जिप्रकाको आ.व ०७२/७३ को समिक्षा: प्रहरी कारवाही देखि सचेतना जागरणसम्म

Posted on: 29 Jul, 2016

साउन १४, पर्वत । जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउनको संख्या तीन बर्षकै यता बढेको तथ्याङकले देखाएको छ । 

तीन बर्षको तुलनामा आ.व ०७२।७३ मा उजुरी दिनको संख्या बढेको पाइएको हो । आव ०७२।७३ मा १६८ वटा उजुरी दर्ता भएका छन् भने जसमा १०७ फस्यौट र ६१ वटा आव ०७३।७४ को लागि थप जिम्मेबारी सरी आएका छन् ।त्यस्तै आ.व ०७१।७२ मा १३३ उजुरी दर्ता भएका थिए जसमध्ये ६९ फस्यौट र ६४ जिम्मेबारी सरी आएका थिए भने आव ०७०।७१ मा १३९ उजुरी मध्ये १३६ फस्यौट र ३ बाँकी रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्वतले बुधबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी त्रिबर्षिय बार्षिक डाटा बारेमा जानकारी गराएको थियो । कार्यक्रममा प्रनाउ गंगा पन्तले प्रहरीको आगामी दिनको कार्य तथा भावी रणनीतिको बारेमा समेत जानकारी गराएकी थिइन । 

पन्तले प्रहरीले निशुल्क जाहेरी तथा निशुल्क सेवा सूचारु गरेको समेत बताइन । उनले निशुल्क जाहेरीमा गम्भीर प्रकृतिमा आफुहरुले जाहेरी लेख्ने काम नगर्ने तर महिला तथा बालकालिकाको क्षेत्रमा भने आफुहरुले काम गर्ने बताइन । 

उनले आव ०७२।७३ मा प्रहरीले जिल्लामा १७ भन्दा बढी सचेतनाका कार्यक्रम संचालन गरेको बताइन । महिलाहिंसा, घरेलु मदिरा तथा चलेबेटी बेचविखन र ट्राफिक सचेतनाका बारेमा आफुहरुले विभिन्न ठाउँमा सचेतनाका कार्यक्रमहरु गरेको र आगामी आर्थिक बर्षमा पनि जारी रहने बताइन ।


घरेलु हिंसा बढ्दो

जिल्लामा पछिल्लो समयमा घरेलु हिंसाका घटनाहरु बढेको पाइएको छ । 

घरेलु मदिरा तथा मादक पदार्थ सेवनका कारण घरेलु हिसा हुने गरेको छ । जिल्लामा आ.व ०७२।७३ मा १०९ वटा घरेलु हिंसाका घटना दर्ता भएको प्रहरीले जनाएको छ । जसमध्ये ८३ वटा मिलापत्र भएको र १५ वटा सम्बन्ध विच्छेद, ३ मिलापत्र र ८ बाँकी रहेको तथ्याङकमा उल्लेख छ । 

मदिरा सवेनका कुटपीट तथा सम्बन्ध विच्छेद तथा अन्य घटनाहरु हुने गरेको प्रहरीले जनाएको छ । आ.व  ४७ वटा ठाडो उजुरी परेको र ४७ वटै समधान भएको छ । आ.व ०७१।७२ मा ६९ र ०७०।७१ मा १० वटा घरेलु हिंसाको उजुरी परेका थिए । 

जिल्लामा पछिल्लो समयमा आत्माहत्या गर्नेको संख्या बढेको प्रहरीको तथ्याङकले देखाएको छ । जिल्लामा आ.व ०७२।७३ मा २३ जनाले भुण्डिएर आत्माहत्या गरेको तथ्याङकमा उल्लेखक छ ।प्रहरीको विभिन्न अपराध शिर्षकका घटेका घटनामध्ये केसअ ७४ रहेको छ भने दोस्रोमा झुण्डिएर आत्माहत्या रहेको छ । 

त्यसैगरी भवितव्य ज्यानमा १९ सवारी दुर्घटनमा ७, फुटकर ज्यान ९, कर्तव्यज्यान ३, हामफाली ४,जबरजस्ती करणी उद्योगमा ३, न. चोरी १,जुवा १,हाहखख १, बालविवाह १, लागुऔषध १, घरेलु हिंसा ३, ज्यामाउ १, आगोलागी १, विष सेवन २, जुवा ४, कालोबजारी १ रहेको छ ।


८१ जना हराए ४४ फेला

आ.व ०७२।७३ मा मात्रै ८१ जना महिला तथा बालबालिका हराएको प्रहरीको तथ्याङक छ । 

जसमा ४४ जना फेला परेका छन् भने ३७ जना अझै सम्पर्क विहिन छन् । फेला परेका ४४ जनामध्ये १८ प्रहरी र २६ अन्य स्रोत र सहयोगबाट फेला पारेको प्रहरीकोे तथ्याङकमा उल्लेख गरेको छ ।

दुई प्रहरीलाई कारवाही

जिल्ला प्रहरी कार्यालयले २ प्रहरीलाई कारवाही गरेको बताएको छ । मादक पदार्थ तथा मदिरा सेवन गरेको भन्दै दुइ प्रहरीलाई कारवाही गरेको जनाएको छ तर के कारवाही भने खुलाउन सकेको छैन ।

सफलता 

प्रहरीले जिल्लामा पहिलोपटक महिला तथा बालकालिकाको लागि सुविधासम्पन्न सेल्टर निर्माणको कार्य अगाडी बढाउन सक्नुलाई सफलताको रुपमा लिएको छ । 

जिल्लामा पीडित महिला तथा बालकालिकाको लागि सेल्टरको निर्माण कार्य अगाडी बढाउनु आफैमा गौरबको कुरा भएको प्रनाउ पन्तले बताइन । उनले जिल्लामा कालीगण्डकी नदीमा अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने व्यवसायीलाई कानूनको अगाडी उभाउन सक्नुलाइ समेत सफलताको रुपमा लिएको बताइन । 

आ.व ०७२।७३ मा जिल्लाका विभिन्न ठाउँमा गरी १७ वटा महिला हिंसा, लागुऔषध, घरेलू मदिरा, ट्राफिक सचेतना सम्बन्धी सचेतना कार्यक्रम गरी प्रहरी र नागरीकको सम्बन्ध नजिक बनाउनको लागि मुस्कान सहितको प्रहरी सेवामा प्रहरी मेरो साथी भन्ने अभियानलाई समेत अगाडी बढाउने सफलता  भएको बताइन ।

चुनौती

जिल्लामा घरेलू मदिरा तथा त्यसबाट हुने सामाजिक विकृति तथा लागुऔषध दुर्वशनी न्यूनिकरणको लागि आफ्नो चुनौतीको रुपमा लिएको प्रनाउ पंन्त्ले बताई । 

जिल्लाका विभिन्न भेगमा गाँजाको खेती सकरात्मक सोचका लागि हुने तर त्यसको प्रयोग गर्नेहरुले नकरात्मक तथा लागुऔषधका रुपमा प्रयोग गरेका कारण पनि आफुहरुलाई त्यसको नियन्त्रणको लागि निकै चुनौति परेको बताइन । 

उनले जिल्लामा घरेलु मदिरा तथा मादकपदार्थको सेवनका कारण घरेलु हिंसा हुने गरेको र त्यसको न्यूनिकरणको लागि नागरीक अझै सचेत हुन नसकेका कारण पनि समस्या भएको बताइन ।

निश्कर्ष

जिल्ला प्रहरी कार्यालयले जिल्लामा अझै पनि सचेतना कार्यक्रमको आवश्यकता रहेको औलाएको छ । 

समाजमा अझै पनि मादक पदार्थ सेवनका कारणका घरेलु हिंसा बढेको र त्यसको न्यूनिकरणको लागि नागरीकका सचेतनाको आवश्यकता देखिएको बताएको छ । जिल्लामा हुने घरेलु हिंसाका न्यूनिकरणको लागि र स्थानिय स्तरमा हुने  सामान्य समस्या समधानको लागि प्रहरी मेरो साथी अभियान सार्थक हुने समेत तर्क छ । 

जिल्लामा हालसम्म भएका सचेतना कार्यक्रमको प्रभाव परेता पनि अझै आवश्यक हरेको महसुस भएको जनाएको छ । अपराध न्यूनिकरणको लागि अपारध सम्बन्धी सवैको एउटै मान्यता, एकरुपमा को आवश्यक रहेको औलाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!