बागलुङमा थप एक साता निषेधाज्ञा

Posted on: 24 Aug, 2020

भदौ ८, गलकोट (रासस) । बागलुङमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सदरमुकामसमेत रहेको बागलुङ बजारको समुदायमा सङ्क्रमण फैलिएको निष्कर्षसहित यही भदौ ३ देखि ९ गतेसम्म गरिएको निषेधाज्ञा सोमबार बसेको जिल्ला प्रशासन कार्यालय र सरोकार हुनेको बैठकले थप एक साता जारी राख्ने निर्णय गरेको हो । 

गत साउन ३१ र ३२ गते बागलुङ नगरपालिका–२ र ३ का दुई महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि समुदायमा सङ्क्रमण फैलिएको थियो । बागलुङ बजारकै दुई महिलाकै सम्पर्कमा आएकामा हालसम्म नौ जनामा कोरोना पुष्टि भएपछि थप निषेधाज्ञा गर्न  नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरेको नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । 

सोमबार जिल्ला प्रशासन कार्यलय बागलुङ र सरोकार भएकाहरुबीच भएको बैठकले एक साता थप गरी भदौ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो । 

प्रशासन कार्यालय र सरोकार पक्षबीचको बैठकले यसअघि खुला रहेको बैंक तथा वित्तीय संस्था पनि पूर्ण रुपमा बन्द गर्ने र अत्यावश्यकीय खाद्य पदार्थ, तरकारीलगायत पसल दिनमा एक समय मात्र बिहान ७ देखि ९ बजेसम्म मात्र खुलाउने निर्णय गरेको छ । 

अब लक्षण देखिएका सङ्क्रमितलाई धौलागिरि अस्पताल र क्याम्पस तथा लक्षण नदेखिएकालाई धोैलागिरि बहिरा स्कूल रामरेखामा राखिने बैठकले निर्णय गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!