जथाभावी कालीगण्डकी उत्खनन् गर्न नहुनेमा सवै एकमत, जिविस प्रति चिन्ता

Posted on: 17 Apr, 2016

13014862_1016992588394124_898646645_n पर्वत २०७३ बैशाख ५ । रातारात कालीगण्डकी नदीमा स्काभेटर प्रयोग गरी बालुवा उत्खनन् हुँदा वातावरणीय सन्तुलन विग्रने भनी सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । जथाभावी बालुवा उत्खनन्को विषयलाई लिएर क्रसर व्यवसायी र सरोकारवाला निकायहरुका सम्वन्धित व्यक्तिहरु विच भएको छलफलमा सहभागीहरुले निर्माण सामाग्री चाहिन्छ भन्दैमा नियमविपरीत बालुवाजन्य पदार्थ उत्खनन् गर्ने कार्य रोकिनुपर्ने बताएका थिए ।

क्रसर व्यवसायीले कालीगण्डकी नदीमा रातिको समयमा पनि स्काभेटर प्रयोग गरी बालुवा उत्खनन् गरेको पनि केही दिन पहिले प्रहरीले केही ट्रिपर पक्राउ गरेको थियो । यसरी पक्राउ पर्ने गाडीहरु कालीगण्डकी क्रसर उद्योगका रहेका छन् । प्रहरीले क्रसर व्यवसायीका गाडीहरु राजाको वगर भन्ने स्थानबाट पक्राउ गरेपछि कालीगण्डकीको बालुवा उत्खनन्को विषयलाई लिएर यतिखेर चर्चा चुलिएको हो । जिविस पर्वतसँग नदीजन्य पदार्थ निकासीको सम्झौता गर्नेमा कालिका ईन्फ्रास्ट्रक्चर प्रालि र रामकृष्ण निर्माण सेवा रहेका छन् । यी क्रसर व्यवसायीले नदीको वहाव नै परिवर्तन हुने गरी नियम विपरीत बालुवा, ढुंगा, गिटी जन्य पदार्थ उत्खनन् गर्दै आएको आरोप छ । जिविसले दिएको कार्यदिशा भन्दा विपरित क्रसर व्यवसायीले स्काभेटर लगायतका साधन नदीको विचमा पुराएर बालुवा निकालेपछि वगरको मानववस्ती समेत जोखिम मोल्न बाध्य भएको स्थानीयको गुनासो छ । बालुवा उत्खनन्को सम्वन्धमा सम्झौतामा वगर आसपासको क्षेत्रमा करीव डेढ मिटरको गहिराईसम्म मात्र खोस्रन मिल्ने उल्लेख छ ।

क्रसर व्यवसायीले नियम विपरित मनपरि ढंगले बालुवा उत्खनन् गरेको पनि व्यवसायीका गाडीहरु पक्राउ गरेपछि विवादको विषयमा छलफल गर्न उवासंघ पर्वतले छलफल कार्यक्रमको आयोजना गरेको थियो । छलफलमा क्रसर व्यवसायीका केन्द्रिय सदस्य प्रकाश आचार्य लगायत विप्लव हमाल, रामकृष्ण मल्ल सहभागी थिए भने सरकारी निकायको प्रतिनिधित्व प्रजिअ झंकनाथ ढकाल, स्थानीय विकास अधिकारी युवराज पौडेल, प्रहरी प्रमुख प्रनाउ गंगा पन्त, उवासंघका अध्यक्ष हरिओम लामिछाने, कानून व्यवसायीहरु, उवासंघका सदस्य, संचारकर्मी लगायत सरोकारवाला व्यक्तित्वहरु सहभागी थिए ।

क्रसर व्यवसायी संघका केन्द्रिय सदस्य प्रकाश आचार्यले पुरानो कानून अनुसार बालुवा उत्खनन् गर्दा मजदुर प्रयोग गर्नुपर्ने हुन्छ । यसरी बालुवा उत्खनन् गरी व्यवसाय चलाउदा व्यवसायले आफ्नो लगानी उठाउन कठिन पर्ने बताए । उनले त्यति मात्र नभनि राज्यको कानून मान्नुपर्दा क्रसर व्यवसायीले चोरले जसरी रातिमा बालुवा झिक्नुपरेको समेत भन्न पछि परेनन् ।

क्रसर व्यवसायीले राज्यले उत्खनन्का लागि स्वीकृति र सम्झौता गर्ने तर काम गर्न नदिएर अवरोध गरेको भनी गुनासो गरेका थिए । बालुवा उत्खनन्को विषयलाई लिएर छलफल कार्यक्रममा चर्काचर्की नै भए पनि अधिकांश सहभागीहरुले कालीगण्डकीबाट अवैद्य रुपमा बालुवा झिक्ने र पर्यावरणमा संकट ल्याउने कार्य रोकिनुपर्नेमा एकमत राखे । सहभागीहरु जथाभावी उत्खनन्को विपक्षमा उभिएपछि क्रसर व्यवसायीहरुले चुप्पी साध्नु परेको थियो ।

क्रसर व्यवसायीले बालुवा उत्खनन् गर्दा नियम भित्र रहेर मात्र गर्नुपर्नेमा सरोकारवालाहरु एकमत भएपछि राजनीतिक दलका जिल्ला प्रतिनिधिहरु समेत क्रसर व्यवसायीको विरोध गर्न बाध्य भएका थिए । क्रसर व्यवसायीका स्काभेटर पक्राउ गरी चर्चामा आएकी प्रनाउ पन्तले आफू नियम र कानून भन्दा बाहिर जान नसक्ने बताउदै आफू पैसाका लागि कहिकतै नचुक्ने कुरा दोहोराईन् । प्रनाउ पन्तले व्यवसायमा ईमान्दारिता देखाउन समेत क्रसर व्यवसायीलाई आग्रह गरिन् । कार्यक्रममा जिविस पर्वतले क्रसर व्यवसायीले अवैध ढंगबाट बालुवा उत्खनन् गर्दा पनि कुनै चासो नदिएको भन्ने समेत आरोप लागेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!