२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

कालापानी जाने सडक हुँदै व्यासी सौकाको कुञ्चा हिड्यो

२०७७, ८ जेष्ठ बिहीबार १६:२७

जेठ ८, दार्चुला | बन्दाबन्दीका कारण व्यास गाउँपालिकाको छांगरु र तिंकर उक्लिन नपाएका व्यासी सौका समुदायको कुञ्चा सरेको छ । सदरमुकाम खलंगास्थित नेपाल भारत जोड्ने झोलुङ्गे पुल भएर सौका समुदायको कुञ्चा सरेको हो । 

भारतको पिथौरागढ जिल्ला र नेपालको दार्चुला जिल्लाका अधिकारीबीच भएको सहमतिअनुसार व्यासीको कुञ्चा सरेको हो । कुञ्चा भनेको व्यासीको सौका समुदायको भाषामा बसाइ सर्नु हो । व्यासीहरु भारतले हालै उद्घाटन गरेको कालापानी लिपुलेक हुँदै चीन जोड्ने सडक भएर गाउँ फर्किएका छन् । उनीहरु व्यासस्थित नेपाल भारत जोड्ने सीतापुल भएर गाउँ पुग्नेछन् । हिमाली क्षेत्रका याक, झुपू र गाईबस्तु सदरमुकाममै अड्किएपछि उनीहरुलाई भारतीय बाटो भएर गाउँ पठाइएको छ ।

गत वैशाख पहिलो साता नै गाउँ उक्लिनुपर्ने व्यासीहरु दुवैतर्फ बन्दाबन्दीका कारण गाउँ जान पाएका थिएनन् । नेपालतिरको बाटो अवरुद्ध छ । गर्मीले समस्या हुन थालेपछि व्यासीहरुलाई पुल खोल्ने सहमतिपछि कुञ्चा सार्न अनुमति दिइएको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुँवरले बताउनुभयो । 

व्यासीहरुका पशुचापौया खलंगामै समस्या परेपछि उनीहरुलाई गाउँ पठाइएको हो । भारतीय बाटो हुँदै उनीहरु गाउँ फर्किएका छन् । व्यास–१ छांगरुका स्थानीय विमल बोहराले यो पटक एक महिना ढिलोगरी कुञ्चा सरेको बताउनुभयो । “आफ्नै भूमि भएर गाउँ जान नपाएपछि दुवै गाउँका स्थानीय भारतीय बाटो भएर पशुचौपायासहित गाउँ गएका छौँ”, उहाँले भन्नुभयो । 

उहाँले नेपाल सरकारले एक वर्षसम्म पनि नेपालतिरको बाटो खुलाउने प्रयास नगर्दा भारतसँग अनुरोध गरेर कुञ्चा सर्नु परेको दुखेसो गर्नुभयो । “सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई हेलिकप्टरमार्फत व्यासको छांगरु पुर्याइयो”, बोहराले सुनाउनुभयो, “हामी पनि राष्ट्रियता बलियो भएको हेर्न चाहन्छौँ, राज्यको उपस्थिति नहुँदा पनि कालापानी नजिकैका गाउँमा बस्ने हामी हौँ ।”

यो पटक व्यासीहरुले आफ्ना लालाबालासहित गाउँ गएका छन् । दशकौँ भएको थियो, बच्चाहरु गाउँ नलगेको । यो पटक बन्दाबन्दीले विद्यालय पनि बन्द छन् । सदरमुकाम खलंगा भन्दा गाउँ नै सुरक्षित हुने देखिएपछि यो पटक बालबच्चासहित स्थानीय कुञ्चा सरेका व्यासका जहेन्द्र ऐतवालले बताउनुभयो । 

“विसं २०५५/५६ यता हामीले लालाबालासहित गाउँ गएका थिएनौँ”, उहाँले भन्नुभयो, “यो पटक कोरोनाका कारण पनि बालबच्चासहित गाउँ बसाई सरेका छौँ ।” व्यास तिंकरका स्थानीयले पशुचौपायासहित भारतीय बाटो भएर गएका छन् भने छांगरुका कतिपयले नेपालकै बाटो भएर पशुचौपाया लगेका छन् । 

वैशाखमै गएर खेतीपाती लगाउनुपर्ने मौसम भए पनि यो पटक एक महिना बढी ढिलाई भइसकेको उहाँले बताउनुभयो । “व्यासीहरुले खेतीपाति लगाउन सकेका छैनन्, खेत पूरै बाँझै छन्, वैशाखमा खेती लगायो भने फल्छ, यो पटक अहिले गएर खेती लगाउँदा कहिले पाक्ने हो”, वडाध्यक्ष अशोकसिंह बोहराले भन्नुभयो । व्यासीहरु वर्षमा एक पटक मात्रै खेती गर्ने गर्छन् । व्यासीहरुको मुख्य पेशा कृषि, पशुपालन र त्रिदेशीय व्यापार हो । यो पटक भने बन्दाबन्दीका कारण सबै व्यवसायमा क्षति पुगेको व्यासीहरु बताउँछन् । 

व्यासको वडा नम्बर १ छांगरुमा ११५ परिवार र तिंकरमा ६५ घरधुरीको बसोबास छ । व्यासीहरुको छ महिना चिसो छल्न कात्तिक मङ्सिरमा खलंगा झर्ने गर्छन् । 

सदरमुकाम खलंगामा पनि छांगरु र तिंकरका स्थानीयको बसोबास छुट्टै छ । परम्परागत रुपमा नै उनीहरुले खलंगामा छांगरु र तिंकर गाउँ बजारमा छुट्याएका छन् । तिंकरीहरु सदरमुकाम खलंगाका तिंकरी खेडामा बस्छन् । तिंकरीका खलंगामा मोती महिला सङ्घ आधारभूत विद्यालय तिंकर खलंगामै बस्छन् । 

द्वन्द्वकालअघि देखि नै व्यासीहरुका बालबच्चा सदरमुकाम खलंगामै पढ्न थालेपछि विद्यालय पनि खलंगामै सञ्चालन गरिन थालेको व्यासका दानसिह तिंकरी बताउनुुहुन्छ । अहिले व्यासमा वडा कार्यालय र स्वास्थ्य चौकी कुञ्चासँगै माथि उक्लिने र तल झर्ने गर्छन् । 

व्यासमा रहेको भन्सार कार्यालय पुनःस्थापना भएको छैन । सीमा प्रशासन कार्यालय पनि खलंगामै छ । यी कार्यालयहरु लामो समयदेखि पुर्नस्थापना भएका छैनन् । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयको रेन्जपोष्ट निर्माण भएको भए पनि बन्दाबन्दीका कारण व्यास सरेका छैनन् भने नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई गत वैशाख ३१ गते हेलिकप्टरमार्फत पुर्याइएको छ । 

व्यासीका लागि नेपालतिर भएर जान पञ्चायतकालमा निर्माण गरिएको घोरेटो बाटो द्वन्द्वकालदेखि सञ्चालन हुन सकेको छैन । व्यासका स्थानीय भारतीय मार्गबाट हिड्न थालेपछि नेपालतिरको बाटो निर्माणमा राज्यको ध्यान जान नसकेको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा