घरमा नै होली खेल्न आग्रह

Posted on: 27 Mar, 2021

चैत १४, चितवन (रासस) । जिल्ला प्रशासन कार्यालय चितवनले यस वर्षको होली पर्व घरभित्रै बसेर परिवारका साथ मनाउन आग्रह गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै छिमेकी देशमा कोरोना सङ्क्रमण बढ्दै गएकाले नेपालमा पनि बढ्न सक्ने भएकाले घरभित्रै बसेर परिवारका साथ होली पर्व मनाउन आग्रह गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीद्वारा जारी सूचनामा भनिएको छ, “जिल्लामा कोभिड–१९ सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै निकट रहेको यस वर्षको फागुपर्व घरमै बसी परिवारका साथ मनाउन अनुरोध गरिन्छ ।

” सूचनामा कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सभा, जुलुस, ¥याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठकलगायतका भिडभाड हुने कार्यक्रम नगर्न÷नगराउन हुन, भौतिक दूरी कायम गर्न, मास्क अनिवार्य लगाउन तथा नियमितरुपमा हात धुन र सेनिटाइजर प्रयोग गर्न सबैलाई आग्रह गरिएको छ ।

जिल्लामा अहिले कोरोना सङ्क्रमितको सङ्ख्या ३० रहेको छ । यसमध्ये २५ जना होम आइसोलेशन र पाँच जना अस्पतालमा उपचाररत रहेका छन् । अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ९०७ जना पुगेको र ११० जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!