माघ ४, गोरखा । गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ । कोरोना भाइरसका कारण नौ महिना बन्द भई गत मङ्सिर २८ गतेदेखि खुला गरिएको मनकामना मन्दिरमा आउने दर्शनार्थी बढ्दै गएको हो ।

हरेक दिन मनकामना मन्दिर दर्शन गर्न आउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको मनकामना मन्दिरका मूल पुजारी इन्सान थापाले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार एकै दिन पाँच हजारभन्दा बढी दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई मन्दिर दर्शनका लागि खुला गरिएको पुजारी थापाले बताउनुभयो ।

यसैबीच शनिबार मात्र चार हजारभन्दा बढी दर्शनार्थी मनकामना केबलकार चढेर मनकामना दर्शन गर्न पुगेका छन् । मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले शनिबार एकै दिन चार हजार ५०० ले केबलकार चढेको बताउनुभयो । उहाँका अनुसार कोरोना महामारीका कारण बन्द भएपछि सञ्चालनमा आएको केबलकार चार हजार ५०० जनाले चढेको पहिलोपटक हो । कोरोना महामारीअघि सार्वजनिक बिदा र शनिबारका दिन चार हजार ५०० भन्दा बढी दर्शनार्थी केबलकार चढेर मनकामना मन्दिर पुग्ने गर्दथे । सुरक्षा मापदण्डको पूर्ण पालन गर्दै केबलकार सञ्चालन गरिएको छ ।

मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि सञ्चालनमा रहेको मनकामना केलबकारको प्रदेशद्वार बटम स्टेशन चितवनको इच्छाकामना–४ चेरेसमा रहेको छ । केबलकारबाहेक मोटरबाटो र पैदलमार्फत पनि दर्शनार्थी मन्दिर पुग्ने गर्दछन् ।रासस

January 17, 2021
गोरखा - GRK, समाज
मनकामनामा दर्शनार्थी बढ्दै
By kit
3 मिनेट पढाइ