२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कोरोना भाइरसको शङ्का भएकाको परिचय गोप्य राख्नुपर्छ’

२०७६, १४ चैत्र शुक्रबार १०:५४

भीष्मराज ओझा, चैत १४, काठमाडौँ  । सञ्चारमाध्यम र सञ्चारकर्मीले कोभिड–१९ को सङ्क्रमण सम्बन्धमा समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा आशङ्कित वा सङ्क्रमितको आशङ्का गरिएका वा सङ्क्रमितको व्यक्तिगत गोपनीयतामा ध्यान दिनुपर्ने व्यवस्थासहितको निर्देशिका जारी गरिएको छ । प्रेस काउन्सिल नेपालले कोरोना भाइरसको सङ्क्रमण सम्बन्धमा समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा अपनाउनुपर्ने सावधानी र निर्वाह गर्नुपर्ने दायित्वका सम्बन्धमा उक्त निर्देशिका हालै जारी गरेको हो ।

निर्देशिकाअनुसार कोरोना भाइरसको शङ्का भएकाको परिचय गोप्य राख्नुपर्छ, सङ्क्रमित व्यक्तिलाई नकारात्मक असर पार्नसक्ने सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नु हुँदैन । सङ्क्रमित व्यक्तिको सचेत स्वीकृति र सम्बन्धित आधिकारिक स्रोतको अनुमति विना परिचय सार्वजनिकसमेत गर्नु हुँदैन । 

यसैगरी पत्रकार तथा सञ्चारमाध्यमले कोरोना सङ्क्रमणसम्बन्धी सत्य–तथ्य र आधिकारिक स्रोत वा विषय विज्ञबाट पुष्टि भएका समाचार सामग्रीमात्र सम्प्रेषण गर्नुपर्छ ।

पत्रकार तथा सञ्चारमाध्यमले सामाजिक सञ्जालमार्फत प्रवाह गर्ने कोरोना सङ्क्रमणसम्बन्धी समाचार, लेख, सूचना वा जानकारी मर्यादित, सत्य तथ्यपूर्ण र आधिकारिक हुनुपर्दछ । साथै सामाजिक सञ्जालका अन्य प्रयोगकर्ताले प्रवाह गरेका कोरोना सङ्क्रमणसम्बन्धी समाचार, जानकारी वा लेख र प्रतिक्रियालाई शेयर, लाइक वा रिट्विट गरी पुनः प्रकाशन गर्दा पत्रकार तथा सञ्चारमाध्यमले आफूले प्रकाशन गरेसरह आधिकारिकता समेतको ख्याल गरी सम्प्रेषण गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

पत्रकार तथा सञ्चारमाध्यमले कोरोना सङ्क्रमणसम्बन्धी समाचार सामग्री प्रवाह गर्दा कोरोना भाइरसलाई कुनै देश, क्षेत्र वा समुदायसँग जोड्ने वा तिनका कारण फैलिएको भनेर आरोपित गर्नु हुँदैन । निर्देशिकाअनुसार कुनै पनि सङ्क्रमित व्यक्तिलाई लाञ्छना वा व्यक्तिगत आरोप लगाउने गरी समाचार सम्प्रेषण हुनु हुँदैन । जातीय, लैङ्गिक, धार्मिक, क्षेत्रीय, भाषिक, राजनीतिक आस्था, वर्ण वा शारीरिक, मानसिक अवस्था जस्ता कुनै पनि आधारमा कसैमाथि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी समाचार सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नु हुँदैन ।

पत्रकार तथा सञ्चारमाध्यमले कोरोना सङ्क्रमणसम्बन्धी समाचार सामग्री प्रवाह गर्दा नेपाल सरकारको आधिकारिक निकायबाट पुष्टि नभएका अनधिकृत, गलत र अतिरञ्जनापूर्ण सूचना तथा हल्लालाई स्थान दिनु हुँदैन । पाठक, श्रोता र दर्शकमा निराशा वा उत्तेजना हुन नदिन सदैव विशेष संवेदनशीलता र सतर्कता अपनाउनुपर्ने निर्देशिकामा जनाइएको छ ।

त्यस्तै पत्रकार तथा सञ्चारमाध्यमले सङ्क्रमित व्यक्तिका नातेदार वा नजीकका व्यक्तिको नाम, ठेगाना र पहिचान खुल्ने गरी समाचार, तस्बिर र दृश्य उत्पादन, वितरण वा प्रकाशन–प्रसारण गर्नु हुँदैन । सङ्क्रमण भई निधन भएका व्यक्तिका दृश्य एवं तस्बिरहरूसमेत सम्प्रेषण गर्नु हुँदैन ।

पत्रकार तथा सञ्चारमाध्यमले प्रवाह गरेका कोरोना सङ्क्रमणसम्बन्धी समाचार सामग्रीमा कुनै पनि त्रुटि एवं गल्ती भेटिएमा यथाशीघ्र सच्याई त्यसबारे सोही सञ्चारमाध्यमबाट सार्वजनिक जानकारी गराउनुपर्दछ । साथै प्रेस काउन्सिलले गल्ती सच्याउन दिएको निर्देशनको तत्काल पालना गर्नुपर्ने निर्देशिकामा व्यवस्था छ ।

निर्देशकाको पालना गरे/नगरेको प्रेस काउन्सिलले अनुगमन गरी प्रेस काउन्सिल ऐन २०४८ र पत्रकार आचारसंहिता, २०७३ (संशोधित–२०७६) अनुसार आवश्यक कारवाही गर्न सक्नेछ । नेपाल पत्रकार महासङ्घको सहमतिमा प्रेस काउन्सिलले सबै सञ्चारमाध्यम र सञ्चारकर्मीलाई लागू हुनेगरी महामारीलगायत जनस्वास्थ्यसँग सम्बन्धित समाचार सम्प्रेषण निर्देशिका २०७६, यही चैत १० गते जारी गरेको हो । महासङ्का केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले महामारी र विपद्का बेलामा फैलन सक्ने हल्ला र भ्रमप्रति सचेत रहेर सञ्चारमाध्यम र पत्रकारले यस्तो बेलामा विश्वनीय समाचार सम्प्रेषण गर्नका लागि यो निर्देशीका सहयोगी हुने बताउनुभयो । 

प्रेस काउन्सिलले हालै मात्र नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा आचारसंहिता र निर्देशिका विपरीत कोरोना भाइरस सङ्क्रमणसम्बन्धी भ्रामक समाचार सम्प्रेषण गर्ने दर्ता नै नभएका करीब दुई दर्जन वेबसाइटहरु बन्द गरिसकेको छ । यसबाहेक विभिन्न ३२ सञ्चारमाध्यमलाई आचारसंहिता विपरीतका समाचार सामग्री हटाउन लगाई २४ घण्टे स्पष्टीकरण सोधिएको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन