चैत १२, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७, चुडेपानीकी भागरथी भट्टको भेजाइनल स्वाबसँग अभियुक्त दिनेश भट्टको डिएनए मिलेको छ । केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला सामाखुशीमा गरिएको परीक्षणबाट दिनेशको डीएनए मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग मिलेको हो ।
मृतकको जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमका क्रममा डीएनए परीक्षणका लागि भजाइनल स्वाब निकालिएको थियो । अभियुक्तको डीएनए र स्वाबबाट प्राप्त नमूना मिलेसँगै प्रकरणको अनुसन्धान थप बनेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेश सिंहले बताए ।
अभियुक्त दिनेश भट्टलाई २६ फागुनमा जिल्ला अदालत बैतडीले पुर्पक्षका लागि दिपायलस्थित सुधार गृह पठाएको छ । उनलाई प्रहरीले घटनामा संलग्नता देखिएको भन्दै ४ फागुनमा पक्राउ गरेको हो । सो क्रममा उनले भागरथीको हत्या गरेको स्वीकारे थिए ।
तर सुधार गृहमा रहेका वेला उनले आफू घटनामा संलग्न नरहेको भन्दै बयान दिएको सार्वजनिक भएको थियो । गत माघ २२ मा घरबाट विद्यालय गएकी भागरथी दोश्रो दिन खोचलेक क्षेत्रमा रहेको लवलेक जंगलमा मृत भेटिएकी थिइन् ।