले प्रहरीको सहायतामा उद्धार गरिएको जनाएका छन् । 

केन्द्र सञ्चालकका अनुसार बस्नेतलाई सरकारी गाडीले ठक्कर दिएर घाइते बनाएको थियो । “अदालतमा मुद्दा चलेको छ भन्ने पनि थाहा भयो”, बस्नेतले भन्नुभयो, “घटनाबारे यथार्थ खुल्न बाँकी छ, हामी सोधखोज गर्दैछौँ ।” 

परिवार र आफन्तजनले मृत्युको घटनाप्रति आशङ्का व्यक्त गरेका छन् । मृत्युको खबर आउने तर दुर्घटना हुँदा, यतिका वर्ष पुनःस्थापना केन्द्रमा बस्दा किन खबर आएन भन्ने प्रश्न गरेका छन् । परिवारले बस्नेत हराउने बित्तिकै दिल्ली पुगेर दरियागञ्जको प्रहरी कार्यालयमा खोजतलास गरिदिन निवेदन दिएका थिए । 

हप्तौँसम्म बसेर दिल्लीमा खोजी गर्दा पनि बस्नेतको अवस्था थाहा हुन सकेको थिएन । दिल्लीबाट आफन्त भेट्न गुढगाउँ पुग्नुभएका बस्नेत फर्कदा बाटोबाटै सम्पर्कविहीन हुनुभएको दिल्लीमै रहनुभएका खड्क साहानीले बताउनुभयो । “दश वर्षपछि एकैचोटी मृत्युको खबर आयो”, उहाँले भन्नुभयो, “यत्रो घटना कसरी लुक्यो ।” 

प्रहरीका अनुसार बस्नेत सन् २००९ को जुलाईमा दिल्लीको सफदरजङ्ग विमानस्थल नजिक दुर्घटनामा पर्नुभएको थियो । बस्नेत दुर्घटनामा पर्नुअघि १५ वर्षसम्म दिल्लीमै बसेर काम गर्नुभएको थियो । “यतिका वर्षपछि भाइ नरहेको खबर आयो”, दाइ गिनबहादुरले भन्नुभयो, “दुःखीसँगै हामी आश्चर्यमा परेका छौँ, यस्तो कसरी भयो ।” बस्नेत सकुशल घर फर्कुनुहुन्छ वा राम्रो खबर आउँछ कि भन्ने आशामा परिवारका सदस्य थिए । संयुक्त परिवारबाट छुट्टिएर अलग बस्दै आउनुभएकी रत्नालाई श्रीमान्को मृत्युले झन पीडा थपेको छ । 

छोरी चिनाको बिहे भइसकेको छ भने छोरा राम पोखरामा पढ्दै छन् । पैसा कमाउन विदेशीनुभएका श्रीमान्को उतै निधन भएपछि उहाँको जीवनमा ठूलो विपद् आइलागेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै