२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्टरनेटको गलत प्रयोगः बालबालिका यौन शोषणमा पर्दै

२०७७, २८ माघ बुधबार ०८:४८

माघ २८, काठमाडौँ । पछिल्लो समयमा इन्टरनेटको गलत प्रयोगका कारण बालबालिका यौन शोषणमा पर्दै गएका छन् । नेपाल बाल मजदूर सरोकार केन्द्र (सिविन–नेपाल) ले गरेको अध्ययनअनुसार इन्टरनेट सेवाबाट बालबालिकामा नकारात्मक असर परेसँगै अनलाइनबाट बालबालिका यौन शोषणमा समेत परेको देखाएको छ । 

सन् २०२० मा सो संस्थाले नेपालको सातै प्रदेशमा बालबालिकाको अनलाइन यौन शोषणसम्बन्धी गरेको अध्ययनमा बालबालिका तथा नवयुवाविरुद्ध हुने अनलाइन यौन शोषणका घटनाहरू कम्प्युटर र साइबरको अवास्तविक दुनियाँलाई छिचोलेर प्रत्यक्ष भेटघाट र यौन शोषणसम्म विस्तार भएको पाइएको छ । यसरी यौन शोषणमा पर्नेहरूमा बालिका÷किशोरीभन्दा झण्डै दोब्बर सङ्ख्यामा बालक÷किशोरहरू रहेको देखाएको छ ।  

नौदेखि १९ वर्ष उमेर समूहका एक हजार ७१४ जना बालबालिका तथा किशोरकिशोरीहरूबीच गरिएको थुप्रै बालबालिकालाई अनलाइन यौन शोषणमा परेपछि विद्यालय छोड्न बाध्य गरेको र उनीहरूको दैनिक जीवनमा समेत असर परेको छ । अनलाइनमा नग्न फोटो, अडियो तथा भिडियोहरू बनाएर पठाउनका लागि दबाब झेल्नेहरूमा केटीहरूको तुलनामा केटाहरूको सङ्ख्या अधिक रहेको पाइएको सिविनका कार्यकारी निर्देशक सिम्नीमा तुलाधरले जानकारी दिनुभयो ।  

नग्न फोटो, अडियो तथा भिडियोहरू बनाएर पठाउनका लागि दबाब दिने वा बाध्य पार्नेहरूमा प्रेमी प्रेमिका, दाँैतरी, सबैभन्दा नजीकका साथीहरू र कतिपय अवस्थामा अपरिचित व्यक्तिसमेत रहेको पाइएको छ । केही विदेशी मूलका मानिसहरू पनि त्यस्ता गतिविधिमा संलग्न भइरहेको अध्ययनले देखाएको छ ।

त्यसैगरी यौन प्रेरित सामग्रीहरू पठाउने माध्यममा प्रेमिका, प्रेमी, दौँतरी र सबैभन्दा नजीकको साथीको हकमा अधिक तर सामाजिक नेटवर्किङ साइटहरू र इमेल प्रयोगमा रहेको पाइएको छ भने अपरिचित र विदेशीलाई पठाउने माध्यमका रूपमा सामाजिक नेटवकिङ साइटहरू, इमेल, अज्ञात लिङ्क र फोनसमेत प्रयोग भएको देखिएको छ । “अनलाइनमा ६३.३६ प्रतिशत पुरुष र ३४.३५ प्रतिशत महिलाले प्रत्यक्षरूपमा क्यामेराको अगाडि नग्न देखिन बालबालिकालाई भनेका थिए, नग्न हुन दबाब दिनेहरूमा आफ्नै साथी, प्रेमिका वा प्रेमी, नातेदार, नजीकका साथी र कतिपय अपरिचितहरू पनि थिए”, अध्ययन प्रतिवेदनमा भनिएको छ । कूल उत्तरदातामध्ये, १३७ जना (७.९९ प्रतिशत) उत्तरदातालाई क्यामेराको अगाडि नग्न देखिन भनिएको थियो ।

