चैत १३, काठमाडौँ । शुक्रबार काठमाडौँ उपत्यकामा वायुप्रदूषण अत्याधिक बढेपछि विमान अवतरण प्रभावित भएको छ । सोहि कारण हङकङबाट आएको क्याथे प्यासिफिक जहाज भारतको दिल्ली डाइभर्ट भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
वायुप्रदूषणका कारण जहाज उडान र अवतरणका लागि आवश्यकपर्ने भिजिविलिटी नहुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका जहाजलाई डाइभर्ट गरिएको हो । विमानस्थलका अनुसार शुक्रबार दिउँसो २ बजेर १० मिनेट देखि प्रभावित बनेको हवाई उडान अहिले भिजिविलिटी केही खुलेकोका कारण संचालनमा आएको छ ।
यस्तै दिल्लीबाट आएको नेपाल एयरलाइन्स,एयर इन्डिया र साउदीको दमामबाट आएको हिमालय एयरलाइन्सले अवतरण गरेका छन् । यसअघि शुक्रबार नै पोखराबाट काठमाडौं आएको यति एयरको जहाजलाई जनकपुर डाइभर्ट गरिएको थियो ।
यस्तै बुद्धको पोखरा, जनकपुर र राजविराजबाट आएको जहाजलाई जनकपुर डाइभर्ट गरिएको छ । प्रदूषणकै कारण नेपालगञ्जबाट आएको बुद्धको जहाज भैरहवा,चन्द्रगढीबाट आएको सौर्य एयरको जहाज सोही विमानस्थलमा फर्काइएकोर धनगढीबाट आएको श्री एयरको जहाज भैरहवा डाइभर्ट गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
