उमा केसी, असार ११, रोल्पा । रोल्पा सदरमुकाम लिवाङको शिवालय टोलमा बस्छन् ४५ वर्षीय श्यामलाल सुनार । त्यसै गाउँका रैथाने सुनार गर्भमै रहेका बेला बुबाको मृत्यु भयो । आमाको मृत्यु हँुदा श्यामलाल १० वर्षका थिए । बुबाआमाले छाडेर गएपछि उनी एक्लै भए । सानै उमेरदेखि भारत जान थालेका दाजु ओविलालले विवाह गरेर उतै बसेपछि त श्यामलाल सहाराविहीन नै भए । ज्याला मजदुरी गरेर साँझ बिहानको जोहो गर्दै आएका उनले सँगै काम गर्ने अप्सरासँग विवाह गरे ।
विवाहपछि सुनार दम्पतीले दुई छोरा जन्माए । कान्छो छोरा विकास एक वर्ष नपुग्दै अप्सरा घरबाट निस्किइन् । श्रीमती कहाँ गइन् भनेर निकै खोजतलास गरे श्यामलालले । तर भेट्टाउन सकेनन् । गाउँलेबाट सुने अप्सराले अर्को ठाउँ विवाह गरिसकिन् । त्यसपछि नाबालक छोरा विवेक र विकासलाइ पाल्ने, हुर्काउने बढाउने जिम्मा श्यामको काँधमा आयो । दिउँसो ज्याला मजदुरी गरेर ल्याएको पैसाले साँझ बिहानको छाक टार्थे उनी । नाबालक छोराहरु रेखदेख गर्ने मान्छे घरमा कोही नभएपछि आफूले काम गर्ने ठाउँमा दुवै छोरालाई लैजान्थे । श्यामले गिट्टी फोर्ने काम गर्छन् भने छोरा दिनभर धुलोमा खेल्छन् । श्यामको लामो समय यसैगरी बिते ।
जेठो छोरा विकास पाँच वर्ष र कान्छो छोरा विवेक चार वर्ष पूरा भएका छन् । कान्छो छोरा विवेकको हातखुट्टा चल्दैनन् । उभिन र बस्न नसक्ने भएपछि विवेकलाई दिनभर घरभित्रै थुनेर कामको खोजीमा निस्कन्छन श्यामलाल । “काम नखोजे के खाएर बाँच्ने, त्यसैले दिनभरि घरको कोठामा थुनेर काममा जान्छु”, श्यामलालले भने, “कहिलेकाहीँ त बिहान निस्केको एकैचोटि बेलुका फर्कनुपर्छ, त्यस्तो बेला दिसापिसाबले घेरिएर बसेको हुन्छ ।” घरमा खानेवस्तु नभएकाले दिनभरि भोकभोकै बस्छन् उनको परिवार । काम गरेको पैसाले साँझ बिहान छाक टार्न धौधौ हुन्छ श्यामलाललाई ।
सरकारले पाँच वर्षमुनिका दलित बालबालिकालाई मासिक रु २०० का दरले पोषणभत्ता दिने गर्दछ । श्यामलालका दुई छोराले सो भत्ता पाउँदै आएका छन । दलित बालबालिकाको पोषण सुधारका लागि दिएको उक्त भत्तासमेत श्यामलालले घरमा जडान गरेको विद्युत्को बिल तिर्नमा खर्च गर्छन् । “विद्युत् समयमा नतिरे लाइन काट्ने भएकाले छोराहरुले पाउने भत्ता बचाइराखेर तिर्दै आएको छु”, श्यामलालले भने । छोराहरुले पाउँदै आएको भत्ता उनीहरुको पोषण सुधारको लागि हो भन्ने जानकारी पनि छैन श्यामलाललाई । पानीको धारा जडान गर्ने पैसा नहँुदा श्यामलाल छिमेकीमा पुगेर एक गाग्री पानी भर्छन । त्यही पानीले दिनभर पु¥याउनुपर्छ उनलाई । “शौचालय जाने पानी हँुदैन, कपडा धुनका लागि एक घण्टा टाढाको खोलामा जान्छु”, श्यामलालले भने ।
जेठो छोरालाई यसै वर्षदेखि विद्यालय पठाएका छन् । “पाँच वर्ष पुगेर पनि स्कूल नपठाएको भनेर घरमै गुनासो गर्न आएपछि बालमन्दिरमा भर्ना गरेको छु”, श्यामलालले भने, “विद्यालयमा ऊ दिनभर भोकभोकै बस्छ । के नास्ता दिने र ? घरमा नास्ता बनाउने अन्न नै छैन ।”
शुरुमा दुवै छोरालाई कुपोषण भएपछि विभिन्न संस्थाको सहयोगमा दाङमा रहेको पोषण सुधारगृहमा पनि राखे उनले । पोषण सुधारगृहमा बसेको केही समयपछि छोराहरु लिएर घर फर्किए श्यामलाल । जेठो छोरालाई त ठिक भयो । कान्छो छोराको भने कुपोषणमा सुधार हुन सकेन ।
शिक्षा र स्वास्थ्यलाई मौलिक हक भनिए पनि श्यामलालको परिवार यस्ता कुराबाट वञ्चित हुँदै आएको छ । अत्यधिक गरीबीका कारण उनले कुपोषित छोराको उपचार गराउन सकेका छैनन् भने विद्यालय पठाउनसमेत धौधौ परिरहेको छ । स्वच्छ खानेपानी र सरसफाइको बहस भइरहँदा उनले आधारभूत तहको खानेपानीसमेत उपभोग गर्न पाएका छैनन् । देशमा ठूलो राजनीतिक परिवर्तन भएको भनिए पनि श्यामलाललाई भने त्यसले पटक्कै छुन सकेको छैन ।