यसरी नग्न बस्न दबाब खेप्ने उत्तरदातामा ५८ (६२ प्रतिशत) केटा, ४७ (३४.३१ प्रतिशत) केटी र दुईजना (१.४६ प्रतिशत) लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्ति रहेका थिए । नग्न देखिन भन्नेमा आफ्नै साथीहरू, सबैभन्दा नजीकका साथी, प्रेमिका, प्रेमी, आफन्त, केही अपरिचितहरू, विदेशी र हेरचाहकर्ताहरूसमेत रहेका छन् । कूल उत्तरदाता एक हजार ७१४ मध्ये ४५७ जना (२६.६६ प्रतिशत) ले अनलाइनमा अपरिचित व्यक्तिलाई भेटेको पाइएको छ । यसरी अपरिचित व्यक्तिलाई अनलाइन भेट्ने उत्तरदाताहरूमध्ये १६३ जनालाई छुट्टै प्रत्यक्ष भेट्न भनिएकामा १५४ (३३ प्रतिशत) जनाले भने ती अपरिचित व्यक्तिसँग भेटघाट गरेका थिए । प्रत्यक्ष भेट्न जाने सबैले कुनै न कुनै रूपका यौन शोषणको अनुभव गरेका थिए ।

कूल उत्तरदातामध्ये ३४० जना (१९.८३ प्रतिशत) ले अनिच्छित अनलाइन यौन शोषण भोगेको उल्लेख गरेका छन् । यसरी अनलाइन यौन शोषणको सामना गर्ने उत्तरदातामा केटाको सङ्ख्या केटीको तुलनामा अधिक रहेको छ । अनलाइन यौन शोषणमा परेका उत्तरदाताहरूमा ठूलो मात्रामा मानसिक असर परेको पाइएको छ । उत्तर दिने क्रममा कतिपयले आफू मानसिकरूपमा समस्यामा परेको, कतिपयले पढाइमा ध्यान दिन नसकेको र मर्न समेत तयार रहेको तथा कतिपयले लामो समयसम्म दुःखी भएको बताएका थिए । 

अनलाइन यौन शोषणमा परेका ३४० उत्तरदातामध्ये ४८ (१४.१२ प्रतिशत) जनाले यौन शोषणसम्बन्धी घटना घटेपछि विद्यालय छोडेका छन् । विद्यालय छोडेकाहरूमध्ये १५ जनाले मात्र परामर्श सेवाको खोजी गरेका थिए भने ३४ जनाले आफूहरूलाई दैनिक जीवन व्यवहारमा बाधा परेको बताएका थिए । तीमध्ये नौजनाले मात्र परामर्श सेवा पाउन सकेका थिए ।  

अनलाइन यौन शोषणको सामना गरेका ३४० जना उत्तरदातामध्ये २३३ (६८.५३ प्रतिशत) जनाले मात्र परिवार, साथी वा प्रहरीलाई खबर गरेका थिए । त्यसैगरी सामाजिक सञ्जाल तथा सम्पर्क ब्लक गर्ने, आएका कल तथा सन्देशहरूलाई उपेक्षा गर्ने, इन्टरनेटको प्रयोग बन्द गर्ने, सिमकार्ड परिवर्तन गर्ने र सामाजिक सञ्जालमा नयाँ एकाउन्ट खोल्ने कार्य गरेको बताएका थिए । 

अध्ययनमा कूल उत्तरदातामध्ये २५३ (१४.७६ प्रतिशत) जनाले आफू साइबर बुलिङको शिकार भएको बताएका थिए । उनीहरूमध्ये १७५ (१०.२१ प्रतिशत) जनाले आफ्नो बाबुआमालाई उनीहरूको इन्टरनेट बानी व्यवहार थाहा भएपछि पनि साइबर बुलिङको सामना गरेका थिए । अध्ययनअनुसार साइबर बुलिङको घटना सबैभन्दा बढी वाग्मती प्रदेशको काठमाडौँ र मकवानपुरमा (२७ प्रतिशत) रहेको पाइएको छ भने दोस्रोमा प्रदेश नं २ को धनुषा (१८ प्रतिशत) रहेको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु