९ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

सामुदायिक वनबाट फाइदै–फाइदा

२० मंसिर २०७५, बिहीबार ०८:५५

मङ्सिर २०, तेह्रथुम | तेह्रथुमको आठराई गाउँपालिका–४, इवाका सूर्यप्रसाद बिमलीलाई सामुदायिक वनबाट पनि लाभ लिन सकिन्छ भन्ने कुरा आफ्नो आधा उमेर बितिञ्जेलसम्म पनि हेक्का थिएन । तर, उहाँले उहिल्यैदेखि त्यही वनबाट घाँस, दाउरा र स्याउला सोत्तर भने ओसारिरहनुभएकै थियो । 

जब सरकारले ०५२ सालताका घरमाथिको ठूलो कालेगैरी सामुदायिक वन समुदायलाई हस्तान्तरण गर्यो, त्यही बेलादेखि गाउँका सबैले मिलेर त्यसको संरक्षण र उपभोग गर्ने अधिकार पनि समुदायलाई मिल्यो । वन क्षेत्रको संरक्षणमा समुदायका सबै जाति, सबै वर्ग र क्षेत्रको संलग्नता हुँदा उपभोगमा समेत समानाधिकार बढ्यो । 

वनको आम्दानीले सबै उपभोक्ताको हितमा काम गर्दै आएको समूहले अहिलेसम्म आइपुग्दा धेरै फड्को मारेको छ । वन समूहमार्फत उपभोक्ताका दैनिकीमा समेत परिवर्तन भएका छन् । वन क्षेत्रमा गरिएको अलैँची, अम्रिसोको खेती, विभिन्न शीर्षकमा सङ्कलन हुने रकम र कतिपय संस्थाले दिने अनुदानसमेत गरी समूहले लाखौँ रुपैयाँको कोष खडा गरेको छ । सरकारले समुदायलाई जिम्मा लगाएपछि उनीहरुले वनको संरक्षण मात्र गरेका छैनन्, प्रत्यक्ष–अप्रत्यक्ष रुपमा फाइदासमेत लिइरहेका छन् । 

तीन वर्षअघि बिमलीको दुहुना गाई मर्दा वन समूहको कोषबाट पाएको २० हजार रुपैयाँको अनुदान सहयोगले पुनः अर्को गाई खरीद गर्नुभयो । कालिपाकै पदम गुरुङले छोरो ढगराज सिकिस्त पर्दा समूहले दिएको १५ हजार रुपैयाँले उपचारमा लैजान सहयोग पुग्यो । त्यही वन समूहमार्फत अनुदानमा टुकी बत्ती पाएपछि समूहकी उपभोक्ता एकल महिला कुमारी गहतराजको छोराले राम्ररी पढ्न पाएको छ । वन समूहमार्फत नै पाएको रकममा पाँच हजार थपेर २० हजारमा गाई किन्नुभएकी फूलमाया बोगटीको परिवारले पनि अहिले दूध, दहीबिनाको भान्सा बस्नु परेको छैन । 

सामुदायिक वनको संरक्षण गर्दै समुदायको पर्यावरणमा समेत असर नपुग्ने गरी यहाँका वन उपभोक्ताले लिएको लाभका उदाहरण यी नै हुन् । आठराई गाउँपालिका–४, इवामा करीब २६ हेक्टर क्षेत्रफलमा फैलिएको वनको उपभोक्ता समूहमा रहेका गरी डेढ सयभन्दा बढी परिवारले सामुदायिक वनबाट लाभ लिइरहेका छन् । 

“पहिले–पहिले वनबाट लिइने फाइदाबारे पत्तै थिएन”, बिमली भन्नुहुन्छ, “अहिले उपभोक्ता समूहमा छलफल र सरसल्लाह गर्न थालेपछि सबै कुरा थाहा हुन थाल्यो, वनको संरक्षण ग¥यो भने सबैलाई फाइदै हुँदोरहेछ ।” सीमित स्वार्थ र व्यक्तिगत फाइदाका लागि वन विनाश गर्नेलाई आफूहरुले सामूहिक रुपमा लिइरहेको लाभले पाठ सिकाउने बिमली बताउनुहुन्छ । 

श्रीमान् बितेपछि सानो छोराको साथमा जीवन गुजारा गरिरहेकी एक्ली कुमारी भन्नुहुन्छ, “अन्धकारमा जीवन गुजार्नु परेको थियो, छोराले पनि पढ्न पाएको थिएन ।” तर समूहमार्फत सोलार बत्ती पाएपछि नानीले पढ्न पाएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । 

समूहका उपभोक्ताले वन क्षेत्रमा लगाएको अलैँची र अम्रिसो खेतीबाट समूहको कोषसमेत बर्षेनी बढिरहेको छ । आफ्नै जग्गा नभएकाले पनि सामुदायिक वनको जमीनमा अलैँची खेती गरेर मनग्य आम्दानी गरिरहेका छन् । यसरी गरिएको खेतीबाट उपभोक्ताले आम्दानीको ३० प्रतिशत समूहमा जम्मा गरेर बाँकी आफैँले उपभोग गर्छन् । 

समूहको कोषबाट उपभोक्तामध्ये कसैको भौतिक सम्पत्ति क्षति हुँदा, प्राकृतिक प्रकोप, रोग बिराम हुँदा तथा विभिन्न आर्थिक सङ्कट आइलाग्दा पाँच हजारदेखि २० हजार रुपैयाँसम्म सहयोग गर्ने गरिएको अध्यक्ष डम्बरबहादुर इङनामले बताउनुभयो । समूहको कोषबाटै गाउँ नजीकको केलिङ निमावि र त्रिमोहन उच्च माविमा शैक्षिक उन्नयनका लागि छात्रवृत्ति अक्षयकोष स्थापना तथा विभिन्न समयमा आर्थिक सहयोग प्रदान गर्ने गरिएको छ । 

समूहको प्रगतिले जिल्लाभरिका अरू सामुदायिक वनलाई समेत सिकाएको छ । जिल्लाभरका ३३० सामुदायिक वनमध्ये कालेगैरी सामुदायिक वन नमूना वन समूहका रुपमा स्थापित भएको सामुदायिक वन उपभोक्ता जिल्ला महासङ्घका अध्यक्ष गणेश सेनेहाङले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो : प्रधानमन्त्री लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र तीन हजार बढी करदाताले बुझाएनन् विवरण कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध राप्रपाले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिए महादेवको मूर्ति निर्माण गर्न महायज्ञमा साठी लाख सङ्कलन ‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’ वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता शिक्षकहरुले संघर्षका कार्यक्रमहरू थप चर्काउने चेतावनी दिए ‘रियल स्टेट’लाई उद्योगको रुपमा विकास गर्नुपर्ने कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग बेलौरीमा जलेको अवस्थामा रानाको शव भेटियो आज संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री नेपाल आउँदै विद्यालय खुल्ने वातावरण बनाउन माग पोप फ्रान्सिसको निधनपछिका कुराहरू सप्तकोशीमा बेपत्ता दुईजनाको खोजी जारी