प्युठानमा पहिरोले ५ को मृत्यु, ११ जना बेपत्ता

Posted on: 26 Jul, 2016

सलिम अन्सारी/साउन ११, प्युठान । गएरातिबाट परेको अबिरल बर्षा पछि गएको बाढी पहिरोले जिल्लाको जनजिवन  पुर्ण रुपमा प्रभावित भएको छ ।जिल्लाका विभिन्न स्थानमा दुई सय बढी परिवार बिस्थापित भएका छन ।

जिल्लाको पुजामा पहिरोबाट आमाछोराको मृत्यु भएको छ।पुजा गाविस वार्ड नम्बर १ निबासी  ३५ बर्षिया सुपारी मल्ल र उनका १३ बर्षिया छोरा मुकेश मल्लको मृत्यु भएको हो।त्यस्तै लुङ ६ बहाने बजारमा स्थानिय शिशिर रिजालको घर भत्किदा उनकी अन्दाजी ३२ बर्षिया शृमति शोभा रिजाल बेपत्ता भएको खबर छ ।  

बहाने कै सिमबुटामा धोज बहादुर पुनको घर पहिरोले पुरिएको छ।स्थानिय बसन्ता केसिको घर पहिरोले पुरिदा डेरा गरि बस्ने अन्दाजी २५ बर्षिया काली परियार,११ बर्षिया किरण थापा र अन्य २ जना पुरिएका छन् ।

खबाङ गाबिस वार्ड नम्बर ३ सुत्लाबाङमा दबिले बिकको घर पहिरोले पुरिदा उनकी पत्नी  ८० बर्षिया कुट्ली बिक र १६ बर्षिया दिपेश सुनार गरि ३ जना बेपत्ता भएका छन।त्यस्तै अर्खा ६ मा देव बहादुर बुढा सहित ३ जना बेपत्ता भएका छन ।

धोज बहादुर पुनको २८ बर्षिया छोरी पबित्रालाइ भने सकुसल उद्धार गरिएको छ । जिल्ला प्रहरिका अनुसार पहिरोमा पुरिएर  ११  जना बेपत्ता भएका हुन । यो समाचार तयार पार्दासम्म  झिमरुक नदि किनारमा फेला परेका ३ वटा मृत शबलाइ जिल्ला अस्पताल बिजुवारमा राखिएको छ। शबको अझै सनाखत हुन सकेको छैन । जिल्लाका दर्जनौं स्थानका बस्तीहरु उच्च जोखिममा छन् ।


बाढी पहिरोले बिनासै बिनास

भारी बर्षातका कारण गएको बाढी पहिरोले जिल्लाका विभिन्न ठाउमा  ठुलो क्षती पुर्याएको छ ।बाढी र पहिरोको सन्त्रासमा प्यूठानका गाउँ गाउँमा रात गुजारेका छन् । प्यूठान नगरपालिका १३ सापडाँडामा ४ वटा घर भत्किएका छन् । स्थानीय र प्रहरीले घरमा रहेकाहरुलाई उद्वार गर्यो ।

स्याउलिवाङ ५ मा पहिरोका कारण १८ घर उच्च जोखिममा रहेको स्थानीयले बताए । स्थानीयको सहयोगमा जोखिममा रहेकाहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको बताइएको छ । पहिरोका कारण अर्खा गाविस वडा नं. ६ को एक बस्तिमा ३० घर उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् । 

फोप्ली गाबिस वार्ड नमबर ५ गतिलामा करिब ४ दर्जन घर पहिरोको जोखिममा परेपछी स्थानियहरु घर छाडेर स्थानिय बिधालयमा आश्रय लिइ बसेका छन।पहिरोले फोप्लि ७ बासकोटको पुरै गाउँ बिस्थापितको खतरामा रहेको स्थानिय नारायण रसाइलिले जानकारि दिए ।  

बाढिले बरौलामा हालै निर्माण गरिएको प्युठान अर्घाखांची जोड्ने चुकाखोलाको पक्की पुलको रेलिङमा  क्षती पुर्याएको स्थानिय पुष्पा जिसिले बताए।बाढी र पहिरोले उत्तरी प्युठानका रजवारा, अर्खा,खबाङ,पुजा, फोप्लि,लुङ लगायतका गाबिस बढी प्रभावित भएका छन ।

जोखिम क्षेत्रमा उद्धारका लागि  सुरक्षाकर्मी परिचालन  गरिएको  प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।उनले पहिरोले जिल्लामा धनजनको नोक्सानी भएको भन्दै सुरक्षा निकायको बैठक बसि जनशक्ती खटाइएको जानकारि दिए। त्यसै गरि ढुङ्गेगदी ३ बड्डाडा बजारमा रहेको खानेपानीको ट्याङ्की पहिरोकोउच्च जोखिममा छ ।

५ बर्ष अघि जिल्ला खानेपानीको १३ लाख रुपैया र स्थानियको श्रमदानमा निर्माण गरिएको ट्याङ्की पहिरोको जोखिममा रहेको हो । 

उक्त सेफ्टी ट्याङ्किबाट बजारका झन्डै १ सय ५० घरधुरिले खानेपानीको सुबिधा लिदै आएको खानेपानी ब्याबस्थापन समितिका अध्यक्ष गोपिलाल उपाध्यायले जानकारी दिए । पहिरोको खतरा बढेपछी खबाङ गाउंका १९ परिवार रातभर सामुदायिक बनको भवनमा आश्रय लिइ बसेको स्थानियले बताए।आफुहरुलाइ उद्धार गरिदिन स्थानियले आग्रह गरेका छन ।

जिल्लाको जुम्री खोलामा पानिको बाहाव अत्याधिक भएपछि नयाँ बजारका स्थानीय त्रसित छन् । बाढी र वर्षाका कारण ग्रामिण सडक खण्डमा ठाउँ ठाउँमा गएको पहिरोका कारण अवरुद्ध भएका छन् । झिमु्रक नदीमा पछिल्लो १४ वर्षकै ठूलो बहाव भएको बुटवल पावर कम्पनी दारिमचौरले जनाएको छ ।

नदीमा अत्यधिक बहाव बढेकाले दुई दिनदेखि बुटवल पावर कम्पनीको उत्पादन बन्द भएको छ । रजवारा गाविसमा स्थानीयले आफैले निर्माण गरेको थाराखोला लघु जलविद्युत् आयोजना, तिखाचुली लघु जलविद्युत् आयोजना र सिरिङ खोला जलविद्युत् आयोजना पूर्णरुपमा बगाउँदा करिब ९०० घरधुरी अध्याँरोमा बस्नुपरेको स्थानीय जोगेन्द्र मल्लले जानकारी दिए ।

अर्खा गाविसमा पनि तीनवटा लघु जलविद्युत् आयोजना बाढीले बगाएको छ ।

 सुसाउने खोला, जुरढुङ्गा कोर्चे र कालिमाटी लघु जलविद्युत् आयोजनाको तार, पोल र विद्युत् उत्पादनगृह बाढीले बगाएको सुसाउने खोला लघु जलविद्युत् आयोजनाका अध्यक्ष पुमलाल घर्तीले जानकारी दिए ।

जिल्लाको स्याउलीवाङ गाविसमा रहेको सरिमाखोला लघु जलविद्युत् आयोजनामा कम्पनीका सबै भौतिक संरचना बाढीले बगाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!