अपडेटः प्यूठानमा माओवादी केन्द्रीय सदस्यसहित थप सात जनाको मृत्यु

Posted on: 27 Jul, 2016

प्यूठान, १२ साउन । अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण प्यूठानमा आज थप सात जनाको मृत्यु भएको छ । गएराति फोप्ली– ६ सीमामा– पाँच घर पहिरोले बगाउँदा सातजनाको मृत्यु भएको हो । 

घटनामा परी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबहादुर केसीसहित उनकी श्रीमती विन्दु केसीको मृत्यु भएको छ । त्यस्तै घटनामा परी नारयाण केसीको मृत्यु भएको छ भने उनको श्रीमती नानुमैया केसीको उद्धार गरिएको छ । घर माथिबाट आएको पहिरोले घर बगाउँदा दोणबहादुर केसी र उनकी श्रीमती पवित्रा केसीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटनामा परी जाहेश्वर बुढाथोकी र उहाँकी श्रीमती पिमा बुढाथोकीको पनि मृत्यु भएको छ । 

त्यस्तै फोप्ली–३ मा मङ्गलबार बेपत्ता भएका खस्की पुन, रक्षानी पुन, सेतुमा पुन, शेरबहादुर पुन, कुमारी पुन र टुकमला पुनसहित १३ जना अझै बेपत्ता रहेका छन् । उनीहरुको नेपाली सेवा, नेपाल प्रहरी तथा स्थानीयवासीको सक्रियतामा खोजीकार्य जारी राखिएको छ । 

यसैबीच जिल्लास्तरबाट उद्धार तथा राहातका लागि प्रभावकारी भूमिका नभएको भन्दै जिल्लास्थित सरोकारवाला तथा राजनीतिक दलले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् । आज बिहान सम्पन्न भएको जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकमा दलले संयुक्त रुपमा प्रभावकारी उद्धार नभएको भन्दै सामूहिक ध्यानाकर्षण गराएको नेपाली काँग्रेस प्यूठानका सचिव देवेन्द्र वर्माले जानकारी दिए । 

त्यस्तै जिल्ला दैवी प्रकोप उद्धार समितिले जिल्लामा उद्धार तथा खोजकार्य प्रभावकारी बनाउनका लागि आफ्ना सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ । 

जिल्लामा महाविपत्तिनै आएको भन्दै समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जनकराज पन्थले जिल्लामा उद्धार तथा खोजका लागि नेपाली सेवा, नेपाल प्रहरी लगायतको पहिचालन प्रभावकारी बनाइएको बताउनुभयो । जिल्लाको उत्तरी क्षेत्रमा यातायात र प्रभावकारी सञ्चारको अभावमा समस्या समेत भएको बताइएको छ । 

आज बिहान सम्पन्न भएको समिति बैठकले जिल्लामा हाल दिँदै आएको तीन हजार राहत रकमलाई वृद्धि गरी पाँच हजार वितरण गर्ने समेत निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यस्तै प्यूठानमा हालसम्म मृत्यु हुनेको सङ्ख्या २१ जना पुगेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!